कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एक सातादेखि बादी समुदाय धर्नामा

बेवास्ता गरेको भन्दै मुख्यमन्त्री कार्यालयको गेट तोडफोड
ज्योति कटुवाल

वीरेन्द्रनगर (सुर्खेत) — जग्गा र उचित बसोबासको माग गर्दै कर्णालीका बादी समुदाय सात दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्नामा बसेका छन् । आफूहरुको मागप्रति बेवास्ता भएको भन्दै उनीहरुले आइतबार मुख्यमन्त्री कार्यालयको गेट तोडफोड गरे ।

एक सातादेखि बादी समुदाय धर्नामा

मागप्रति प्रदेश र संघीय सरकारले बेवास्ता गरेको उनीहरुको गुनासो छ । दैलेखबाट चार दिन पैदल हिँडेर धर्ना बस्न आएका बादी अगुवा हिक्मत बादीले वार्ता सफल हुन नसकेको बताए । ‘सात दिनदेखि खुला आकाशमा रात बिताइरहेका छौं,’ उनले भने, ‘तर पनि हाम्रो मागप्रति सरकार गम्भीर भएन ।’ उनले आन्दोलन थप सशक्त बनाउने तयारी भइरहेको बताए ।

सीप बेचेर खान्छौं भन्दा पनि सरकारले जग्गा र बसोबासको व्यवस्था गर्न नसकेको दैलेखको दुल्लु नगरपालिकाकी भूमिका बादीले बताइन् । ‘राउटेलाई जग्गा दिन तयार भएको प्रदेश सरकारले हामीलाई हेला गर्‍यो,’ उनले भनिन्, ‘घरजग्गा नहुँदा परिवार पाल्न मुस्किल भयो, जग्गा मात्रै दिए पनि खेती गरेर खान्थ्यौं ।’ सात दिनदेखि राम्ररी खान र सुत्न नपाएको उनले गुनासो गरिन् ।

जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने सबै अगुवाको अडान छ । निर्वाचनका बेला दलहरुले पूर्जा दिन्छौं भनेर भोट मागे पनि अहिले बेवास्ता गरेको अर्का अगुवा प्रकाश बादीले बताए । ‘जितेपछि नेताहरु फर्केर गएनन्,’ उनले भने, ‘उनीहरुलाई चुनावी नारा सम्झाउन पनि आन्दोलन थालेका हौं ।’ उनका अनुसार मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा झण्डै ४ सय बादी समुदायका व्यक्तिहरु धर्नामा बसिरहेका हुन् ।

प्रदेश सरकारसँग जीविकोपार्जनको विकल्प माग्न सुर्खेत आइपुगेको ६० वर्षीया लक्ष्मी बादीले बताइन् । ‘काम गर्न जग्गा छैन, न मजदुरी नै पाइन्छ,’ उनले भनिन्, ‘अझै कति दिन सहेर बस्ने, सरकारले जग्गा नदिएसम्म गाउँ जाँदैनौं ।’ उनका अनुसार धर्नाका लागि बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरी महिलासमेत आएका छन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी जग्गा प्रदेश सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले संघीय र स्थानीय सरकारसँग माग गर्न अनुरोध गरिएको बताए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई अरु सबै सहयोग गरे पनि जग्गा दिन नसकिने बताए ।

प्रकाशित : फाल्गुन १६, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?