आन्तरिक पर्यटकले भरियो खलंगा

जुम्ला — कर्णाली प्रदेशको दोस्रो ठूलो सहर खलंगा आन्तरिक पर्यटकले भरिन थालेको छ । सदरमुकाम खलंगा भएर मुगुको राराताल जाने आन्तरिक पर्यटकका कारण चहलपहल बढेको हो ।

सिजन सुरु भएपछि जुम्ला भएर रारा जाने र रारा हुँदै जुम्ला आउने पर्यटक बढेका छन् । रारा पुग्ने अधिकांश पर्यटक खलंगा पुगेर फर्कने गरेको स्थानीय व्यवसायी केशव देवकोटाले बताए । उनका अनुसार नाग्म–गमगडी सडकखण्डको सिंजा क्षेत्र हुँदै रारा पुग्ने पर्यटक खलंगा पुग्ने गरेका हुन् । राराबाट फर्कंदा पर्यटकले बुलबुले, चौथा, खाली, पटमाराको बाटो प्रयोग गरिरहेको उनले बताए । उनका अनुसार दैनिक २ सय ५० सम्म पर्यटक अहिले खलंगा आएका छन् ।

काठमाडौबाट केशव बोहरा १० साथीसहित शनिबार जुम्ला पुगे । नेपालगन्जबाट जहाजमा मुगु पुगेका उनले रारा पुगेपछि साथीहरूसँग सल्लाह गरेर जुम्ला घुम्न आएको सुनाए । ‘रारा आएपछि जुम्ला पुग्नैपर्ने रहेछ,’ उनले भने, ‘यहाँको सौन्दर्यताले मोहित बनायो ।’ रारालाई गन्तव्य बनाएर काठमाडौबाट निस्किए पनि जुम्ला पुग्दा फरक अनुभूति भएको उनको भनाइ छ ।

रारा आएका पर्यटक जुम्ला पुगेर चन्दननाथ मन्दिर, गुठिचौर, कर्णाली प्राविधिक शिक्षालय, घुघुति र शान्ति स्तुपालगायत ठाउँ पुगेर फर्किरहेका छन् । एक महिनामा झण्डै १० हजार आन्तरिक पर्यटक जुम्ला आएको होटल काञ्जिरोवाका सञ्चालक पेमा लामाले अनुमान गरे । तथ्यांक राख्ने कुनै निकाय नहुँदा आन्तरिक पर्यटकको संख्या एकीन हुन नसकेको उनको भनाइ छ । उनका अनुसार होटलमा एक महिनादेखि कुनै पनि कोठा खाली छैनन् । ‘अझै दुई साताका लागि कोठाहरू बुक भएका छन्,’ उनले भने, ‘राराबाट आउने पर्यटकका कारण खलंगामा घुइँचो बढेको हो ।’

पर्यटकको संख्या बढेपछि खलंगाका एक दर्जन पर्यटकीय होटलहरू भरिभराउ छन् । केही होटलले कोठा अभावमा टेन्टमा समेत पर्यटक राखेका छन् । उनका अनुसार जुम्ला आउने पर्यटकले अहिले एक साताअघि नै होटलका कोठा बुक गरेका छन् । पर्यटक बढेपछि होटल खुल्ने क्रम पनि बढेको छ । एक महिनायता कान्जिरोवा, पौवा, भ्यालीभ्यू, मानसरोवर, दौतरी, रोयल गार्डेन, अमरसन्देश, स्नोल्याण्डलगायत होटल भरिभराउ भएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ६, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?