पत्रकार महासंघ सल्यानमा १ मतले नविन पौडेल विजयी- कर्णाली - कान्तिपुर समाचार

पत्रकार महासंघ सल्यानमा १ मतले नविन पौडेल विजयी

विप्लव महर्जन

सल्यान — नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा नविन पौडेल निर्वाचित भएका छन् ।

मिना बुढाथोकीलाई एक मतले पराजित गर्दै पौडेल विजयी भएका हुन् ।

पौडेलले ४४ मत ल्याएका थिए भने प्रतिद्वन्द्वी मिना बुढाथोकीले ४३ मत ल्याएकी थिइन् । ९२ जना मतदाता रहेको सल्यानमा ८७ मत खसेको निर्वाचन समितीका संयोजक मनविर बस्नेतले बताएका छन् ।

उनका अनुसार खुला उपाध्यक्षमा संयुक्त गठबन्धनका शंकर केसीले ४६, महिला उपाध्यक्षमा सरिता चलाउने ४६, सचिवमा टिकाराम भण्डारी ४८, सहसचिवमा आषिक केसी ४६, समावेशी सहसचिवमा बुद्धिमान पुन ५७, कोषाध्यक्षमा शिवलाल डाँगी ५१ मत ल्याइ विजयी भएका छन् । यस्तै, दलित सदस्यमा खेमराज स्वर्णकार ७७, खुला सदस्यमा अमृत बुढाथोकी ५१, भरत देवकोटा ४२, सञ्जिव श्रवण देवकोटा ४२, पदम गिरी ४१, महेशकुमार ओली ४० मत ल्याइ विजयी भएका छन् ।

केन्द्रीय परिषद् सदस्यमा डिल्लीराज रावत ६२, योगराज विक ३५, प्रदेश सदस्यमा प्रकाश भण्डारी ५१, धिरज रावत ४८, धनेन्द्र विमल ओली ४४, इस्वरी प्रकाश केसी ४३ र झनकबहादुर केसीले ४२ मत ल्याइ विजयी भएका छन् । महिला सदस्यतर्फबाट टीका केसीले ५० मत ल्याएर विजयी भएकी निर्वाचन समितीका संयोजक बस्नेतले जानकारी गराए ।

जिल्लामा ९२ जना पत्रकार रहेकामा ८७ जनाले मतदान गरेका थिए ।

प्रकाशित : चैत्र २६, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

कपालकै कारण कुरा भइरहेका फिल्म गुमाएँ : केकी अधिकारी 

'पहिलेदेखि नै महिलालाई अल्झाइदिन 'तिमी कपालमा राम्रो देखिन्छ्यौ' भन्‍ने गरिएको छ ।'
रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीले लामो समय फिल्म क्षेत्रलाई ठप्प बनायो । तर महामारी केही मत्थर भएसँगै विस्तारै चलमलाउन थालेको यो क्षेत्र फेरि कोरोनाको दोस्रो लहरको मारमा परेको छ । तर यसबीच फिल्म घोषणा गर्दै निर्माण गर्नेको संख्या बढेको छ ।

'कोहलपुर एक्सप्रेस'बाट निर्माणमा होमिएकी केकी अधिकारीले यहीबीच 'बोक्सीको घर'को छायांकन सकाएकी छिन् । उनले निर्माण गरेको पहिलो फिल्म समीक्षात्मक हिसाबले दह्रो देखिएन । रंगकर्मी सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्म अहिले पोस्टप्रडक्सनमा छ । केकीसँग उनको फिल्म निर्माण र चरित्र निर्माणका विषयमा रीना मोक्तानले गरेको कुराकानी :

तपाईंले निर्माण गरेको पहिलो फिल्म 'कोहलपुर एक्सप्रेस' माथि हुबहु चोरीको आरोप लागेको थियो । दोस्रो फिल्म 'बोक्सीको घर' बनाउँदै हुनुहुन्छ, मौलिकतामाथि प्रश्न उठ्ने डर छैन ?

