१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमालेका दुवै समूह सक्रिय

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा एमालेका दुवै समूह सक्रिय भएका छन् । दुवै समूहले पार्टीका अभियान, कार्यक्रम र बैठक फरक फरक ढंगबाट गरिरहेका हुन् ।

एमालेका दुवै समूह सक्रिय

शुक्रबार मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा नेकपा एमालेको जिल्ला कमिटी बैठक बस्यो । शुक्रबार नै बागबजारस्थित पार्टी कार्यालयमा एमाले निकट राष्ट्रिय युवा संघको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

यी दुवै कार्यक्रममा वक्ता र सहभागी फरकफरक थिए । जिल्ला अधिवेशनबाट निर्वाचित विमलकुमार पुन र साविक नेकपा विवादको बेला संयोजक बनाइएका टंकप्रसाद ओली फरकफरक कार्यक्रममा सहभागी भएका हुन् । दुवैले आफूलाई आधिकारिक आफ्नो पार्टी आधिकारिक भन्दै आएका छन् ।

पुन नेतृत्वको समूहले एमालेको खनाल–नेपाल समूहलाई र ओली समूहले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरिरहेका छन् । पुन समूहमा उपाध्यक्ष ऋषिप्रसाद शर्मा, सचिव हरिप्रसाद शर्मा र उपसचिव माधवप्रसाद गौतमलगायत नेताहरु छन् । अध्यक्ष पुनले आफूहरुसित ७५ प्रतिशत बढी जिल्ला कमिटीका सदस्य रहेको बताए । ‘यसरी विभाजित भएर जाँदा जनतामा नैराश्यता छाएको छ,’ उनले भने, ‘एकै भएर जाने गरी छलफल गरिरहेका छौं ।’

संयोजक तोकिएका ओलीले भने आफूहरु नै पार्टीको संस्थापन भएको बताए । ‘पार्टी केन्द्रले पठाएको अन्तर पार्टी निर्देशनअनुसार नै कामकाजमा लागेका हौं,’ उनले भने, ‘केन्द्रीय कमिटी बैठकका निर्णय, सर्कुलरअनुसार नै पार्टीको अभियानलाई तीव्र बनाइएको छ ।’ उनले अर्को समूह छ/छैन भन्ने विषय महत्वपूर्ण नभएको दाबी गरे ।

पार्टीका गतिविधि दुवै पक्षले आफ्नै ढंगबाट गरे पनि कार्यालय भने एउटै प्रयोग भइरहेको छ । उनीहरुले बागबजारस्थित मदन–आश्रित भवनमा पार्टी कार्यालयको कामकाज सम्पादन गरिरहेका हुन् । सुरुमा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयको ताला फुटाएर कार्यालय सञ्चालन गरेका थिए । पछि नेपाल पक्षधर पनि कार्यालयमा जान थालेका हुन् ।

प्रकाशित : चैत्र २८, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?