कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भवन अभावमा चौरमै परीक्षा

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयमा भवन अभावमा चौरमै अर्धवार्षिक परीक्षा सञ्चालन गरिएको छ । विद्यार्थीको चापका कारण कक्षाकोठामा सबै विद्यार्थी नअटाएपछि चौरमै परीक्षा गराउन थालिएको हो ।

भवन अभावमा चौरमै परीक्षा

कक्षाकोठाभित्र सिट व्यवस्थापन गर्न समस्या भएपछि चौरमै परीक्षा भइरहेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘एउटा कक्षा ३० देखि ४० जना विद्यार्थी राख्नुपर्छ,’ उनले भने, ‘भित्र ठाउँ नपुगेपछि चौरमै परीक्षा गराइरहेका छौं ।’ उनका अनुसार विद्यालयमा ३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन् ।

खत्याडकै रोवास्थित प्रभात मावि, रातापानीस्थित महादेव मष्टा मावि, नाथर्पुस्थित ज्योति माविलगायत विद्यालयमा पनि चौरमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । हरेक वर्ष विद्यार्थीको चाप बढे पनि भवनलगायत संरचना नथपिँदा समस्या भएको जनज्योति माविका प्रधानाध्यापक सुवास रावलले बताए । ‘हावाहुरी चल्दा वा पानी पर्न लाग्दा विद्यार्थीलाई कक्षाकोठाभित्र लैजानुपर्ने बाध्यता छ,’ उनले भने, ‘चर्को घाममा परीक्षा गराउँदा विद्यार्थी सास्ती भोग्न बाध्य छन् ।’ चौरको धुलोमा बसेर परीक्षा दिँदा विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिएको उनले बताए ।

कोरोना महामारीका कारण झण्डै ९ महिना विद्यालय बन्द भएपछि मुगुमा सामुदायिक विद्यालयले धमाधम अर्धवार्षिक परीक्षा गराइरहेका छन् । मुगुमा गत आर्थिक वर्षदेखि १६ विद्यालयको भवन निर्माण थालिए पनि बजेट अभावमा २ वटा मात्र पूरा भएको सामाजिक विकास कार्यालयले जनाएको छ । यो वर्ष थप बजेट नआउँदा १४ विद्यालय भवन अलपत्र परेको कार्यालय प्रमुख लोकप्रसाद पौडेलले बताए ।

हावाले छानो उडायो

छायानाथरारा नगरपालिका–६ लिउडीस्थित मष्टा आधारभूत विद्यालयको भवन हावाहुरीले उडाएको छ । गत बुधबार दिउँसो चलेको हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन् । छाना मर्मत गर्ने रकम नहुँदा विद्यार्थीलाई चौरमा राखेर पढाइरहेको प्रधानाध्यापक तुलबहादुर कार्कीले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?