अव्यवस्थित पोल र तारले ज्यान जोखिममा

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका–४, लेखपोखरामा बसको छतबाट सामान झार्ने क्रममा दुई साताअघि एक गाडीका सहचालकको करेन्ट लागेर मृत्यु भयो । गत भदौमा आँप टिप्न रूख चढेका शारदा नगरपालिका–६, भट्टाचौरका एक १३ वर्षीय बालकले करेन्ट लागेर ज्यान गुमाए ।

अव्यवस्थित पोल र तारले ज्यान जोखिममा

अव्यवस्थित रूपमा गाडिएका पोल र तारका कारण जिल्लावासीको ज्यान जोखिममा परेको छ । अव्यवस्थित पोल र तारकै कारण करेन्ट लाग्दा यो वर्ष दुई जनाले ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् ।

दक्ष प्राविधिकको अभावमा बिनायोजना पोल र तार जडान गर्दा जोखिम बढिरहेको खलंगाका रेशमबहादुर घर्तीले बताए । ‘बढी भीडभाड हुने ठाउँको तार व्यवस्थापन गर्न बारम्बार माग गरिए पनि बेवास्ता भइरहेको छ,’ उनले भने, ‘सामुदायिक वनभित्र गाडिएका पोलले पनि ज्यान जोखिममा पारेको छ ।’

गत भदौमा जंगलमा घाँस काट्न बारीमा गएकी बन्गाडकुपिण्डे नगरपालिका–१, सल्लीबजारकी गोमा बस्नेतले करेन्ट लागेर दायाँ हात गुमाइन् । ‘घटना भएपछि मात्रै तार र पोल व्यवस्थापन गरिन्छ,’ उनले भनिन्, ‘पहिले नै व्यवस्थित तरिकाले पोल र तार जडान गरे मेरोजस्तो दुःख कसैले भोग्नुपर्ने थिएन ।’ उनका अनुसार ठेकेदार कम्पनीले बिनायोजना मनोमानी ढंगले पोल गाड्दा सल्लीबजार आसपासका क्षेत्रमा दुर्घटनाको जोखिम बढिरहेको छ । उनले पोलकै कारण सवारी दुर्घटना पनि बढिरहेको बताइन् ।

एक वर्षअघि भुइँमा लत्रेको तारबाट करेण्ट लाग्दा शारदा नगरपालिका–६, कौछेमा बारी जोत्न लागेका ६० वर्षीय एक वृद्धको ज्यान गएको थियो । करेन्ट लागेर एक हल गोरुसमेत मरेका थिए । ‘घर नजिकैको पोल कुन बेला ढल्ने हो भन्ने चिन्ता लागिरहन्छ,’ कौछेका दीपक बुढाथोकीले भने, ‘घरको एक मिटर माथिबाट तार तानिएको छ, पोल जीर्ण र ढल्ने अवस्थाको छ ।’

नेपाल विद्युत् प्राधिकरणका अनुसार केही पोल काठका हुँदा पनि दुर्घटनाको जोखिम बढेको हो । बजेट अभावमा पुराना पोलको व्यवस्थापन गर्न नसकिएको सल्यान वितरण केन्द्रका प्रमुख धर्मपति यादवले बताए । उनका अनुसार धेरै पहिले गाडिएका पोलहरू कम उचाइका हुँदा पनि समस्या भएको छ । ‘बिजुलीका पोलमा जडान गरिएका अन्य तारले पनि जोखिम बढाइरहेका छन्, केही दुर्घटनामा स्थानीयको लापरबाही पनि भएको छ,’ उनले भने, ‘बजेट आए क्रमशः पोलहरू व्यवस्थित गर्ने योजना छ ।’

प्रकाशित : वैशाख १, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?