बेलिब्रिज चार वर्षदेखि अलपत्र- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलिब्रिज चार वर्षदेखि अलपत्र

तुलाराम पाण्डे

कालीकोट — कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकस्थित तिला नदीमाथिको पान्तडी बेलिब्रिज चार वर्षदेखि अलपत्र छ । पुल निर्माणका लागि चार वर्षअघि ठेक्का भए पनि स्टिलपार्टमा समस्या आउँदा पुल निर्माणको काम रोकिएको हो ।


पुल निर्माणका लागि सडक विभागले ३० लाख र महाबै गाउँपालिकाको १ करोड रुपैयाँ बजेट छुट्याएका छन् । सडक विभागले बेलिब्रिजको स्टिल पार्ट ढुवानी र पर्खाल उठाउन रकम खर्च गरेको छ । गाउँपालिकाले बेलिब्रिज निर्माण हुने स्थलसम्म सडक निर्माण गर्न बजेट छुट्याएको हो । पुल निर्माणका लागि हिमाली निर्माण सेवा, जुम्लाले ८२ लाख रुपैयाँमा ठेक्का लिएको छ । ०७५ असार मसान्तसम्म काम सक्ने गरी ०७४ चैत्रमा ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।

स्टिलपार्टको नटबोल्ड नमिलेकाले काम गर्न नसकिएको पेटी ठेकेदार अक्कलबहादुर शाहीले बताए । उनलाई ठेकेदार बलबहादुर बस्यालले ७० लाख रुपैयाँमा पुल निर्माणको पेटी ठेक्का दिएका हुन् । ‘पुरानो बेलीब्रीजको नट– बोल्डलगायतका सामान नमिलेकाले काम गर्न सकिएन,’ उनले भने, ‘दैलेखको मालाचौरबाट प्लुको सामान ल्याए पनि फिटिङ गर्न मिलेन ।’

पुल निर्माणका लागि सम्झौताअनुसार काम नभएपछि ठेक्का रद्दको प्रक्रिया थालिएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार पान्तडीमा पक्की आरसीसी ढलान पुल निर्माणका लागि ७ करोड रुपैयाँको अर्को ठेक्का निकालिएको छ । ‘अस्थायीरुपमा बन्ने बेलीब्रीजको सामान हराएपछि समस्या आएको हो,’ उनले भने, ‘ठेकेदारलाई कारवाही गर्न आवश्यक प्रक्रिया सुरु गरेका छौं ।’ ठेकेदारले डिभिजन कार्यालयका प्रतिनिधि बिना नै सामान निर्माणस्थलमा ल्याउँदा सामान उपूग भएको उनले बताए । डिभिजन कार्यालयका अनुसार केही सामान खोलाले बगाएको र केही पहिरोले पुरेको छ ।

प्रकाशित : वैशाख ३, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

अनुमतिबिनै अस्पताल

कान्तिपुर संवाददाता

सल्यान — जिल्लामा १ निजी अस्पतालसहित २ पोलिक्लिनिक र ५४ मेडिकल अवैध रूपमा सञ्चालन हुँदै आएका छन् । सल्यानमा ४ अस्पताल, ८ पोलिक्लिनिक र १ सय मेडिकल मात्र दर्ता भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार शारदा नगरपालिका–१ श्रीनगरमा कर्णाली अस्पताल दर्ताबिनै सञ्चालन भइरहेको हो । त्यस्तै बाग्चौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिक र सल्लीबजारको सल्ली पोलिक्लिनिक पनि दर्ता नगरेरै सञ्चालन गरिएको छ । शारदा नगरपालिकामा निजी अस्पताल र मेडिकल गरी १६ वटा स्वास्थ्य संस्था मात्र दर्ता छन् । तर सदरमुकाममा दर्ता नभएरै झन्डै १५ मेडिकल सञ्चालनमा छन् ।

त्यस्तै बाग्चौरमा १७ मध्ये ९, बन्गाडकुपिण्डेमा ४ मध्ये १, सिद्धकमाखमा ८ मध्ये ५, दार्मामा ९ मध्ये ६ र त्रिवेणीमा १४ मध्ये ८ मेडिकल मात्र दर्ता छन् । जिल्लाभरि ५४ मेडिकल अझै दर्ता नभएको जिल्ला स्वास्थ्य प्रमुख दशरथकुमार श्रेष्ठले बताए । उनका अनुसार अधिकांश स्थानीय तहले स्वास्थ्य ऐन नबनाउँदा मेडिकल र पोलिक्लिनिक नियमन गर्न समस्या भएको छ ।

दर्ताबिनै मेडिकल र पोलिक्लिनिक सञ्चालन हुँदा जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको स्थानीय युवा कमल शर्माले बताए । ‘अनुगमन र नियमन नहुँदा मेडिकलहरूको मनपरी बढ्यो,’ उनले भने, ‘दर्ता नभएका मेडिकलले अवैध रूपमा बिरामीको चेकजाँच गरी आफूखुसी औषधि वितरण गरिरहेका छन् ।’ उनले दर्ता नभएका मेडिकलले औषधिको नाममा महँगो शुल्क असुलिरहेको बताए ।

कर्णाली अस्पतालका सञ्चालक अजित रोकायले कानुनी जटिलताका कारण दर्ता प्रक्रियामा ढिलाइ भएको बताए । ‘नगरपालिकामा कागजात पेस गरेको एक महिना पुग्यो,’ उनले भने, ‘तर अहिलेसम्म अस्पताल दर्ता भएको छैन ।’ उनले वातावरणीय प्रभाव मुल्यांकन नहुँदा दर्तामा ढिलाइ भएको जानकारी आएको बताए ।

प्रकाशित : वैशाख ३, २०७८ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×