१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रारामा पर्यटक बढे, बासको समस्या

राजबहादुर शाही

मुगु — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ । अहिले रारामा दैनिक करिब डेढ सय पर्यटक घुम्न आइरहेका छन् ।

रारामा पर्यटक बढे, बासको समस्या

चैत सुरु भएसँगै हवाइ र सडक मार्गबाट रारा आउने पर्यटकको संख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । उनका अनुसार मिलिचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको हो । काठमाडौ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउनेहरु बढिरहेको उनको भनाइ छ । ‘पर्यटक बढेपछि बासको समस्या हुन थाल्यो,’ उनले भने, ‘केही पर्यटकलाई टेन्टमा बसाउनुपर्ने अवस्था छ ।’

बासको समस्या हुन थालेपछि केही पर्यटक मिलिचौरबाटै फर्कन बाध्य छन् । रारा वरिपरि दुई पर्यटकीय होटेलसहित माझघट्ट होमस्टे सञ्चालन भएपछि पर्याप्त पर्यटक राख्न समस्या छ । ‘राम्रो होटेल नहुँदा बस्नै समस्या हुने देखियो,’ आइतबार रारा आएका सुर्खेतका कमल केसीले भने, ‘एक/दुई घण्टा घुमेर बाटोमै बास बस्न जानुपर्ने बाध्यता भयो ।’

पर्यटकलाई खान र बस्नको राम्रो सुविधा दिन सके आएका पर्यटक चार/पाँच दिनसम्म रारामै राख्न सकिने संरक्षण अधिकृत दाहालले बताए । ‘आएका पर्यटकको व्यवस्थापनमा होटेल व्यवसायीको कमजोरी देखियो,’ उनले भने, ‘अनुगमन नहुँदा होटेलहरु व्यवस्थित बन्न सकेका छैनन् ।’

पर्यटक बढेपछि रारा विमानस्थलमा हवाइ चाप बढेको छ । नेपालगन्जबाट तारा, समिट र सीता एयरले दैनिक ५ देखि ८ वटा उडान भरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पर्यटक बढेपछि उडान भर्न भ्याइनभ्याइ भएको तारा एयरलाइन्सका स्टेशन इन्चार्ज लक्ष्मी शाहीले बताए । उनका अनुसार अधिकांश पर्यटक काठमाडौदेखि दोहोरो टिकट ल्याएर फर्किने गरेका छन् ।

रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुंगा चालकलाई समेत भ्याइनभ्याइ हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झयारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीय भक्त रोकायाले बताए । ‘पर्यटक बढेपछि आम्दानी पनि बढिरहेको छ,’ उनले भने, ‘बिहानैदेखि साँझ अबेरसम्म पर्यटकलाई घुमाउन थालेका छौं ।’ उनले पर्यटकलाई घोडामा विभिन्न गाउँमा घुमाएवापत दैनिक ५ हजार रुपैयाँसम्म कमाउन थालेको बताए ।

व्यवसायीका अनुसार रारा घुम्‍न आएका अधिकांश पर्यटक मुर्माटप जाने गरेका छन् । राराबाट घोडा चढेर पर्यटकहरु मुर्माटप पुग्ने गरेको रोकायाले बताए । ‘मुर्माबाट राराको पुरै भाग देख्न सकिन्छ,’ उनले भने, ‘पर्यटक दिनभरि नै मुर्मा बस्छन्, बासको समस्या हुँदा फेरि रारामै झर्नुपर्ने समस्या छ ।’

प्रकाशित : चैत्र ९, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?