कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाग्मा–गमगढी सडक : बजेट अभावले स्तरोन्नति रोकियो

ग्राभेलका लागि २० करोड र कालोपत्रे गर्न ३ अर्ब रुपैयाँ आवश्यक
राजबहादुर शाही

मुगु — बजेट अभावले कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडकको स्तरोन्नतिको काम प्रभावित भएको छ । संघीय सरकारले सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख रुपैयाँ विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।

नाग्मा–गमगढी सडक : बजेट अभावले स्तरोन्नति रोकियो

बजेट सकिएपछि संघीय सरकारले दोस्रो चरणमा ५ करोड रुपैयाँ छुट्याएको थियो । उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । ‘स्टमेटअनुसार काम भएको छैन,’ सडक डिभिजन प्रमुख लिला भण्डारीले भने,‘तर बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै भयो ।’ बजेट अभावले ठेकेदारलाई १२ करोड रुपैयाँ भुक्तानी गर्न समस्या भएको उनले बताए । उनका अनुसार गमगढी–नाग्मा सडक खण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणको लागि मात्रै २० करोड रुपैयाँ आवश्यक छ ।

३४ किलोमिटरमा ग्राभेल

चालू आर्थिक वर्षमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । गमगढीदेखि नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ/थोकेर, हिरा/नमिता, खड्का कृष्ण/गाल्वा, बानियाँ र शंकर निर्माण सेवाले लिएका छन् । चालु आर्थिक वर्षभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन प्रमुख भण्डारीले बताए ।

१० ठाउँमा आरसीसी पुल

चालू आर्थिक वर्षमा सडकको १० ठाउँमा आरसीसी पुल निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङलासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो । जसका लागि ८० करोड रुपैयाँ आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए । उनका अनुसार गमगढी–नाग्मा सडक कालोपत्रे गर्न संघीय सरकारसँग ३ अर्ब रुपैयाँ बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न सुरु भएको ९ वर्षपछि सरकारले स्तरोन्नतिको काम सुरु गरेको थियो । २०६९ सालदेखि मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयबासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको रेडक्रस सभापति जयबहादुर मल्लले बताए । उनका अनुसार वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

नाक्चेनाङ्ला सडक निर्माण अलपत्र

मुगुलाई तिब्बतसँग जोड्न गमगढी–नाक्चेनाङ्ला सडक निर्माणको काम सुरु गरिए पनि निर्माणको काम लामो समयदेखि अलपत्र छ । २०६३ सालदेखि निर्माण थालिएको सडकमा अहिलेसम्म १७ किमि मात्र ट्रयाक खोलिएको छ ।

निर्माणको काम सक्न अझै ६३ किलोमिटर सडक बन्नुपर्ने डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष सडकका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । बिनियोजित रकम सकिएपछि ठेकेदारलाई १ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको डिभिजन प्रमुख भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन ३, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?