खुला चौरमा पढाइ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला चौरमा पढाइ

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–१० पैयाखर्कस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य छन् । हावाहुरीले विद्यालय भवनको छाना (कर्कट पाता) फालेपछि विद्यार्थीलाई ६ महिनादेखि खुला चौरमा बसेर पढनुपर्ने बाध्यता भएको हो ।

मर्मतका लागि रकम नहुँदा छाना राख्‍न नसकिएको प्रधानाध्यापक डम्मरबहादुर चलाउनेले बताए । उनका अनुसार कक्षाकोठाको पर्खालसमेत चर्किएको छ । ‘खुला चौरमा पढाउँदा धुलोले बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेको छ,’ उनले भने,‘विद्यालय सडक नजिकै भएकाले गाडी वारपार गर्दा विद्यालय क्षेत्र नै धुलाम्मे हुने गरेको छ ।’

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ३० विद्यार्थी अध्ययनरत छन् । समयमै भवन मर्मत नहुँदा पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले बताए । नगरपालिकाले भवन मर्मतमा बेवास्ता गरेको उनको गुनासो छ ।

प्रकाशित : चैत्र २१, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्

लौठसल्लाको ‘माइरेई’ प्रजातिलाई लिएर नेपालका वनस्पतिविदहरुबीच किन मतभेद ?

गोविन्द पोखरेल

काठमाडौँ — कुनैपनि जीव र वनस्पतिको वैज्ञानिक नाम संसारभर एउटै हुन्छ । तर आम समुदायले भने भिन्नभिन्न नामले चिन्न सक्छन् । आम रुपमा चिनिने नाम चाही ‘कमन नेम’ हो भने ठाउँ वा समुदाय विशेषले दिएको नाम चाही स्थानीय नाम(लोकल नेम) हो । 

झ्याल/ढोकाको चौकस बनाउन सालको काठलाई रुचाइन्छ । साल ‘कमन नेम’ हो । तराई र पहाडी जिल्लामा साल भनिन्छ । कतैकतै यसलाई सखुवा पनि भनिन्छ । काठमाडौंमा चाही यसलाई बिक्री वितरणमा ‘अग्राघ’ पनि भन्ने गरिन्छ । सखुवा/अग्राघ लोकल नेम हो । यसको वैज्ञानिक नाम चाही ‘सोरिया रोबुष्टा’ हो ।

भुटान वा भारतमा सखुवा भन्यो नबुझिएला तर नेपाल,दार्जिलिङ, सिक्किमसहित भारतका अन्य प्रान्तमा साल भनियो भने चिनिन सक्छ । त्यसैले साल कमन अनि सखुवा/अग्राघ चाही लोकल अथवा स्थानीय नाम हो । कमन वा स्थानीय नाम तलमाथि भए खासै फरक पर्दैन । वैज्ञानिक नाम फरक भयो भने यसले असर गर्छ । संसारभर कुनै एक वनस्पतिको एउटै सहि वैज्ञानिक नाम हुन्छ र हुनुपर्छ ।

नागरिकताको नाम पासपोर्टदेखि महत्वपूर्ण कागज सबैमा एउटै लेखिन्छ । सरकार वा संघसंस्थाले कुनै व्यक्तिको नाम नागरिकतामा लेखिए अनुसार मात्र चिन्छ । एउटै व्यक्तिले फरकफरक नाममा नागरिकता पाउँदैन । यस्तै, कुनै एकै वनस्पति वा जन्तु प्रजातिलाई फरकफरक वैज्ञानिक नाम दिनु वैज्ञानिक मान्यता विपरित ठहरिन्छ । यस्ता प्रजाति मानव जातिका लागि महत्वपूर्ण भए, तिनका गलत नामले व्यापारमा असर गर्छ । कानुनी अड्चन आइपर्छ ।

विगत केही महिनादेखि नेपालका वनस्पतिविद्हरुबीच लौठसल्लाको एउटा प्रजातिको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । लौठसल्लाको ट्याक्सस माइरेई प्रजातिलाई लिएर नेपालका वनस्पतिशास्त्रीहरु खिचातानीमा उत्रिएका छन् । सरकारी अभिलेखहरु नै विवादस्पद् भएपछि उनीहरुबीच मतभेद बढेको हो ।

