बेलिब्रिज चार वर्षदेखि अलपत्र
कालीकोट — कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकस्थित तिला नदीमाथिको पान्तडी बेलिब्रिज चार वर्षदेखि अलपत्र छ । पुल निर्माणका लागि चार वर्षअघि ठेक्का भए पनि स्टिलपार्टमा समस्या आउँदा पुल निर्माणको काम रोकिएको हो ।
पुल निर्माणका लागि सडक विभागले ३० लाख र महाबै गाउँपालिकाको १ करोड रुपैयाँ बजेट छुट्याएका छन् । सडक विभागले बेलिब्रिजको स्टिल पार्ट ढुवानी र पर्खाल उठाउन रकम खर्च गरेको छ । गाउँपालिकाले बेलिब्रिज निर्माण हुने स्थलसम्म सडक निर्माण गर्न बजेट छुट्याएको हो । पुल निर्माणका लागि हिमाली निर्माण सेवा, जुम्लाले ८२ लाख रुपैयाँमा ठेक्का लिएको छ । ०७५ असार मसान्तसम्म काम सक्ने गरी ०७४ चैत्रमा ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।
स्टिलपार्टको नटबोल्ड नमिलेकाले काम गर्न नसकिएको पेटी ठेकेदार अक्कलबहादुर शाहीले बताए । उनलाई ठेकेदार बलबहादुर बस्यालले ७० लाख रुपैयाँमा पुल निर्माणको पेटी ठेक्का दिएका हुन् । ‘पुरानो बेलीब्रीजको नट– बोल्डलगायतका सामान नमिलेकाले काम गर्न सकिएन,’ उनले भने, ‘दैलेखको मालाचौरबाट प्लुको सामान ल्याए पनि फिटिङ गर्न मिलेन ।’
पुल निर्माणका लागि सम्झौताअनुसार काम नभएपछि ठेक्का रद्दको प्रक्रिया थालिएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार पान्तडीमा पक्की आरसीसी ढलान पुल निर्माणका लागि ७ करोड रुपैयाँको अर्को ठेक्का निकालिएको छ । ‘अस्थायीरुपमा बन्ने बेलीब्रीजको सामान हराएपछि समस्या आएको हो,’ उनले भने, ‘ठेकेदारलाई कारवाही गर्न आवश्यक प्रक्रिया सुरु गरेका छौं ।’ ठेकेदारले डिभिजन कार्यालयका प्रतिनिधि बिना नै सामान निर्माणस्थलमा ल्याउँदा सामान उपूग भएको उनले बताए । डिभिजन कार्यालयका अनुसार केही सामान खोलाले बगाएको र केही पहिरोले पुरेको छ ।
प्रकाशित : वैशाख ३, २०७८ ०९:००