कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाउँमा भिडियो एक्स–रे सुविधाले महिला खुसी

पहिलो दिन २३ गर्भवतीको स्वास्थ्य परीक्षण
तुलाराम पाण्डे

दाहाँ, कालीकोट — तीन वर्षअघि पहिलो बच्चा जन्माउने क्रममा जटिलता आएपछि खाँडाचक्र–५ दाहाँकी भावना शाहीलाई सुर्खेत लगिएको थियो । त्यसबेला अस्पतालको खर्चका लागि ४० हजार रुपैयाँ ऋण लिनुपरेको थियो । करिब एक महिनाको सुर्खेत बसाइपछि आमाबच्चा दुवै सकुशल घर फर्किए ।

गाउँमा भिडियो एक्स–रे सुविधाले महिला खुसी

६ महिनाकी गर्भतवती रहेकी तिनै भावना अहिले दंग मात्र होइन, ढुक्क छिन् । आइतबार गाउँमै भिडियो एक्स–से सेवा सुरु भएपछि सबैभन्दा खुसी हुनेमा तिनै थिइन् ।

‘एक्स–रेले बच्चा ठीक छ भन्ने देखाएपछि ढुक्क छु,’ उनले भनिन्, ‘पहिले यस्तै जाँच गर्न सुर्खेत–नेपालगन्ज जानुपर्थ्यो, अहिले त गाउँमै सेवा आइपुग्यो ।’ भिडियो एक्स–रे गरेपछि रिपोर्टका आधारमा स्वास्थ्यकर्मीले आवश्यक परामर्श दिएको उनले बताइन् । जिल्ला सदरमुकामबाहिर पहिलोपटक दाहाँ स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा पुगेपछि भावनाजस्ता गर्भवतीका साथै अन्य स्थानीय पनि खुसी छन् । आइतबार भिडियो एक्स–रे पुग्दा हेर्नेको भीड लागेको थियो । स्वास्थ्यचौकी प्रमुख रूपा भण्डारीले अब विशेष गरी गर्भवती महिलाले भोग्नुपरेको जटिलताको समयमै पहिचान हुने बताइन् । ‘गर्भावस्थामा आउने जटिलताको कारण महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्,’ उनले भनिन्, ‘अब समयमै जटिल अवस्था पहिचान हुने भएकाले आमा र गर्भको शिशुको ज्यान जोगिने भएको छ ।’

भिडियो एक्स–रे सुरु भएको पहिलो दिन आइतबार २३ जना गर्भवतीको स्वास्थ्य परीक्षण गरिएको थियो । भिडियो एक्स–रे सेवाबाट दाहाँका साथै पाखा, छाप्रे, जुविथा, राँचुली, फोइमहादेव, चिल्खाया, ओदानकु, गेला, कालिका मुग्राहालगायत गाउँका गर्भवतीलाई सहज हुने भण्डारीले बताइन् ।

खाँडाचक्र नगरपालिकाले भिडियो एक्स–रे मेसिनका साथै सोलार बत्तीको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार भिडियो एक्स–रे मेसिन सञ्चालनका लागि करिब ५ लाख रुपैयाँ खर्च भएको छ । सेभ द चिल्ड्रेनले डेलिभरी बेडका साथै एक्स–रे सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई तालिमलगायत प्राविधिक सहयोग गरेको छ । भिडियो एक्स–रे सञ्चालनका लागि स्वास्थ्य चौकीकी स्टाफ नर्स शान्ति शाही र जिल्ला अस्पतालकी स्टाफ नर्स सुजिता शाहीलाई आवश्यक तालिम दिइएको छ । उनीहरूले जटिल अवस्थाका गर्भवतीलाई आवश्यक परामर्श दिनुका साथै समयमै अस्पतालमा जान सुझाव दिने गरेका छन् । खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले गर्भावस्थामा आउने जटिलताका कारण हुने महिला र शिशुको ज्यान जोगाउन भिडियो एक्स–रे सेवा स्वास्थ्य चौकीमै विस्तार गरिएको बताइन् । छोरा र छोरीबीच हुने विभेद हटाउन नगरपालिकाले छोरी मात्र जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई १ लाख रुपैयाँ पुरस्कार दिने पनि बताइन् ।

ग्रामीण क्षेत्रका महिलाहरू जतिसुकै अप्ठेरो महसुस गरे पनि भिडियो एक्स–रे सेवा पाउँदैनन् । यसले अन्तिम समयमा ज्यानै जोखिममा पार्ने गरेको छ । आइतबार भिडियो एक्स–रे गरेकी ७ महिनाकी गर्भवती दर्शना विश्वकर्माले भनिन्, ‘हामी त सुत्केरी हुने बेला गाह्रो भएपछि बाहिर जान्छौं, नत्र पेटभित्र बच्चा कस्तो छ भन्ने थाहै हुन्न ।’

गर्भावस्थाको जटिलताका कारण कालीकोटमा बर्सेनि करिब ७/८ जना गर्भवती तथा सुत्केरी महिलाको ज्यान जाने गरेको छ । कतिपय महिलाले सदरमुकाम आउँदै गर्दा बाटामा ज्यान गुमाउने गरेका छन् । जिल्ला अस्पताल प्रमुख डा. भीष्मराज पोख्रेल समयमै गर्भावस्थाको जटिलताबारे थाहा हुँदा गर्भवती महिलाले अकालमा ज्यान गुमाउन नपर्ने बताउँछन् ।

प्रकाशित : वैशाख २, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?