वर्ल्ड प्लान्ट चेकलिस्टका अनुसार विश्वमा हालसम्म लौठसल्लाका १२ प्रजातिहरु फेला परेका छन् । लौठसल्ला विशेष गरेर फोक्सो, छाला, अन्ननली,स्तन, पाठेघर क्यान्सरका लागि उपयोगी मानिन्छ । यसमा पाइने ट्याक्सोल (सार तत्व)औषधि निर्माणमा प्रयोग हुने गरेको छ । नेपालमा पाइने लौठसल्लाका प्रजातिमध्ये ट्याक्सस् माइरेईबाट धेरै मात्रामा ट्याक्सोल हुने लौठसल्लामा विद्यावारिधि गरेका रामचन्द्र पौडेल बताउँछन् ।

यसमा पाइने १०–डीएबी३ लाई प्रशोधन गरेर ट्याक्सोल बनाइन्छ । ट्याक्सोलले क्यान्सर कोषहरुको विभाजनलाई अवरुद्ध गरिदिने काम गर्छ । कोष विभाजनमा महत्वपूर्ण भूमिका खेल्ने ‘ट्यबुलिन’ प्रोटिनलाई निष्कृय बनाइदिएर ट्याक्सोलले क्यान्सरको उपचारमा भूमिका खेलेको हुन्छ ।

राष्ट्रिय हब्रेरियम तथा वनस्पति प्रयोगशालाले २०७३ सालमा प्रकाशन गरेको ‘नेपालका लौठसल्ला’ नामक पुस्तकमा नेपालमा ३ प्रकारका लौठसल्लाहरु पाइन्छ भन्ने जानकारी छ ।

पश्चिमी नेपालको दार्चुलादेखि मध्य नेपालको गोरखासम्म ट्याक्सस कन्टोर्टा, मध्य नेपालको मकवानपुर,ललितपुर,काठमाडौंको थानकोट, धादिङ, काभ्रे र सिन्धुली जिल्लामा ट्याक्सस माइरेई र ट्याक्सस वालिचियाना बाग्लुङको पूर्व क्षेत्रदेखि पूर्वी नेपालको ताप्लेजुङसम्म पाइन्छ । पुस्तक अनुसार नेपालमा पाइने लौठसल्लाहरु ३० मिटर अग्लो र ५ मिटर गोलाइसम्मका छन् ।

यस्तो छ फरक

राष्ट्रिय वनस्पति प्रयोगशालाले निकालेको उक्त पुस्तक अनुसार कन्टोर्टाका प्रजातिका पातहरु सिधा र साँगुरो, माइरेईका चेप्टा परेका र गाढा हरियो रंगका हसियाकार,वालिचियानाका पातहरु हसिया जस्ता वा एस आकारको हुन्छन् ।

कन्टोर्टाका पातहरु डाँठबाट छरिएर अथवा घुमेर पलाउने गर्छन् भने माइरेईका पातको तल पट्टिको मूल नसा(मिड रिब) र दुई किनार (लिफ मार्जिन) चिल्लो हुन्छन् । वालिचियाना प्रजातिका हाँगामा पातहरु दुवैपट्टि समान रुपमा मिलेको उक्त पुस्तकमा उल्लेख छ । माइरेई प्रजातिको हाँगा छुट्टिने ठाउँबाट निस्कने कत्लाहरु प्रस्ट हुदैनन् भने वालिचियानाका कत्लाहरु प्रष्ट देखिन्छन् ।

माइरेई चीन,भियतनाम,इन्डोनेसिया,म्यानमार,भारत र नेपालमा मात्रै पाइन्छ । यो प्रजातिको लौठसल्ला अन्य दुई प्रजातिहरुभन्दा कम उचाइमा पाइएको उक्त पुस्तकमा उल्लेख छ ।

