कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कर्णाली करिडोर : १ सय २२ किमि ट्रयाक खुल्यो

राजबहादुर शाही

मुगु — कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको बालुकुनासम्म १ सय २२ किलोमिटर सडकको ट्रयाक खुलेको छ । खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको १ सय २३ किलोमिटरमध्ये अब एक किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ ।

कर्णाली करिडोर : १ सय २२ किमि ट्रयाक खुल्यो

२०७१ चैतदेखि नेपाली सेनाले सडक निर्माणको काम थालेको थियो । निर्माणको जिम्मा लिएको ७ वर्षमै १ सय २२ किमि सडक निर्माणको काम पूरा भएको कार्यदलका प्रमुख (सेनानी) मिलन कार्कीले बताए । ‘बाँकी १ किलोमिटर सडकको काम आगामी वैशाखसम्म सक्ने योजना छ,’ उनले भने, ‘लक्ष्यअनुसार काम भए चालू आर्थिक वर्षभित्रै सडक सरकारलाई हस्तान्तरण गर्छौं ।’ उनका अनुसार ट्रयाक निर्माणको काम पूरा भएपछि केही ठाउँमा सडक चौडा बनाउने, टेवा पर्खाल लगाउनेलगायत काम हुनेछन् ।

अहिले कालीकोटको खुलालुदेखि हुम्ला बालुकुनासम्मको १ सय २१ किलोमिटर सडकमा जिप र साना सवारी साधन सञ्चालन भइरहेको सेनानी कार्कीले बताए । उनका अनुसार यातायात सञ्चालन भएपछि कालीकोट, हुम्ला, मुगु र बाजुराका बासिन्दाको आवतजावत सजिलो भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी सडक बनेको छ । करिडोरको ट्रयाक खुलेपछि नेपालगन्ज, सुर्खेतलगायतका ठाउँ आउजाउ गर्न धेरै सुविधा पुगेको सोरु गाउापालिका–४ का अंगबहादुर शाहीले बताए । ‘सडक निर्माणले रोजगारी पनि पाएका छौं,’ उनले भने, ‘कृषिजन्य सामग्रीले सजिलै भाउ र बजार पाएको छ ।’

हुम्लाको सरिसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटरमध्ये ३५ किमि सडक निर्माणको काम सडक डिभिजन र स्थानीय तहमार्फत भइरहेको छ । अब करिडोरको १६ किलोमिटर मात्र ट्रयाक खुल्न बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । बाँकी रहेको १६ किलोमिटर सडक निर्माणको काम पनि सेनाले गरे करिडोर छिट्टै सञ्चालनमा आउने सर्केगार्ड गाउँपालिका उपाध्यक्ष जोशी धामीले बताए । ‘सेनालाई जिम्मा दिए काम छिटो हुन्थ्यो,’ उनले भने, ‘हामीले पनि निर्माणलाई तीव्रता दिइरहेका छौं ।’ उनका अनुसार अहिले उक्त सडक खण्डमा करिब २ सय ५० जना दक्ष कामदार खटिएका छन् । उक्त खण्डमा पनि विष्फोटनको जिम्मा सेनालाई नै दिइएको उनले जानकारी दिए ।

कार्यदलका अनुसार अहिलेसम्म करिडोर निर्माणको काममा खटिएका ६ जनाले ज्यान गुमाइसकेका छन् । कालिकोटमा ४ र हुम्ला खण्डमा २ जनाको सडक निर्माणका क्रममा ज्यान गएको थियो । मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिइएको सेनाले जनाएको छ । करिडोर निर्माणमा २ अर्ब ८४ करोडको बजेट प्रस्ताव गरिए पनि अहिलेसम्म १ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँबाट सडक निर्माणको काम चलिरहेको कार्कीले बताए ।

५ ठाउँमा बेलीब्रीज

कर्णाली करिडोरअन्तर्गत विभिन्न ५ ठाउँमा नेपाली सेनाले ५ वटा बेलीब्रीजसमेत निर्माण गरेको छ । एउटा बेलीब्रीजको निर्माणको काम जारी रहेको सडक निर्माण कार्यदलले जनाएको छ । कालिकोट खण्डमा २, बाजुरा खण्डमा १ र हुम्लामा २ वटा पुल निर्माणको काम सकिएको सेनानी कार्कीले बताए । उनका अनुसार कालीकोटको खुलालुमा पुल निर्माणको काम जारी छ । हुम्लाको सरिल्लास्थित कर्णाली नदीमा भने सडक डिभिजन कार्यालयले बेलीब्रीज निर्माण गरिरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?