बादी समुदाय १० दिनदेखि भोकभोकै धर्नामा- कर्णाली - कान्तिपुर समाचार

बादी समुदाय १० दिनदेखि भोकभोकै धर्नामा

ज्योति कटुवाल

वीरेन्द्रनगर — आफूहरूको मागप्रति सरकार गम्भीर नभएको बादी समुदायका व्यक्तिले गुनासो गरेका छन् । जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादीहरू १० दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि खुला चौरमा १० दिनदेखि धर्नामा बसेका कर्णालीका बादी समुदाय । तस्बिर : ज्योति कटुवाल/ कान्तिपुर

आफूहरू भोकभोकै धर्नामा बसे पनि प्रदेश सरकारले बेवास्ता गरेको बादी अगुवा हिक्मत बादीले बताए । ‘१० दिनदेखि खुला आकाशमा रात बिताइरहेका छौं,’ उनले भने, ‘पेटभरि खान नपाएको ५ दिन भयो ।’

मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा झन्डै ४ सय बादी समुदायका व्यक्ति धर्नामा बसिरहेका छन् । सीप बेचेर खान्छौं भन्दा पनि सरकारले जग्गा र बसोबासको व्यवस्था गर्न नसकेको दैलेखको दुल्लु नगरपालिकाकी भूमिका बादीले बताइन् । ‘राउटेलाई जग्गा दिन तयार प्रदेश सरकारले हामीलाई हेला गर्‍यो,’ उनले भनिन्, ‘घरजग्गा नहुँदा परिवार पाल्न मुस्किल भयो, जग्गा मात्रै दिए पनि खेती गरेर खान्थ्यौं ।’

जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने सबै बादी अगुवाको अडान छ । निर्वाचनका बेला दलहरूले पुर्जा दिन्छौं भनेर भोट मागे पनि अहिले बेवास्ता गरेको अर्का अगुवा प्रकाश बादीले बताए । ‘जितेपछि नेताहरू फर्केर आएनन्,’ उनले भने, ‘उनीहरूलाई चुनावी नारा सम्झाउन पनि आन्दोलन थालेका हौं ।’

प्रदेश सरकारसँग जीविकोपार्जनको विकल्प माग्न सुर्खेत आइपुगेको ६० वर्षीया लक्ष्मी बादीले बताइन् । ‘काम गर्न जग्गा छैन, मजदुरी पनि पाइँदैन,’ उनले भनिन्, ‘अझै कति दिन सहेर बस्ने ? सरकारले जग्गा नदिएसम्म गाउँ जाँदैनौं ।’ उनका अनुसार धर्नामा बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरीसमेत सहभागी छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जग्गा प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले संघीय र स्थानीय सरकारसँग माग गर्न अनुरोध गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने बादी समुदायलाई अरू सबै सहयोग गरे पनि जग्गा दिन नसकिने बताएका छन् ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

भारत बायोटेकको कोरोना खोप '८१ प्रतिशत प्रभावकारी'

कोभ्याक्सिन बेलायतमा देखिएको नयाँ कोरोनाविरूद्ध पनि काम गर्ने उत्पादक कम्पनीको दाबी 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारत बायोटेकले कोभ्याक्सिन खोपको प्रभावकारिता ८१ प्रतिशत रहेको दाबी गरेको छ । बुधबार तेस्रो चरणको क्लिनिकल ट्रायल (मानव परीक्षण) को नतिजा सार्वजनिक गर्दै कम्पनीले त्यस्तो दाबी गरिएको हो ।

भारतको अहमदाबादमा बुधबार कोरोना भाइरविरुद्धको खोप लगाउँदै स्थानीय । भारत सरकारले सोमबारदेखि सुरु गरेको दोस्रो चरणको खोप अभियानमा ६० वर्षभन्दा बढी उमेरका र जटिल रोगबाट पीडित ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन थालिएको हो । तस्बिर : एपी


कम्पनीले कोभ्याक्सिन बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुनेसमेत दाबी गरेको छ ।

