कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नयाँ वर्षमा रारामा रौनक

राजबहादुर शाही

मुगु — काठमाडौको चाबहिलकी गोमा रेग्मी १८ जनाको टोलीसहित नयाँ वर्ष मनाउन मंगलबार कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा पुगिन् । काठमाडौबाटै बस रिजर्व गरी उनीहरूको टोली रारा आइपुगेको हो ।

नयाँ वर्षमा रारामा रौनक

टोली मंगलबार र बुधबार दिनभर रारा र आसपासका क्षेत्रमा घुम्यो । ‘राराको सुन्दरता बयानै गर्न सकिन्न,’ उनले भनिन्, ‘यही बसेर एक साता बिताउन मन छ ।’ उनले राराको डिलमै बसेर नयाँ वर्षका लागि केही संकल्प गरिन् । टोलीका अन्य सदस्य पनि पहिलोपल्ट रारा पुग्दा दंग देखिन्थे । ताल वारिपारिका डाँडामा जमेको हिउँले पनि आफूहरू मन्त्रमुग्ध भएको टोली सदस्य पुजा बोगटीले बताइन् । ‘स्वर्गीय आनन्द पाइयो,’ उनले भनिन्, ‘जीवनमा कम्तिमा एकपल्ट पुग्नै पर्ने ठाउँ रहेछ ।’

नयाँ वर्ष मनाउन मंगलबार झण्डै १ सय ५० र बुधबार १ सय पर्यटक भित्रिएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । नयाँ वर्ष मनाउन आएका पर्यटकका कारण रारामा चहलपहल बढेको निकुञ्जका संरक्षण अधिकृत वद्रीविनोद दाहालले बताए । उनका अनुसार पर्यटक बढेपछि आसपासका होटल भरिएका छन् ।

गत साउनदेखि सोमबारसम्म रारामा ७ हजार ८ सय आन्तरिक र १३ जना बाह्य पर्यटक भित्रिएको निकुञ्जको तथ्यांक छ । नयाँ वर्ष मनाउन आएका अधिकांश पर्यटक बुधबार घोडा चढेर आसपासका गाउँमा घुम्न गए भने केही पर्यटकले डुंगा चढेर तालको सयर गरे । पर्यटक बढेपछि डाँफे गेष्ट हाउस, मुर्मा र माँझघट्ट होमस्टे भरिभराउ बनेका छन् । केही पर्यटक सल्लेरी र ताल्चका होटलमा पनि बास बसेका छन् । होटलमा नअटाएका पर्यटकलाई चौरमा टेन्ट राखेर बसाइएको डाँफे गेष्ट हाउसका कर्मचारी जगतबहादुर थापाले बताए । उनका अनुसार नयाँ वर्ष मनाउन पोखरा, काठमाडौ, बदिया, लुम्बिनी, बिराटनगर, चितवनलगायत जिल्लाबाट पर्यटक आएका छन् । धेरै पर्यटकले चार दिनको प्याकेज लिएको उनले जानकारी दिए ।

आन्तरिक पर्यटक बढेपछि होटल, डुंगा र घोडा व्यवसायी व्यस्त बन्न थालेका छन् । आगन्तुकलाई वरपरका गाउँ घुमाउन स्थानीयले ५० भन्दा बढी घोडा तयारी अवस्थामा राखेका छन् । घोडा व्यवसायी जयप्रकाश रोकायाले दैनिक १५ जना पर्यटकलाई आसपासका गाउँमा घुमाइरहेको बताए । उनका अनुसार पर्यटकका कारण कमाइ पनि बढेको छ । निकुञ्जले रारा तालमा डुंगा सञ्चालन गर्ने जिम्मा मध्यवर्ती विकास समितिलाई दिएको छ । समितिमार्फत ६ वटा डुंगा सञ्चालन भइरहेका छन् ।

तर पर्याप्त पूर्वाधार विकास नहुँदा सास्ती भोग्नुपरेको पर्यटकको गुनासो छ । कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक कालोपत्रे नहुँदा सास्ती भोग्नुपरेको दाङबाट घुम्न आएका राजेश शर्माले बताए ।

पछिल्लो समय रारामा आएर विभिन्न फिल्म, म्युजिक भिडियो र टेलिसिरियल सुटिङ गर्ने क्रम पनि बढेको छ । पर्यटक बढेसँगै राजश्वमा बृद्धि भएको संरक्षण अधिकृत दाहालले बताए ।

प्रकाशित : वैशाख २, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?