माइरेई नेपालको सन्दर्भमा संवेदनशील(भल्र्नुरेबल),साइटीसको एपेन्डिक्स ३ अन्गर्तको अति संकटापन्न सूचीमा छ भने वालिचयाना विश्वमा संकटापन्न र नेपालमा पनि संकटापन्न सूचीमा राखिएको सरकारी पुस्तकहरुमा उल्लेख गरिएको छ ।

यसरी सुरु भयो मतभेद

सरकारी अभिलेखमा प्राकृतिक रुपमा सन् २०१६ सम्म नेपालमा टेक्सास कन्टोर्टा र ट्याक्सस् वालचियिना प्रजाति मात्रै थिए । सन् २०१७मा राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालाले ‘नेपालका लौठसल्ला’ नामक पुस्तक निकाल्यो । उक्त पुस्तकमा ट्याक्सस माइरेई नेपालका लागि नयाँ प्रजाति भएको र यो मकवानपुरको जंगलमा पाइएको तस्बिरसहितको विवरण सार्वजनिक गरियो । लौठसल्लामा विद्यावारिधी गरेका वनस्पतिविद् पौडेलले नेपालमा पहिलो पटक टयाक्सस् माईरेई पाइने पुष्टि गरेका थिए । सन् २०१२ मा प्रकाशित उनको अनुसन्धानात्मक आलेखले माइरेई प्रजाति भेटिएको पुष्टि गरेको थियो । उक्त अनुसन्धानमा वनस्पतिको बाहिरी संरचनाको भिन्नतालाई मात्रै नभएर अनुवांशिक अध्ययनलाई प्रमुख आधार मानिएको थियो ।

तर, सन् २०२०मा वनस्पति समाज नेपालले विराटनगरमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा प्लान्टस् डाइर्भसिटी इन नेपाल नामक पुस्तक विमोचन गरियो । उक्त पुस्तकमा वरिष्ठ वनस्पतिविद् केशवराज राजभण्डारी, सुवास खत्री, लज्मिना जोशी र रिता क्षेत्रीको ‘जिम्नोस्पर्म अफ नेपाल: स्टेट्स एन्ड डिस्ट्रुब्युसन’ शीर्षक आलेख अनुसार ट्याक्सस माइरेई नेपालमा छैन भन्ने उल्लेख छ ।

आलेखमा नेपालमा सन् २०१२ मा भेटिएको ‘ट्याक्सस माइरेई’लाई ‘ट्याक्सस वालिचियना भेराईटी माइरेई’ भनिएको छ । अर्थात्, नेपालमा ट्याक्सस माइरेई नै छैन । आलेखले नेपालमा ट्याक्सस वालिचियनाको ‘माइरेई’ भनिने एक भेराईटी भेटिएको हो । त्यसलाई नै ‘ट्याक्सस वालिचियना भेराईटी माइरेई’ भनिएको छ ।

राष्ट्रिय वनस्पति प्रयोगशाला गोदावारीले पुन: २०२०मै ‘अ ह्यान्डबुक अफ जिम्नोस्पर्म अफ नेपाल’ शिर्षक किताब निकाल्यो । यो कितबाले ट्याक्सस माइरेईलाई ट्याक्सस वालिचियना भेराइटी माइरेई भन्दै मान्यता दिएको छ । यी दुवै आलेखमा आनुवांशिक गुण तथा भिन्नतालाई प्राथमिकता दिइएको छैन । यी आलेखका मुख्य लेखक वरिष्ठ वनस्पतिविद् केशवराज भण्डारी हुन् ।

सन् १९९७ मा चिनका एक वैज्ञानिकले चीनमा भएको ट्याक्सस माइरेईलाई ट्याक्सस् वालिचियना भेराईटी माइरेई मानेका थिए । तर, त्यसलाई ट्याक्सस विज्ञहरुले सहि भनेन् । ट्याक्सस माइरेई नै हो भनेका छन् । यसलाई अनुवांशिक अध्ययनले पुष्टि गरेको छ ।