‘दोस्रो डोजपछि यसअघि संक्रमित नभएकाहरूमा पनि भाइरसको रोकथाममा कोभ्याक्सिनले ८१ प्रभावकारिता देखाएको छ,’ कम्पनीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । कम्पनीका अनुसार गत नोभेम्बर अन्त्यदेखि सुरु गरिएको परीक्षणमा २५ हजार ८ सयभन्दा बढी सहभागी भएका थिए । जसमा १८ देखि ९८ वर्ष उमेरका मानिस थिए । परीक्षण विभिन्न समूह बनाएर २५ वटा स्थानमा गरिएको जनाइएको छ । त्यसैगरी, ६० वर्षभन्दा माथिका २ हजार ४ सय ३३ जना र विभिन्न जटिल रोगका पीडित ४ हजार ५ सय ३३ जना परीक्षणमा सहभागी भएको समेत कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी कम्पनीले बेलायतमा देखिएको नयाँ किसिमको भाइरसका लागि पनि खोप प्रभावकारी देखिएको दाबी गरेको छ । ‘राष्ट्रिय संक्रमण रोग केन्द्रको विश्लेषणमा खोप लगाएपछि बनेका एन्टिबडीले बेलायतमा देखिएको र अन्य किसिमको भाइरसको असर कम गरेको संकेत गरेको छ,’ कम्पनीले भनेको छ ।

भारत बायोटेक भारतमा कोरोनाविरुद्धको खोपको प्रयोग गर्ने अनमुति पाउने दुई कम्पनीमध्ये एक हो । भारत सरकारले हालसम्म कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई मात्र आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले तथा कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो ।

कोभिसिल्डको उत्पादक पुनाको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन भने हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक सेरमसँग मासिक १० करोड खोप उत्पादन गर्ने क्षमता छ भने बायोटेकले भने मासिक करिब ३ करोड खोप उत्पादन गर्न सक्ने बताइएको छ ।

भारत बायोटेकले तेस्रो चरणको मानव परीक्षण नटुंग्याएका कारण त्यसलाई सीमित प्रयोजनका लागि मात्र आपत्–कालीन प्रयोगको अनुमति दिइएको थियो । जसले आपत्कालीन अनुमति पाए पनि तेस्रो चरणको क्लिनिकल ट्रायलको डाटा पेस नगरेको भन्दै कोभ्याक्सिनको प्रभावकारितामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो । कम्पनी र भारत सरकार भने त्यस किसिमको आशंकालाई अस्वीकार गर्दै आएका थिए । त्यही आशंका कारण नै ३ माघदेखि सुरु भएको खोप अभियानमा कोभ्याक्सिनको प्रयोग निकै न्यून रहेको छ । त्यसैगरी अन्य मुलुकले पनि कोभिसिल्डमै जोड दिँदै आएका थिए । जसले गर्दा भारतले अन्य मुलुकहरूलाई अनुदान दिँदासमेत सिरमद्वारा उत्पादित कोभिसिल्ड नै प्राथमिकतामा राख्दै आएको छ ।

भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप पनि सिरमद्वारा उत्पादित कोभिसिल्डकै हो । त्यसैगरी नेपाल सरकारले थप २० लाख डोज खोप पनि सिरमबाटै किन्ने निर्णय गरिसकेको छ ।

जब कि भारत सरकारले भने आमनागरिकमा स्वदेशमा विकास गरिएको कोभ्याक्सिनप्रति विश्वास जगाउन विभिन्न प्रयाससमेत गर्दै आएको छ । गत सोमबार प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले कोभ्याक्सिन खोप लगाएका थिए । सोमबारदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत मोदी र अन्य मन्त्रीहरूले खोप लगाएका हुन् । भारतमा बुधबारसम्ममा १ करोड ११ लाख ३९ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

त्यसमध्ये १ लाख ५७ हजार ३ सय ४६ को मृत्यु भएको छ । १ करोड ८ लाख १२ हजारभन्दा बढी निको भइसकेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्र १४ हजार ९ सय ८९ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । ९९ जनाको ज्यान गएको छ । त्यसैगरी बुधबारसम्ममा १ करोड ४८ लाख ५४ हजारभन्दा बढी भारतीयले खोप लगाएका छन् । भारत सरकारले आगामी जुलाई महिनासम्म २७ करोडलाई खोप लगाउने लक्ष्य राखेको छ ।

प्रकाशित : फाल्गुन २०, २०७७ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×