कहिलेकाहीँ आफ्नो भोगाइबाट यस्तो पाठ सिकिन्छ कि हत्तपत्त त्यही कुरा आँट्नुभन्दा अगाडि हजारचोटि सोचिन्छ । पहिलाको दोषलाई मेटाउने अझ बढी मेहनत गर्नुपर्दो रहेछ । हो, पहिला फिल्मको मौलिकतामाथि प्रश्न उठे । त्यसलाई निमिट्यान्न पार्नका लागि यस्तो एउटा विषयमा काम गर्ने मन थियो जुन फिल्मले महिलाका विषय, लैङ्गिक विभेदका विषय उठाओस् । यीनै विषय उठान गरेको नाटक मैले पाँच वर्षअगाडि हेरेको थिएँ – 'बोक्सीको घर' ।

मलाई त्यतिखेर नै यो नाटकलाई फिल्मको रुपमा ल्यायो भने धेरै मानिसमा यो विषय पुग्छ भन्ने लागेको थियो । त्योभन्दा बढी लोभ, त्यो नाटकको चरित्रमा अभिनय गर्ने थियो । त्यसैले यो लकडाउनमा सुलक्षण भारतीसँग कुरा गरेर फिल्मको काम अगाडि बढाएँ । यो फिल्मको मौलिकतामाथि प्रश्न आउँछ जस्तो लागेन । यदि यो नाटक कतैबाट प्रभावित भएको भए त्यतिबेला नै प्रश्न उठ्थ्यो होला । अहिलेसम्म म ढुक्क छु । 'बोक्सीको घर' हाम्रै कथा हो, हाम्रै समाजको कथा हो ।

रंगमञ्चमा पहिल्यै मञ्चन भइसकेको प्रमुख पात्रको चरित्र निर्माण गर्न कत्तिको गाह्रो भयो ?

फिल्ममा मेरो चरित्र 'आउट अफ बक्स' नै छ । फिल्मको चरित्र त 'लार्जर द्‍यान लाइफ'छ । मेरो चरित्रले २ वटा आवाज निकाल्नुपर्ने थियो । मेरो मसिनो स्वर छ, त्यसैले आवाजमा धेरै मेहनत गर्नुपर्‍यो । आवाज पछि डब गरेर निकाल्छु भन्ने अवस्था थिएन । सुटिङकै साउन्ड फाइनल हुने भएकाले धेरै मेहनत गरेकी छु ।

कोरोनाका कारण धेरै फिल्मको प्रदर्शन मिति पछाडि सरेका छन् । यो फिल्मचाहिँ कहिले प्रदर्शन गर्ने ?

प्रदर्शनलाई लिएर अन्योल नै छ । जुन समयमा प्रदर्शन गरे पनि यो फिल्मको विषय पुरानो हुँदैन । अरुबेला फिल्म निर्माण गरेपछि त्यसको ६ महिनामा प्रदर्शन मिति तोकिन्छ । अन्य लगानीकर्ताका कारण पनि त्यही मितिमा प्रदर्शन गर्नैपर्ने दबाब हुन्छ । यो फिल्ममा त्यस किसिमको दबाब छैन । यो प्रोजेक्टले डिमान्ड गर्ने सिर्जनशील समय दिँदा केही नौलो काम निस्कन्छ कि भन्ने हिसाबले पूरा समय दिइरहेको छु ।

अहिलेसम्म पनि बोक्सीजस्तो कुप्रथा हाम्रो समाजबाट किन नहटेको होला ?

बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको खबर बेलाबखत पत्रिकाको फ्रन्ट पेजमै छापिन्छन् । यो फिल्मका लागि अध्ययन गर्ने क्रममा थुप्रै कारणले बोक्सीको आरोप लाग्ने गरेको देखियो । विशेष त सीमान्त महिलाहरु जो एकल छन्, आफ्नो आवाज उठाउन सक्दैन । धेरै घटना सम्पत्तिको निहुँमै हुने गरेका छन् । महिलामाथि त्यसै कुनै व्यक्तिलाई टुनामुना गर्न सक्ने, अद्वितीय शक्ति भएको आरोप लाग्ने गरेको छ ।

सक्षम महिलालाई सोझै दबाउन नसकेपछि यस किसिमको हतियार प्रयोग गरेर कमजोर बनाउने प्रयास भएको देखें । ती महिला जो विभिन्न किसिमको पीडाबाट गुज्रेका हुन्छन् । यदि ती महिलाहरुसँग त्यस्तो शक्ति हुँदो हो त आरोप लगाउनेहरुलाई नै पहिला आफ्नो शक्तिको सिकार बनाउँथिन् होला । लैङ्गिक असमानता, अन्धविश्वास, चेतनाको कमी र अशिक्षाकै कारण यस्तो भएको जस्तो लाग्छ ।

यस्तो प्रथा हटाउन के गर्नुपर्छजस्तो लाग्छ ?

एउटा त शिक्षा नै हो । अर्को त शिक्षाले मात्र नपुग्ने ठाउँमा जनचेतना फैलाउनुपर्छ । जुन ठाउँका मानिसले जसरी बुझ्छन् त्यसरी नै सिकाउनुपर्योछ । बाल्यकालदेखि नै यससम्बन्धी शिक्षा दिनुपर्छ जस्तो लाग्छ ।

निर्माताको हिसाबले यस्तो मुद्दामा फिल्म बनाउन जोखिम हुँदो हो नि ?