पौडेल भन्छन्,‘पहिले पहिले ट्याक्सोनोमिस्टहरु बाहिरी संरचना र आवरणलाई हेरेर वनस्पतिको वर्गीकरण गरिदिन्थे । पछि अनुवांशिक रुपमा अनुसन्धान सुरु भयो र यसले वर्गीकरणलाई अझ वैज्ञानिक बनायो । त्यसपछि प्रजातिहरुका आनुवांशिक अध्ययन झन् बढ्यो र यसले वनस्पतिहरुको वर्गीकरणलाई सहज र भरपर्दो बनाइदियो । ’

उनका अनुसार सन् २०१२ अघि नेपालमा दुई वटा लौठसल्ला पाइन्थ्यो । ट्याक्सस वालिचियना र कन्टोर्टा । माइरेई नेपालका लागि नयाँ प्रजाति भएपनि पुराना ट्याक्सोनोमिस्टहरु यसलाई मान्न तयार छैनन् । उनीहरुले अन्य प्रजातिहरुमा आनुवांशिक अध्ययन अनुसार गरिएको वर्गीकरणलाई मान्यता दिएपनि माइरेईको हकमा ‘मर्फोलोजिकल’आधारमा सन् १९९७मा चीनका एक वैज्ञानिकले गरेको पुरानै अर्थात् बाहिरी आवरणलाई आधार मानेर गरिएको वर्गीकरणलाई अंगिकार गरेको देखिने वनस्पतिविद्हरु बताउँछन् ।

राष्ट्रिय हेर्बेरियम प्रयोगशालाका प्रमुख सुवास खत्री भने आफ्नै विभागले २०१७मा निकालेको पुस्तकको खण्डन गर्दै माइरेईलाई छुट्टै प्रजाति मान्न तयार छैनन् । उनले यो खालको लौठसल्लाको बाहिरी आवारणलाई हेर्दा वालिचिनासँग केही मिल्ने भएर भेराईटीमा राखेको दाबी गर्छन् । उनी भन्छन्,‘वनस्पतिहरुको नाम परिवर्तन भइरहेको हुन्छ । स्पेसिस नै हुनुपर्ने भन्ने पनि हैन, केही मिल्दोजुल्दो भएकाले वालिचिना भेराइटीमा राखियो ।’

वनस्पति विभागका प्रमुख सञ्जिवकुमार राई मोइरेईलाई एपीजी सिस्टम ४ अन्तर्गत नै वर्गीकरण गरेर भेराईटीमा राखिएको दाबी गरे । जबकी एपीजी सिस्टम ४मा आनुवांशिकी अध्ययनलाई मुख्य आधार मानिन्छ । उनले नेपालका वनस्पति विज्ञहरुको राय सल्लाह र सुझावको आधारमा विभागद्वारा प्रकाशित पुस्तक नै आधिकारिकता भएको बताउँदै मोइरेईलाई भेराइटीमा राखिएको तर्क गरे । उनले टेक्सोनोमीमा प्रजातिहरुको नाम परिवर्तन भइराख्ने पनि बताए ।

वनस्पतिको वर्गीकरणमा दुई वटा धार भएको बताउँदै वनस्पतिविद् समेत रहेका महानिर्देशक राईले यसअघि माइरेईलाई प्रजाति भनिएपनि उक्त अनुसन्धानमा उक्त प्रजातिलाई समर्थन गर्ने मोलिक्युलर कामहरु भने नभएको दाबी गरे । ट्याक्सोनोमीमा कार्लस लियिनअस सिस्टम नै मान्ने गरिएपनि मोलिक्युलर साइन्सलाई अझै पनि सय प्रतिशतले विश्वास नगरिएको उनले दाबी गर्दै भने । किताबमा माइरेई बारे विज्ञहरको धारणा र सुझाव अनुसार नै तयार गरिएको उनको भनाइ थियो ।

वरिष्ठ वनस्पतिविद् केशव राजभण्डारी यो विवाद नभएर बिरुवाहरुको वर्गीकरण गरिएको बताए । ‘ट्याक्सोनोमीमा कसैले के भन्ने कसैले के भन्ने हो । सुरुमा अर्कै नाम थियो । कसैले ट्याक्सस् वालिचाना पनि भन्छ । कसैले भेराइटी पनि भन्छन् । एउटै बिरुवाहरुमा धेरै नाम हुन्छ । ’

