हिउँ नपर्दा रोकियो धार्मिक यात्रा

हिउँ नभएको र फोहोर फालिएको क्षेत्रको यात्रा फलदायी नहुने धार्मिक विश्वास छ

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५, काँडास्थित बुडुमस्ट मन्दिरमा हरेक वर्ष हुने धार्मिक यात्रा यो वर्ष हिउँ नपर्दा रोकिएको छ । बर्सेनि यो मन्दिरबाट ३ देखि ७ दिनको धार्मिक यात्रा हुन्छ ।

हिउँ नपर्दा रोकियो धार्मिक यात्रा

हिउँ नपरेको र तातोपानी क्षेत्रमा फोहोर बढेको भन्दै धार्मिक यात्रा रोकिएको मन्दिरका प्रमुख संरक्षक ध्रुवराज केसीले बताए । उनका अनुसार हिउँ नभएको क्षेत्र र फोहोर फालिएको क्षेत्रको यात्रा फलदायी नहुने धार्मिक विश्वास छ । मन्दिरबाट हिमालतिर गएपछि ७ दिन धार्मिक यात्रा हुन्छ भने तातोपानी क्षेत्रतर्फ गए ३ दिनको धार्मिक यात्रा हुन्छ । हिमालतिरको यात्रा बाँफिकोट गाउँपालिका क्षेत्र र तातोपानीको यात्रा रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ तर्फ हुन्छ । यो वर्ष दुवै यात्रा भएनन् ।

हरेक वर्षको धार्मिक यात्रामा डेढ सयसम्म तीर्थालु सहभागी हुन्थे । यात्राका क्रममा घरमा बास बस्न पाइँदैन । भात खान मिल्दैन । यात्राका क्रममा रोटी मात्रै खाने नियम भएको केसीले बताए । ‘यात्राका क्रममा नुनको पनि प्रयोग गर्न मिल्दैन, हिउँमा खेल्दै यात्रा गर्नुपर्छ,’ उनले भने, ‘रूखको फेदमा बास बसेर यात्रा पूरा गरी घर फर्कने चलन हुन्छ ।’

धार्मिक यात्रा गर्दा धन, जन र निरोगिता प्राप्त हुने विश्वास छ । उनका अनुसार झन्डै एक सय वर्षदेखि यो यात्रा भइरहेको छ । हिमालतर्फको धार्मिक यात्रा बुडुमस्टको मन्दिर रहेको काँडादेखि दुदिल्ला, गारकटेरा, छेचाउन्न, बाघखोर, कालाचुला, गुराँसे, डम्माना हुँदै झार्लेगोठ पुग्छ । तातोपानी क्षेत्रको धार्मिक यात्रा भने रुकुम पूर्वको पोखरा पुगेर त्यहीको तातोपानीस्थित मुहान र मन्दिरमा पूजापाठ गरेर सकिन्थ्यो ।

हिउँ नपरेपछि तातोपानी क्षेत्रमा धार्मिक यात्रा गर्ने योजनासहित दुईपटक केही प्रतिनिधि तातोपानी क्षेत्र अवलोकन गर्न गएका थिए । तर त्यहाँको वातावरण धार्मिक कार्यका लागि उपयुक्त नभएकाले यात्रा रोकिएको बुडुमस्ट क्षेत्र विकास कोषका सदस्य कमल केसीले बताए ।

प्रकाशित : वैशाख ४, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?