फिल्म भनेको मनोरञ्जनात्मक व्यवसाय पनि हो । हाम्रो जस्तो फिल्म क्षेत्रमा यस्तो विषयमा फिल्म बनाएर जोखिम मोल्न गाह्रो छ । फिल्मको प्रस्तुतीकरणतिर पनि ध्यान दिनुपर्योस । शिक्षाको हिसाबले बनाउँदा त्यसको मनोरञ्जनात्मक महत्त्व कम हुन्छ कि ? सोचेको दर्शकमा पुग्दैन कि ? यो फिल्म दर्शकमा पुग्नुका साथै लगानी पनि उठाओस् भन्ने हुन्छ नै । एकजनाको सोच परिवर्तन गर्न सक्छ कि सकिँदैन भन्ने मनभित्र लागिरहन्छ ।

यस्तो विषय उठाएर व्यावसायिक फाइदा मात्र सोचिरहेको छु भन्ने कुराले तानिरहन्छ । कन्टेन्टका हिसाबले यसमा धेरै नै जोखिम छ । कसरी यसलाई बजारमा ल्याउने, प्रमोसन गर्ने भन्ने प्रश्न छ । तर कोभिडको यस्तो समयमा फिल्म बनाउनु आफैमा जोखिम हो । नलिनु जोखिम मोलेपछि मज्जाकै जोखिम लिउँ भन्ने भयो । फिल्म क्षेत्र सामान्य हुन केही समय कुर्नु नै छ । सायद सामान्य समय चलिरहेको भए मैले यस्तो विषयमा फिल्म बनाउँथिनँ होला ।

तपाईंले फिल्मकै लागि कपाल मुण्डन गर्नुभयो, कपाल काट्नै पर्थ्यो त ?

मलाई त कपाल काट्नु ठूलो कुरै होइनजस्तो लाग्छ । एउटा कलाकारले आफ्नो चरित्र निर्माणका लागि गर्नुपर्ने धर्म नै हो यो । हामीसँग कृत्रिम कुरा राखेर छायांकन गर्न नसकिने वातावरण भइसकेपछि कपाल काट्यौं । कपाल काट्ने भनेपछि मैले दोस्रो पटक खासै यसबारे सोचिनँ । काट्ने र ? त्यसपछिको मेरो काम के हुन्छ भन्ने मनमा आउँदै आएन ।

मुण्डनपछि विग राखेका फेसबुक स्टोरी देखियो नि?

त्यो त छुट्टै चरित्रका लागि आवश्यक भएर हो । अहिलेको वास्तविक केकी 'बाल्ड केकी' हो । म बाहिर त्यसरी नै हिँड्छु । तर जब म कुनै चरित्र गरिरहेको हुन्छु त्यो चरित्रले के माग्छ त्यो पूरा गर्नु मेरो धर्म हो । बीचमा केही विज्ञापनमा मैले 'मुण्डन' ठूलो विषय होइन भनेर नयाँ आइडियासहित यस्तै देखाउँ भनेर कुरा गर्दा कति सहमत भए । तर केही यसबाट बच्न खोज्नुभयो ।

यसलाई मैले स्वभाविक रुपले लिएँ । हामीलाई अझै समय लाग्छ नै होला । जसरी मलाई यो फिल्म बनाउन समय लाग्यो होला । कपाल मुण्डन गरेको केकीलाई स्विकार्न मलाई पनि समय लागेको थियो । जिन्दगीको ३० वर्ष मैले आफूलाई कपालमा देखेको छु । कपाल काटिसकेपछि अहिले म एकदमै स्वतन्त्र र खुसी छु ।

एउटा फिल्मका लागि शारीरिक रुपमा यसरी तयार पार्दा अन्य फिल्ममा असर गर्‍यो कि गरेन ?

