३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अनुमतिबिनै अस्पताल

सल्यान — जिल्लामा १ निजी अस्पतालसहित २ पोलिक्लिनिक र ५४ मेडिकल अवैध रूपमा सञ्चालन हुँदै आएका छन् । सल्यानमा ४ अस्पताल, ८ पोलिक्लिनिक र १ सय मेडिकल मात्र दर्ता भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार शारदा नगरपालिका–१ श्रीनगरमा कर्णाली अस्पताल दर्ताबिनै सञ्चालन भइरहेको हो । त्यस्तै बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिक र सल्लीबजारको सल्ली पोलिक्लिनिक पनि दर्ता नगरेरै सञ्चालन गरिएको छ । शारदा नगरपालिकामा निजी अस्पताल र मेडिकल गरी १६ वटा स्वास्थ्य संस्था मात्र दर्ता छन् । तर सदरमुकाममा दर्ता नभएरै झन्डै १५ मेडिकल सञ्चालनमा छन् ।

त्यस्तै बाग्चौरमा १७ मध्ये ९, बन्गाडकुपिण्डेमा ४ मध्ये १, सिद्धकमाखमा ८ मध्ये ५, दार्मामा ९ मध्ये ६ र त्रिवेणीमा १४ मध्ये ८ मेडिकल मात्र दर्ता छन् । जिल्लाभरि ५४ मेडिकल अझै दर्ता नभएको जिल्ला स्वास्थ्य प्रमुख दशरथकुमार श्रेष्ठले बताए । उनका अनुसार अधिकांश स्थानीय तहले स्वास्थ्य ऐन नबनाउँदा मेडिकल र पोलिक्लिनिक नियमन गर्न समस्या भएको छ ।

दर्ताबिनै मेडिकल र पोलिक्लिनिक सञ्चालन हुँदा जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको स्थानीय युवा कमल शर्माले बताए । ‘अनुगमन र नियमन नहुँदा मेडिकलहरूको मनपरी बढ्यो,’ उनले भने, ‘दर्ता नभएका मेडिकलले अवैध रूपमा बिरामीको चेकजाँच गरी आफूखुसी औषधि वितरण गरिरहेका छन् ।’ उनले दर्ता नभएका मेडिकलले औषधिको नाममा महँगो शुल्क असुलिरहेको बताए ।

कर्णाली अस्पतालका सञ्चालक अजित रोकायले कानुनी जटिलताका कारण दर्ता प्रक्रियामा ढिलाइ भएको बताए । ‘नगरपालिकामा कागजात पेस गरेको एक महिना पुग्यो,’ उनले भने, ‘तर अहिलेसम्म अस्पताल दर्ता भएको छैन ।’ उनले वातावरणीय प्रभाव मुल्यांकन नहुँदा दर्तामा ढिलाइ भएको जानकारी आएको बताए ।

प्रकाशित : वैशाख ३, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?