कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

१२ हजार घरमा बिजुली थपिँदै

ज्योति कटुवाल

दैलेख — जिल्लाका ७ स्थानीय तहमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत १ वर्षभित्र १२ हजार घरधुरीमा विद्युत् सेवा विस्तार हुन लागेको छ । संघीय सरकारको ९० प्रतिशत र स्थानीय तहको १० प्रतिशत लगानीमा विद्युतीकरण हुन थालेको हो । जसमा स्थानीय तहहरूले करिब ६० करोड रुपैयाँ लगानी गरेका छन् ।

गत वर्षबाट सञ्चालित कार्यक्रम कोरोना महामारीका कारण पछि धकेलिएको थियो । अहिले ७ वटै स्थानीय तहका सबै वडामा विद्युत् पुर्‍याउने गरी काम अघि बढेको छ । २०५४ जेठदेखि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन पुगे पनि अन्य स्थानीय तहमा विद्युत् सुविधा नहुँदा ग्रामीण विद्युतीकरणको अवधारण अघि सारिएको हो ।

भर्खरै डुंगेश्वर गाउँपालिका–२ मा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि वडाका ७ सय घरमा बिजुली बलेको छ । सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमको २ करोड ५० लाख र निर्वाचन क्षेत्र नं १ अन्तर्गत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँमा विद्युत् विस्तार गरिएको छ । ७ नम्बर वडामा विद्युत् जडान भएसँगै गाउँपालिकाका सबै वडामा बिजुली पुगेको अध्यक्ष नगेन्द्र मल्लले बताए । ‘कोरोना महामारीमा पनि कामलाई तीव्रता दिइयो,’ उनले भने, ‘उपभोक्ताले पनि सक्रियता देखाएपछि अरू पालिकाभन्दा यहाँ छिटो बत्ती बल्यो ।’

गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले एक वर्षभित्रै ४ हजार घरधुरीमा बिजुली पुर्‍याउने गरी निर्माणको कामलाई तीव्रता दिइएको बताए । उनका अनुसार आगामी दसैंसम्म विद्युतीकरणको काम सक्ने गाउँपालिकाको योजना छ । गुराँसले २० करोड, महाबुले १० करोड, डुगेश्वरले २ करोड ५० लाख, नौमुलेले ५ करोड ५० लाख, भगवतीमाईले ८ करोड र भैरवीले ९ करोड रुपैयाँ सामुदायिक विद्युतीकरणमा लगानी गर्न लागेका छन् । संघीय सरकारसँग दुई वर्षको अवधि रहने गरी कार्यक्रमको सम्झौता गरिए पनि कोरोना महामारीका कारण काममा केही ढिलाइ भएको छ ।

कार्यक्रम राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा केन्द्रित गरिएको चामुन्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताए । दुल्लु नगरपालिकाले करिब ६० प्रतिशत काम सकिएको जनाएको छ । चैत महिनाभित्र ८० प्रतिशत काम सक्ने लक्ष्य लिइएको नगरप्रमुख घनश्याम भण्डारीले बताए ।

प्रकाशित : वैशाख ४, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×