चार वर्षमा पनि टुंगिएन गाउँपालिकाको केन्द्र

राजबहादुर शाही

सोरुकोट, मुगु — सोरु गाउँपालिकाले चार वर्षसम्म गाउँपालिकाको केन्द्र टुंग्याउन सकेको छैन । केन्द्र टुंगो नलाग्दा भौतिक संरचना निर्माण र सेवाप्रवाहमा समस्या भएको छ । अहिले गाउँपालिका कार्यालय सोरुकोटस्थित इलाका वन कार्यालयको जीर्ण एवं साँघुरो भवनमा सञ्चालित छ ।

चार वर्षमा पनि टुंगिएन गाउँपालिकाको केन्द्र

वन डिभिजनले भवन खाली गर्न गाउँपालिकालाई ३ पटक पत्राचार गरे पनि विकल्प नहुँदा छाड्न गाह्रो भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले बताए । उनका अनुसार भौतिक संरचना अभावमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशुसेवा लगायतका शाखा भाडाका घरमा सञ्चालन भइरहेका छन् । ‘प्रशासनिक कामकाज, बैठक र कार्यक्रम साँघुरो र जीर्ण घरमा सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘खानेपानी, शौचालय, प्रतीक्षालय लगायतको पर्याप्त सुविधा नहुँदा सेवाग्राहीले पनि सास्ती भोगिरहेका छन् ।’

मुगमकार्मारोङ गाउँपालिकाले आफ्नो भवन बनाइसकेको छ । छायानाथरारा नगरपालिका र खत्याड गाउँपालिकाले भवन निर्माण प्रक्रिया सुरु गरेका छन् । जनप्रतिनिधिबीच नै विवाद हुँदा गाउँपालिकाले केन्द्र तोक्न नसकेको हो । मुगु कर्णाली पारिको ८, ९, १० र ११ वडाका जनप्रतिनिधिले जिमास्थित कुलाहामा केन्द्र तोक्न माग गरिहेका छन् भने अन्य वडाका बासिन्दा र जनप्रतिनिधिले सोरुकोटमा केन्द्र तोक्न दबाब दिइरहेका छन् । सहमति जुटाउन नसक्दा केन्द्र तोक्न समस्या भएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘सोरुकोट राख्ने कि कुलाहा राख्ने भन्नेबारे सहमति जुटाउन सकिएको छैन,’ उनले भने, ‘दुईवटै ठाउँबारे दुईतिहाइ नपुग्दा समस्या भएको हो ।’ उनका अनुसार सोरुकोटबाट अस्थायी रूपमा कामकाज भए पनि प्रहरी चौकी, खाद्य डिपो, बैंकलगायत कार्यालय स्थापना भइसकेका छन् ।

गाउँपालिकाले कुनै पनि वडा कार्यालयका भवनसमेत निर्माण गर्न सकेको छैन । भवन नबन्दा आफ्नै घरमा वडा कार्यालय राखेर सेवाप्रवाह गर्नुपरेको ४ नम्बर वडाध्यक्ष लोकेन्द्र शाहीले बताए । धैनकोटस्थित १० नम्बर वडा कार्यालयमा भने ६ महिनादेखि तालाबन्दीमा छ । अध्यक्ष धर्मराज जैसीले विभिन्न योजना निर्माणमा मनपरी गरेको भन्दै स्थानीयले गत असोजमा तालाबन्दी गरेका थिए ।

प्रकाशित : वैशाख १, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?