१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सामुदायिक वनमा आगलागी

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका–४ स्थित परिवन सामुदायिक वनमा आगलागी हुँदा झण्डै २ सय हेक्टर वन क्षेत्र नष्ट भएको छ । शुक्रबार दिउँसो हलनीबाट सल्किएको आगोले वनमा लगाइएका सल्लो, गुराँस बाँझ, धुपीलगायतका करिब ८ हजार रुखमा क्षति पुर्‍याएको हो ।

सामुदायिक वनमा आगलागी

वनमा लागेको आगो आइतबार बिहान मात्र नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयबाट आगो निभाउन प्राविधिक मगाइए पनि बेवास्ता भएपछि स्थानीयले आगो नियन्त्रणमा लिएको वडाध्यक्ष विष्णुकुमार भामले बताए । उनका अनुसार साउन दोस्रो साता पनि आगलागी भएपछि उक्त सामुदायिक वनको झण्डै १ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको थियो । ‘पटकपटक आगो लागेपछि वन क्षेत्र जोगाउन मुस्किल भयो,’ उनले भने, ‘सामुदायिक वन हुँदै हिँडडुल गर्ने बटुवाले चुरोटको ठुटो जथाभावी फाल्दा आगलागी भएको अनुमान छ ।’

सामुदायिक वनको अधिकांश क्षेत्र आगोले नष्ट भएपछि भामबाडा, श्रीनगर, कालापाल्त, बालै, जुकेनलगायत गाउँका बासिन्दालाई बस्तुभाउ चराउन समस्या भएको भामबाडाका मोहन रावलले बताए ।

‘घाँसदाउरा गर्न पनि समस्या भयो,’ उनले भने, ‘आगलागीका कारण गुच्ची च्याउलगायत बहुमुल्य जडिबुटीसमेत नष्ट भए ।’ पटकपटक आगलागी हुँदा वन्यजन्तु संकटमा परेको उनको भनाइ छ । आगलागी नियन्त्रणदेखि उपभोगसम्मको सबै अधिकार सामुदायिक वनकै भएको डिभिजन वन कार्यालय प्रमुख भरत बुढथापाले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?