मोलिक्युलरलाई मात्रै नभएर सबै कुराहरलाई आधार मानेर वर्गीकरण गरिने गरेको उनले सुनाए । उनी भन्छन्,‘यो विवाद भन्ने नै हुँदैन,एउटै बिरुवाको धेरै नाम हुन सक्छ । आज राखेको नाम भोलि अर्कै पनि हुन सक्छ । ट्याक्सोनोमीमा विवाद हुने कुरा हुँदैन,परिवर्तन भइरहन्छ ।

उनले माइरेईलाई भेराइटी राख्नुको कारण पनि उल्लेख गर्दै क्यारेक्टर स्पेसिस भएको बताए । ‘कुनै बिरुवा छुट्टयाउन गाह्रो भयो भने सानोसानो क्यारेक्टरले छुट्टयाएको छ भने त्यसलाई कसैले भेराइटी भन्छ,’ उनले भने । यस विषयमा जिम्नोस्पर्म अफ नेपालको ‘नोट्स’मा राखिएको र किन माईरई भन्ने कुरा माइरेईलाई छुट्टयाउने क्यारेक्टर नै न्यारो भएकाले फर्दर स्टडी गर्दै गरे भने त्यस्तो अवस्थामा स्पेसिस पनि हुन सक्ने र राख्न सकिने उनको भनाइ छ ।

के हुन्छ यसको असर ?

ट्याक्सस माइरेईलाई ट्याक्सस वालिचियना भेराइटी माइरेईमा राख्नु भनेको भैंसीलाई अर्ना भने जस्तै रहेको वनस्पतिविद् तथा लेखक कमल मादेन बताउँछन् । अर्थात्, भैंसी र अर्नाको स्वरुप एउटै भए पनि तिनीहरुबीच पृथकत छ । ‘ट्याक्सस माइरेई र ट्याक्सस वालिचियनाको बाहिरी आवरण उस्तैउस्तै देखिएपनि यिनीहरुको पातको आकार तथा आनुवांशिकी भने फरक छ,’ मादेनले भने । यस्तै,वालिचिना र माइरेई पाइने भूगोलको उचाइ पनि फरक छन् । उनले भने,‘माइरेई १५ देखि २२ सम्ममिटर उचाइसम्म हुन्छ भने,वालिचिना २२ देखि ३२ सय मिटर उचाइसम्म पाइन्छ ।’

ट्याक्सस वालिचियना साईटिसको अनुसूची २ मा सूचिकृत छ । जबकी ट्याक्सस् माईरेई साईटिसको अनुसूचीमा छैन । यसैगरी, आईयूसीएनले जारी गरेको सूची अनुसार ट्याक्सस वालिचियना विश्वकै निम्ति संकटापन्न (इन्डेन्जर्ड) प्रजाति हो । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६ अनुसार संकटापन्न वन्यजन्तु तथा वनस्पति व्यापार गर्न सरकारी अनुमति बेगर केही गर्न सकिन्नँ । यो नियमावली बन्नु अघिसम्म ट्याक्सस वालिचियना व्यापार गर्न खासै अवरोध थिएन । नेपालमा भर्खर टयाक्सस माईरेई जंगलमा पाइने जानकारी प्रकाशन गर्नु रसरकारले ट्याक्सस् माईरेईलाई ट्याक्सस् वालिचियनाको एक भेराइटी भनेको छ ।

‘ट्याक्सस वालिचियना भेराईटी माइरेई र ट्याक्सस वालिचियना भन्नु एकै हो,’ मादेन भन्छन्,‘सरकारी प्रकाशनले ट्याक्सस् माईरेईलाई ट्याक्सस वालिचियना भेराईटी माइरेई बनाई दिएकाले किसानले जंगलबाट निकासी गर्न कानुनी अड्चन हुन्छ ।’

प्रकाशित : चैत्र २१, २०७७ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×