२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कर्णालीमा लोप हुँदै माछा

मुगु — तीन वर्षअघिसम्म खत्याड गाउँपालिका–८ सुकाढिकका धनसिंह गिरीको घरखर्च कर्णालीका माछा बेचेरै चलेको थियो । अहिले दिनभर नदी चहार्दा पनि उनलाई ५ किलो माछा पाउन मुस्किल छ ।

कर्णाली नदीमा माछा पाइन छाडेपछि उनी मात्र होइन, सुकाढिकका झन्डै २ दर्जन युवाको व्यवसाय संकटमा परेको छ । ‘माछा व्यवसाय हाम्रो पुर्ख्यौली हो,’ गिरीले भने, ‘कुनै बेला दिनमा २० किलोसम्म माछा मार्थ्यौं, अहिले ५ किलो माछा पाउन पनि दिनभरि लाग्छ ।’

उनका अनुसार कुनै समय कर्णाली नदीमा १० किलोसम्मको एउटै माछा पाइन्थ्यो । उनले कर्णालीमा विशेष गरी असला जातको सुनौलो रंगका चुच्चे र धामी माछा पाइने उनले बताए ।

माछा लोप भएपछि हुम्लाको तुम्च, मकै, खल्फागार्ड, मुगुको लिब्रु, बिना, ह्याङलु, सुकाढिक, बाजुराको बोल्डिक, जेरा र कालीकोट खुलालुलगायत गाउँका स्थानीयलाई जीविकोपार्जन गर्न समस्या भएको छ । नदी छेउका विभिन्न बजारको कारोबार पनि माछाकै कारण सुस्ताएको छ । कर्णालीमा पहिलेजस्तो माछा नहुँदा अधिकांश युवा मजदुरीका लागि भारत पलायन भएको सोरु गाउँपालिका–४, भादगाउँका दानबहादुर बुढाले बताए । ‘ठूला माछा देख्न मुस्किल भइसक्यो,’ उनले भने, ‘आजभोलि साना माछा पनि जालमा पर्दैनन् ।’ बिहान सबेरै माछा मार्न कर्णाली नदी किनारमा पुगे पनि नपाइँदा धेरै दिन रित्तो हात फर्कनुपरेको उनले बताए ।

माछासहित कर्णालीका अधिकांश जलचर लोप हुने अवस्थामा पुगेको सुकाढिकका राजबहादुर कार्कीले बताए । ‘विष हालेर र करेन्ट लगाएर माछा मार्दा सबै जलचर लोप हुन थाले,’ उनले भने, ‘माछा नपाइँदा कर्णालीको चिनारी नै संकटमा परेको छ ।’ उनले साना खोलाहरूमा साना माछा पाउन पनि मुस्किल भएको गुनासो गरे ।

हराउँदै पासो र जाल

कर्णालीका माछा मार्न स्थानीयले पासो र जालको प्रयोग गर्दै आइरहेका छन् । तर पछिल्लो समय करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेको छ ।

करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप भएको कार्कीले बताए । उनका अनुसार करेन्टभन्दा विष प्रयोग गर्दा माछामा बढी क्षति हुने गरेको छ । ‘विषले ३/४ दिनसम्म माछा र भुरामा क्षति पुर्‍याउने गरेको छ,’ उनले भने, ‘विष प्रयोग गरेका माछा सेवनका लागि हानिकारक छ भन्ने जानकारी भए पनि माछा मार्न छोडिएको छैन ।’ युवाहरूले समूह बनाएर जथाभावी विष हाल्दै माछा मार्ने गरे पनि स्थानीय प्रशासन मौन रहेको उनले बताए ।

अभावले मूल्य बढ्यो

कर्णालीमा माछाको संख्या घटेपछि मूल्य बढेको छ । ३ वर्षअघिसम्म प्रतिकिलो १ सय ५० रुपैयाँमा पाइने माछा अहिले कर्णाली नदी किनारमै ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ । सुकाएको माछाको मूल्य झन् बढिरहेको व्यवसायी वीरबहादुर गिरीले बताए । उनका अनुसार अहिले सुकाएको माछा प्रतिकिलो ३ हजार रुपैयाँमा बिक्री हुन्छ ।

भूक्षय र करिडोरले असर

कर्णाली नदीको माछा भूक्षयका कारण पनि संकटमा परेको पाइएको छ । वर्षायाममा आउने बाढी र पहिरोका कारण बग्ने ढुंगामाटोले माछाको संख्या घट्दै गएको सोरु गाउँपालिकाका अर्जुन खड्काले बताए । ‘वर्षायाममा बग्ने लेदोसहितको पानीले माछा मर्ने क्रम बढिरहेको छ,’ उनले भने, ‘वर्षायाममा नदी किनारैभरि मरेका माछा भेटिन्छन् ।’

कर्णाली नदी किनारैकिनार खनिएको कर्णाली करिडोरका कारण पनि माछाको संख्या घटेको उनले बताए । उनका अनुसार करिडोर निर्माणको क्रममा खस्ने ढुंगामाटोले पनि माछाको संख्या घटेको हो । ‘भीरमा विस्फोटन गर्दा पनि माछामा असर परिरहेको छ,’ उनले भने, ‘करिडोरकै कारण नदीको बहाव परिवर्तन हुन थालेको छ ।’

प्रकाशित : वैशाख २, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?