नेकपाभित्रको कलहले कर्णाली प्रदेशसभा बैठक अनिश्‍चित

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — नेकपाभित्रको कलहका कारण कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत वर्ष यतिबेला कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको मिति तोकिइसकिएको थियो । यस वर्ष भने सरकारले हिउँदे अधिवेशनको तयारी नै थालेको छैन ।

नेकपाभित्रको कलहले कर्णाली प्रदेशसभा बैठक अनिश्‍चित

प्रदेशसभाको बजेट अधिवेशन गत कात्तिक ९ गते अन्त्य भएको थियो । एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

गत वर्ष पनि कोरोना महामारीका कारण एक महिनामा ६ वटा बैठक मात्रै बसेर विधेयक अधिवेशन अन्त्य भएको थियो । विभिन्न संसदीय समितिमा रहेका ८ वटा विधेयक पारित गर्ने कार्यतालिका रहे पनि उक्त अधिवेशनले कानुनहरू निर्माण गर्न सकेन । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभा सदस्यहरूले चाहेमा विशेष अधिवेशन बोलाउन सकिने व्यवस्था छ । ‘हामी त बैठक व्यवस्थित गर्ने विषयकै तयारीमा छौं,’ उनले भने, ‘तर सरकारबाट अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले अधिवेशनलाई जति सक्यो पर नै सार्न खोजिरहेको बताए । प्रदेश सरकार आफ्नो पार्टी खोज्नतिर व्यस्त रहेकाले अधिवेशनतर्फ ध्यान नदिएको उनको भनाइ छ । ‘उनीहरूलाई त जति सार्‍यो उति आनन्द आइरहेको छ,’ उनले भने, ‘छिट्टै अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिन्छौं ।’

प्रदेशसभा सचिवालयका अनुसार हालसम्म ५१ विधेयक दर्ता भएका छन् । यीमध्ये ३६ वटा विधेयक सभाबाट पारित भई प्रमाणीकरणसमेत भएका छन् । दर्ता भएकामध्ये तीनवटा विधेयक फिर्ता भएका छन् । कर्णाली प्रदेश विनियोजन विधेयक (पहिलो संशोधन), प्रदेशमा घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयक र सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक फिर्ता भएका हुन् । गत असोजयता मात्रै प्रदेशसभामा पाँचवटा विधेयक दर्ता भएको सचिवालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?