आफैमा जित हासिल गर्न समय लागेको जस्तो सबैलाई यो स्वीकार्य हुन समय लाग्छ । हो 'सो बिजनेस'मा छु म । यहाँ सुन्दरता खोजिन्छ । फेरि सुन्दरताको छुट्टै व्याख्या छ । त्यो परिचयमा यी कुरा अटिरहेको छैन । तर कति जनाले मलाई कस्तो सुहाएको भन्नुहुन्छ । मिलेको टाउको रहेछ भन्छन् । खोइ अब कपाल मुण्डन गरेको सबैलाई यस्तै प्रतिक्रिया आउँछ कि ! यस्ता प्रतिक्रियाले कन्फिडेन्स दिन्छ मलाई । एकै खालको जीवन जिइरहेको बेलामा केही परिवर्तन आउँदा एकदम मज्जा आउँछ । खडेरी परिरहेको बेलामा पानी परेको जस्तो अनुभव भइरहेको छ मलाई ।

कपाल काट्नुअगाडि कुरा भइरहेको फिल्मले 'अहिले नै नगरौं होला' भन्ने खालको कुरा गरिरहेका छन् । कपालकै कारणले कामहरु आफ्नो हातबाट गुमिरहेका छन् । कुरा भइरहेको फिल्महरु नै पोस्टपोन्ड भएको कारण देखाइरहेका छन् । ठीकै छ यो पनि एउटा अनुभव छ । मैले त आखिर पलाइहाल्ने कुरा हो भनेर एउटा सामाजिक प्रयोग पनि हुन्छ भनेर कपाल मुण्डन गरेँ । कला त उदार र स्वतन्त्र छ नि त । यस्तै चिज नै चाहिन्छ भनेर बसिराख्यौं भने कलामा लाग्नुको के औचित्य भयो र ?

कपाललाई सुन्दरतासँग नजोडे हुँदैन र ?

साउथ एसिया जहाँ हामी हुर्क्यौं, यहाँ सुन्दरता शृंगारलाई कपालसँग जोडिएर हेरियो । महिलालाई कपालमा सुन्दर देखिने कुराहरु धार्मिक ग्रन्धहरुमा समावेश गरिएको छ । पहिलेदेखि नै महिलालाई अल्झाइदिन 'तिमी कपालमा राम्रो देखिन्छ्यौ' भनिदिएको हो जस्तो लाग्छ मलाई । कपालमै मात्र ध्यान दिँदा अरु ठाउँमा कम समय दिइने भयो । त्यसैले पुरुषहरू अगाडि बढे तर महिलाहरु कपालमै अल्झिए नि त ।

कपालमै सौन्दर्य देख्ने, कपालकै सहारामा कन्फिडेन्स निर्माण गर्ने जमात पनि छन् । त्यो पनि गलत होइन । तर आफूले जे गर्दा खुसी दिन्छ, कन्फिडेन्स दिँदा त्यो गर्ने हो । मेरो कपाल मुण्डन गरेपछि कतिले 'को केटा आयो ?' भन्दै कुरा गर्छन् । कपाल मुण्डन देखेर गाडी चलाउँदा ट्राफिकले मलाई सर भन्दै रोक्नुहुन्छ । म सर होइन मिस हो भन्दै गाडी रोक्छु ।

भनेपछि कपाल काटेपछिका प्रतिक्रियाले तपाईंको कन्फिडेन्स झनै बढायो ?

मैले त कपाल काट्ने निर्णय गरिसकेपछि दोस्रोचोटी सोचिनँ । फिल्मको उक्त दृश्यको तयारी भइसकेपछि मैले आमालाई फोन गरेर सुनाएँ । आमाले 'कपाल काट्नै पर्ने हो र ?' भन्नुभयो । बाबाले पनि कृत्रिम उपाय सुझाउनुभयो । मैले त्यो एक कल गरेपछि फोन राखें । म आफ्नो निर्णयमा डगमगाउन चाहन्नँ । ३० वर्ष आफूलाई साथ दिएको कपाल काटिँदा मन दुख्यो । फिल्मको उक्त दृश्य सक्दा बिहानको ३ बजिसकेको थियो । सिधै कोठामा आएर सुतें । ऐना हेरेको थिइनँ । खौरिसकेपछि पनि हेरिनँ ।

२४ घण्टाको समयपछि काभ्रेबाट म काठमाडौं फर्किएँ । कपाल राम्ररी खौरिन बाँकी थियो । सोझै दरबारमार्गको सैलुन गएँ । एउटी महिलाले कपाल मुण्डन बिरामी भएर काटेको होला भन्ने सोच्दा रहेछन् । गाडी पार्क गर्दा टिकट काट्ने व्यक्तिले मलाई बिरामी ठानेर सहयोग गर्दै थियो । माथि उक्लँदै गर्दा मलाई फर्केर नहेर्ने सायदै थिए । गाडी निकाल्दै गर्दा ट्राफिकले पनि म बिरामी छु कि भन्ने लाग्यो होला अरु गाडी रोकेर मलाई सहयोग गर्दै हुनुहुन्थ्यो । एउटी महिलाले कपला मुण्डन गर्दा सबैलाई अचम्म लाग्दो रहेछ । मैले कपाल काटिसकेको तस्बिर सामाजिक सञ्जालमा राख्दा 'किन' भन्ने प्रश्नहरु धेरै आए । यसरी अचम्मित हुनेमा महिला नै धेरै थिए । कोहीले त 'म तपाईंको फ्यान थिएँ अब त हेर्न पनि सक्दिनँ' भनें । त्यो दिन मेरो फलोवर्स पनि बढे । धेरैले दयाको दृष्टिकोणले हेरे ।

