२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

तुवाँलोका कारण हुम्लामा उडान प्रभावित

छपाल लामा

हुम्ला — बाक्लो तुवाँलोका कारण हुम्लामा हवाइ उडान प्रभावित भएको छ । तुवाँलोका कारण सिमकोट विमानस्थलबाट सुर्खेत तथा नेपालगञ्ज हवाइ उडान हुन नसकेको हो ।

बिहानदेखि नै नेपालगन्ज र सुर्खेत विमानस्थल क्षेत्रमा बाक्लो तुवाँलो लागेपछि हुम्लामा कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए । विमानस्थलको भिजिबिलिटी ५ किलोमिटर हुनुपर्ने भएपनि तुवाँलोका कारण ३ किलोमिटर मात्रै भिजिबिलिटी भएपछि उडान हुन नसकेको उनको भनाइ छ ।

अहिले नेपालगञ्जमा तुवाँलो हटेको भएपनि सिमकोटमा तीव्र हावाका कारण कुनै पनि उडान हुन नसकेको हो । हवाई सेवा प्रभावित भएपछि नेपालगञ्ज र सुर्खेतबाट हुम्ला पुग्ने यात्रु अलपत्र परेका छन् । दैनिक उपभोग्य सामग्री तथा अन्य विकास निर्माणका सामाग्री ढुवानी गर्न समस्या भएको व्यापारी छिरिङ लामाले बताए ।

सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् । सिमकोट विमानस्थलका लागि तारा, सीता, समिट र नेपाल एयरलाइन्सका विमानले उडान भर्दै आएका छन् । हुम्लाका लागि विमानले दैनिक १० देखि १५ वटा उडान भर्ने गरेका छन् । दुई दिनदेखि हवाइ सेवा बन्द हुँदा तरकारी, मासुजन्य पसबाट पनि सेवा दिन समस्या भएको व्यापारी सरोज रावतले बताए ।

प्रकाशित : चैत्र २४, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?