मुगुमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते - कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको पातीहाल्नामा जिप दुर्घटना हुँदा १ को मृत्यु र ५ जना घाइते भएका छन् । 

सोरु गाउँपालिकाको सिपगाउँदेखि यात्रु बोकेर गमगढीका लागि छुटेको ग ३ च ११६८ नम्बरको जिप दुर्घटना हुँदा गाउँपालिका–७ की ३० वर्षीय गिरकला बुढाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चित्र भट्टराईले जानकारी गराए ।

दुर्घटनामा घाइते हुनेहरुमा सोरु गाउापालिका–७ का २८ वर्षीय दल बुढा, रत्न विष्ट, छायाँनाथरारा नगरपालिका–१ का ४८ वर्षीय कुलबहादुर मल्ल, वर्षीय २१ गोविन्द विष्ट, २५ वर्षीय ललिजंग बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई एल्बुलेन्समार्फत उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । जिप ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय र कालै प्रहरी चौकीबाट सुरक्षाकर्मी खटाइएको थियो । घाइते ५ जनामध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य ३ जना समान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०७७ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिले पार्टी, आन्दोलन एकताबद्ध भएर जाओस् भन्‍ने चाहना राख्‍नुभयो : खनाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले) विभाजनउन्मुख रहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन् । शनिबार खनाल निवास डल्लु पुगेकी राष्ट्रपतिले वर्तमान राजनीतिक परिस्थितिबारेमा कुराकानी गरेकी थिइन् । 

राष्ट्रपतिसँगको भेटमा वर्तमान परिस्थितिबारे छलफल भएको नेता खनालले जानकारी दिए । 'अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुरा गर्‍यौं,' राष्ट्रपतिसँगको भेटबारे खनालले भने, 'उहाँले पार्टी, (कम्युनिस्ट) आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।'

राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो । राष्ट्रपतिले नेता खनालको स्वास्थ्यको बारेमा पनि चासो राखेकी थिइन् । जवाफमा खनालले आफ्नो व्यक्तिगत स्वास्थ्यको कुरा भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको चिन्ता लागेको जवाफ दिएको बताए । 'मलाई व्यक्तिगत स्वास्थ्यको बारेमा कुनै चिन्ता होइन । चिन्ता पार्टीको बारेमा लागेको छ । आन्दोलनको, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा सबै पार्टी बलिया, सुदृढ भए एकताबद्ध भएमात्रै लोकतन्त्र बलियो हुन्छ भने,' खनालले राष्ट्रपतिलाई भनेको कुरा उल्लेख गरे ।

राजनीतिक दलहरू एकताबद्ध र बलिया भएमात्रै गणतन्त्र बलियो हुने कुरा राष्ट्रपतिलाई बताएको खनालले भने ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बित गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ । ओली पक्षले नेपाल पक्षलाई कारबाही गर्ने र नेपाल पक्षले त्यसको प्रतिकारस्वरुप समानान्तर गतिविधि अगाडि बढाउँदा पार्टी विभाजन नजिक पुगेको हो ।

पार्टीभित्र विवाद चुलिएको अवस्थामा राष्ट्रपति भण्डारी वरिष्ठ नेता खनाललाई भेट्न पुगेकी हुन् ।

प्रकाशित : चैत्र २१, २०७७ १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×