कपाल काटिसकेकाहरुले 'रमाइलो अनुभवबाट तिमी गुज्रन्छौ' भनेर ढाडस दिए । आनी छोइङ डोल्माले 'तिमी मेरो 'योङभर्सन' देखिएकी छौ' भनेर भन्नुभयो । 'कुनै दिन मेरो बायोपिकमा फिल्म बन्यो भने तिमी सुहाउने रहेछौ' भन्नुभयो ।

कतिपयले त केकीको 'स्टन्ट' हो पनि भनेर आरोप लगाए नि ?

म त यसलाई सामान्य तरिकाले नै यसलाई लिइरहेको थिएँ। त्यसरी नै अरुले नै लिइदिउन् भन्ने सोचें । तर कतिले मानसिक बिरामी भएर कपाल काट्यो भन्ने सोच्दा रहेछन् । कुनै दु:खद घटनाबाट गुज्रिरहेको छ कि ! कपाल काटेर त्यो अवस्था पार गर्न चाहन्छ भन्ने खालका कुराहरु सुनियो । ब्रेकअप भयो कि भन्ने कुराहरु आए । अर्को कुरा त ध्यान तान्नको लागि गरेको भन्ने कुरा पनि आयो । जे होस् सबैले आ-आफ्नो तर्फबाट विश्लेषण गर्दो रहेछ । कुनै पनि विचार गलत जस्तो लाग्दैन ।

खोइ यो कपाल काटेपछि मनमा अध्यात्म जागेको हो कि ! (हाँस्दै) । कपाल काटेको २४ घण्टा त अलिकति अप्ठ्यारो लागेको जस्तो । आफूलाई कसरी हेर्ने होला भन्ने किसिमको भइरहेको थियो । तर २४ घण्टापछि मलाई आफैमा त्यो आत्मविश्वास बनाइन् भने मानिसहरुले हेर्दा पनि असहजता झल्किन्छ भन्ने भयो । त्यसैले पहिला त आफैलाई सहज बनाए । खासमा मानिसहरुले जसरी यसलाई ठूलो विषय बनाइरहेका छन् । सायद सबैजनाले यो अवस्थाबाट आफूलाई लगे भने यसको अनुभव भिन्नै पाउनुहुनेछ ।

कोरोनापछि धेरै क्षेत्र पुरानै अवस्थामा फर्किएका छन् । केहीले वैकल्पिक उपाय अवलम्बन गरेका छन् । चलचित्र क्षेत्रचाहिँ कसरी अगाडि बढ्ने ?

कलाकारहरु निराश भइहाल्ने अवस्था आइसकेको छ जस्तो मलाई लाग्दैन । हामीले जहिल्यै पर्याप्त समय छैन भनेर गुनासो गर्नेहरुका लागि यो सही समय हो । तर सबै कुरा पैसामा गएर जोडिने हो । कलाकारलाई त्यसले अप्ठ्यारोमा पार्ने हो । त्यो किसिमको असहजता आएको हुन सक्छ ।

तर निराश नै हुनुपर्ने अवस्था आएको जस्तो मलाई लाग्दैन । कहिले फिल्म क्षेत्र चलायमान हुन्छ भन्ने अन्योल छ । जिन्दगी नै यसरी चल्छ कि भन्ने अन्य विकल्प खोज्नुपर्छ कि भन्ने सोच नआउने पनि होइन । म्युजिक भिडियोले कहिलेसम्म धान्छ ?

मलाई लाग्दैन हामी एउटै कुरामा अल्झेर बस्नुपर्छ । अरु क्षेत्रले फिल्मको लागि वैकल्पिक बाटो रोजिसकेको छ । जुन बलियो भएर आएको छ । सायद यही परिवर्तनको लागि यस्तो अवस्था चाहिएको थियो कि । त्यो किसिमको बजारको लागि हामीले आफूलाई तयार गर्दै लानुपर्छ । हलकै लागि सोचेर बस्नु हुँदैन जस्तो लाग्छ । अब डिजिटल प्लेटफर्मका लागि हामी तयार हुनुपर्छ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : चैत्र २६, २०७७ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×