१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कर्णालीको पहिलो पञ्‍चवर्षीय योजना सार्वजनिक

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । प्रदेश योजना आयोगले तयार पारेको योजनाको पुस्तक बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शााहीले सार्वजनिक गरेका हुन् ।

कर्णालीको पहिलो पञ्‍चवर्षीय योजना सार्वजनिक

पञ्चवर्षीय योजनामा आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य सार्वजनिक गरिएको छ । गत वर्षदेखि लागू भएको उक्त योजनाअनुसार ५ वर्षभित्र कर्णालीवासीको प्रतिव्यक्ति आय १ हजार १ सय ४७ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले बताए । उनका अनुसार प्रदेशलाई अतिकम विकसितको स्तरबाट ०८०/०८१ भित्र मध्यमस्तरको प्रदेशमा रुपान्तरण गरिने छ । अहिले कर्णालीका नागरिकको प्रतिव्यक्ति आय ८ सय २६ अमेरिकी डलर छ ।

योजना आयोगले पञ्चवर्षीय योजनासँगै ‘कर्णाली सोच–२१००’ पनि तयार पारेको छ । २५ वर्षलाई ३ चरणमा कार्यविभाजन गरी विकासका मोडल बनाइएको रोकायाले बताए । उनले २१०० भित्र कर्णालीलाई विकसित प्रदेशमा रुपान्तरण गरी प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको उल्लेख गरे । दीर्घकालीन रणनीतिको ३ चरणअनुसार ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ बनाउने सोच पूरा गर्न पहिलो ५ वर्षमा ‘समृद्धि र सुखको सिर्जना’ नारासहित शिक्षा, स्वास्थ्य, उत्पादन र पूर्वाधार तयार गरिनेछ । यस्तै, दोस्रो ५ वर्षमा ‘समृद्धि र सुखको तीव्रता’ नारासहित विकासलाई तीव्रता दिएर समृद्धिमा अग्रताको गन्तव्य भेट्ने रणनीति राखिएको छ । यसैगरी अन्तिम ५ वर्षमा ‘समृद्धि र दिगोपना’ नारासहितको रणनीति सार्वजनिक गरिएको हो ।

अहिले ८.२५ मेगावाट विद्युत् उत्पादन भइरहेको कर्णालीमा आगामी ५ वर्षभित्र २ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ । अहिले ६७.५ प्रतिशत परिवार विद्युत्को पहुँचमा रहेको भन्दै प्रदेश सरकारले २०८० सम्म ९० प्रतिशत परिवारमा बिजुली पुर्‍याउने लक्ष्य राखेको हो । यस्तै, योजनामा ५ वर्षभित्र कर्णालीको बहुआयामिक गरिबी आधा घटाउने लक्ष्य समावेश गरिएको छ । अहिले ५१.२ प्रतिशत गरिबी रहेको कर्णालीमा ५ वर्षभित्र उक्त दर २५ प्रतिशतमा झार्ने रोकायाले बताए । उनका अनुसार २५ वर्षभित्र उक्त गरिबीलाई ३ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।

अहिले ६६ प्रतिशत साक्षरता रहेको प्रदेशमा ५ वर्षभित्र ९५ प्रतिशत पुर्‍याउने लक्ष्य सार्वजनिक गरिएको हो । जसअनुसार ८२ प्रतिशत रहेको युवा साक्षरता ९९ प्रतिशत पुर्‍याउने र बेरोजगारी दर ६ प्रतिशतमा झार्ने लक्ष्य प्रदेश सरकारले राखेको छ । यस्तै, ५ वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३५ पुर्‍याउने, मातृमृत्युदर (प्रतिलाख जीवित जन्ममा) १ सय २५ मा झार्ने योजना पुस्तिकामा उल्लेख छ ।

गत वर्ष पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरिएको थियो । ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’को सोच पूरा गर्न समृद्धिका ५ र सुखारीका ७ गरी १२ वटा लक्ष्य तय गरिएको छ । जसमा ६ वटा प्रदेश रणनीति तय गरिएको सदस्य डा. रोकायाले बताए । उनका अनुसार ७ वटा प्राथमिकता क्षेत्र र १० वटा कर्णाली समृद्धिको सम्बाहक पनि पहिचान गरिएको छ ।

पूर्वाधारमा झण्डै ७७ अर्ब बजेट

प्रदेश सरकारले भौतिक पूर्वाधार विकासतर्फका विभिन्न योजनामा ७६ अर्ब ९५ करोड रुपैयाँ लागत अनुमानसहित प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरेको हो । जसअन्तर्गत यातायततर्फ ४० अर्ब, ऊर्जातर्फ १२ अर्ब, बस्ती विकासतर्फ ८ अर्ब र सिँचाइका लागि ७ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ ।

खानेपानी तथा सरसफाइतर्फ ७ अर्ब, सूचना तथा सञ्चारमा १ अर्ब, आर्थिक क्षेत्रतर्फ ३२ अर्ब र पर्यटनमा ९ अर्ब र उद्योगमा ८ अर्ब रुपैयाँ अनुमान गरिएको रोकायाले बताए । योजना सार्वजनिक कार्यक्रममा बोल्दै महेन्द्रबहादुर शाहीले विकास सबैको साझा एजेण्डा भएको बताए । उनले लगानी भित्र्याउन बजेटको सही ठाउँमा सदुपयोग गरिने जनाए । ‘लगानीका लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको दायित्व हो,’ उनले भने, ‘यसका लागि सबै एक ठाउँमा उभिन आवश्यक छ ।’

प्रकाशित : चैत्र ५, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?