३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थलिए ‘सुइना कर्णालीका’का कलाकार

दुई वर्षदेखि रोगले थलिएका लेखक तथा कलाकार मल्लको उपचारमा खर्च अभाव
राजबहादुर शाही

मुगु — सुमन मल्लले ‘सुइना कर्णालीका’ नाटकमार्फत कर्णालीको स्वर्णिम सपना संसारलाई सुनाए । ‘कर्णाली दख्खिन बग्दो छ’ झन् बेजोड नाटकको रुपमा चर्चित बन्यो, जसले कर्णालीको कथाव्यथा बाहिर ल्यायो ।

थलिए ‘सुइना कर्णालीका’का कलाकार

दलित समुदायको पीडा प्रस्तुत गरिएको ‘सुइना कर्णालीका’मा हुड्के बनेर उनले दर्शकको वाहवाही पाए ।उनी कर्णालीलाई थप नाटक दिन चाहन्थे । तर उनको त्यो सपना अहिले ओछ्यानमा थला परेको छ । कर्णालीको कला क्षेत्रमा अमूल्य सम्पदा बनेका यिनै दुई नाटकका लेखक तथा कलाकार मल्ल २ वर्षदेखि थला परेका छन् ।

मधुमेह र उच्च रक्तचापबाट थलिएका ४१ वर्षीय उनी उपचार खर्च नहुँदा आँगनबाट बाहिर निस्किन सकेका छैनन् । रोगका कारण उनको शरीर गल्दै गएको छ । ‘सुगर र ब्लड प्रेसरले घरबाट बाहिर निस्कन सक्दिनँ,’ उनले भने, ‘रोगकै कारण पटकपटक बेहोस भएको छु ।’ पुसदेखि हाडजोर्नी दुख्ने समस्यासमेत बल्झिएको उनले बताए ।

उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै नेपालगन्ज र काठमाडौंसम्म पुगे पनि स्वास्थ्यमा सुधार नआएको मल्लकी श्रीमति गंगादेवीले बताइन् । निरन्तर औषधि सेवन गरे पनि सञ्चो नहुँदा घरेलु उपचार पनि जारी राखेको उनको भनाइ छ । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भयो,’ उनले भनिन्, ‘रकम नहुँदा महँगो अस्पतालमा लगेर उपचार गराउन सकिएको छैन ।’ आमासहित ६ जनाको परिवारको पालनपोषण गर्ने मल्ल आफै बिरामी परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताइन् । आर्थिक समस्याकै कारण दुई छोरी र एक छोराको पठनपाठनमा पनि कठिनाइ देखिएको छ ।

नेपालगन्जमा उपचार गर्न जाँदा छायानाथरारा नगरपालिकाले ५० हजार सहयोग गरेको थियो भने जुम्लामा उपचार गर्दा स्थानीय पत्रकारले खर्च जुटाइदिएका थिए । दुई महिनाअघि हङकङ ठकुरी सहयोग समाजमार्फत धिरजंग शाहीले उनको उपचारका लागि एक लाख रुपैयाँ संकलन गरेका थिए । ‘आफन्त र साथीभाइले सहयोग गरे औषधि किन्छु,’ मल्लले भने, ‘कहिलेकाही औषधि किन्न नसक्दा घरेलु उपचारको भर पर्नुपरेको छ ।’

नेपाल पत्रकार महासंघ मुगुका पूर्वअध्यक्षसमेत रहेका उनी नागरिक दैनिक, रारा रैबार अनलाइन र रेडियो मुगुमा समेत आबद्ध थिए । अहिले रोगकै कारण पत्रकारिता पेशाबाट निस्क्रिय छन् । ‘कलम नसमातेको पनि दुई वर्ष भयो,’ उनले भने, ‘दिमागले काम गर्नै छोडेपछि नाटक लेख्न पनि छोडें ।’ नाटक र समाचारमार्फत कर्णालीको पीडा उजागर गर्ने मल्लको जीवन रक्षाका लागि सहयोग गर्न महासंघका संस्थापक अध्यक्ष विनोद मल्लले आग्रह गरे ।

प्रकाशित : चैत्र ३, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?