नाग्मा–गमगढी सडक : बजेट अभावले स्तरोन्नति रोकियो- कर्णाली - कान्तिपुर समाचार

नाग्मा–गमगढी सडक : बजेट अभावले स्तरोन्नति रोकियो

ग्राभेलका लागि २० करोड र कालोपत्रे गर्न ३ अर्ब रुपैयाँ आवश्यक
राजबहादुर शाही

मुगु — बजेट अभावले कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडकको स्तरोन्नतिको काम प्रभावित भएको छ । संघीय सरकारले सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख रुपैयाँ विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माणको काम रोकिएको हो ।

बजेट सकिएपछि संघीय सरकारले दोस्रो चरणमा ५ करोड रुपैयाँ छुट्याएको थियो । उक्त रकम पनि सकिएपछि निर्माणको काम ठप्प भएको हो । ‘स्टमेटअनुसार काम भएको छैन,’ सडक डिभिजन प्रमुख लिला भण्डारीले भने,‘तर बजेट सकिएपछि ग्राभेल र ढल निकासको काम अधुरै भयो ।’ बजेट अभावले ठेकेदारलाई १२ करोड रुपैयाँ भुक्तानी गर्न समस्या भएको उनले बताए । उनका अनुसार गमगढी–नाग्मा सडक खण्डको ग्राभेल, ढल निकास र टेवा पर्खाल निर्माणको लागि मात्रै २० करोड रुपैयाँ आवश्यक छ ।

३४ किलोमिटरमा ग्राभेल

चालू आर्थिक वर्षमा गमगढी–नाग्मा सडकको ३४ किलोमिटर सडक ग्राभेलको काम सकिएको छ । बजेट अभावले ५९ किलोमिटर ग्राभेल गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय, जुम्लाले जनाएको छ । गमगढीदेखि नाग्मासम्मको सडक स्तरोन्नतिको कामको जिम्मा हिम्दुङ/थोकेर, हिरा/नमिता, खड्का कृष्ण/गाल्वा, बानियाँ र शंकर निर्माण सेवाले लिएका छन् । चालु आर्थिक वर्षभित्रै सडक ग्राभेल गर्ने लक्ष्य भए पनि बजेट अभावमा समस्या भएको सडक डिभिजन प्रमुख भण्डारीले बताए ।

१० ठाउँमा आरसीसी पुल

चालू आर्थिक वर्षमा सडकको १० ठाउँमा आरसीसी पुल निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नाग्मा–गमगढी हुँदै तिब्बतको नाक्चेनाङलासम्मको सडकमा पुल निर्माण गर्न लागिएको हो । जसका लागि ८० करोड रुपैयाँ आवश्यक पर्ने डिभिजन प्रमुख भण्डारीले बताए । उनका अनुसार गमगढी–नाग्मा सडक कालोपत्रे गर्न संघीय सरकारसँग ३ अर्ब रुपैयाँ बजेट माग गरिएको छ । सडकमा यातायातका साधन चल्न सुरु भएको ९ वर्षपछि सरकारले स्तरोन्नतिको काम सुरु गरेको थियो । २०६९ सालदेखि मुगु राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयबासी र रारा आउने पर्यटकले लामो समयदेखि सास्ती भोगिरहेको रेडक्रस सभापति जयबहादुर मल्लले बताए । उनका अनुसार वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

नाक्चेनाङ्ला सडक निर्माण अलपत्र

मुगुलाई तिब्बतसँग जोड्न गमगढी–नाक्चेनाङ्ला सडक निर्माणको काम सुरु गरिए पनि निर्माणको काम लामो समयदेखि अलपत्र छ । २०६३ सालदेखि निर्माण थालिएको सडकमा अहिलेसम्म १७ किमि मात्र ट्रयाक खोलिएको छ ।

निर्माणको काम सक्न अझै ६३ किलोमिटर सडक बन्नुपर्ने डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो वर्ष सडकका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ । बिनियोजित रकम सकिएपछि ठेकेदारलाई १ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको डिभिजन प्रमुख भण्डारीले बताए ।

प्रकाशित : फाल्गुन ३, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्

११ वर्षमुनिका २९ लाख बालबालिकालाई दैनिक १५ रुपैयाँको दिवा खाजा

पन्ध्र रुपैयाँमा के खाजा खुवाउने अन्योलमा छौं : प्रधानाध्यापक
गणेश राई

काठमाडौँ — प्रारम्भिक बाल कक्षादेखि कक्षा पाँचसम्म पढ्ने हरेक बालबालिकाले विद्यालयमा दिवा खाजाको व्यवस्था भएको छ । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको निम्ति दिवा खाजाको व्यवस्था गरिएको हो ।

बालबालिकालाई दिवा खाजा खुवाइदै ।  तस्बिर सौजन्य : शिक्षा मन्त्रालय ।

गाउँपालिका र नगरपालिकामार्फत् विद्यालयलाई खाजाबापत रकम उपलब्ध गराइने छ । कोभिड–१९ ले गर्दा भरखरैमात्र खुलेका विद्यालयले आन्तरिक स्रोतबाट बालबालिकालाई दिवा खाजा खुवाउन थालेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू सत्रका निम्ति २९ लाख ४० हजार ७ सय ८९ बालबालिकालाई दिवा खाजा उपलब्ध गराउने लक्ष्य राखेको छ । प्रत्येक विद्यार्थीलाई १ सय ८० दिनका निम्ति खाजाको व्यवस्था गरिएको छ । विद्यार्थीले कक्षामा उपस्थित भएको दिनमात्र खाजा खान पाउने छन् । खाजा बापतको रकम लिन पाउने छैनन् ।

शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बढाउन, सिकाइ स्तर सुधार तथा गुणस्तरीय आधारभूत शिक्षामा समतामूलक पहुँच बढाउने उद्देश्यले दिवा खाजा कार्यक्रम ल्याइएको हो । दिवा खाजाका निम्ति चालू आर्थिक वर्ष २०७७/७८ का निम्ति ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ बजेट छुट्टाइएको छ । ‘स्थानीय कृषि उत्पादनका अन्नबालीबाट खाजा बनाएर बालबालिकालाई दिवा खाजा खुवाउनु मुख्य उद्देश्य हो,’ ११ वर्षमुनिका बालबालिका लक्षित दिवा खाजा कार्यक्रमबारे शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले भने,‘यो सुरुवात हो । अबदेखि कम्तिमा बालबालिका भोकभोकै बस्नु पर्दैन । थोरै भएपनि कक्षामै बसेर खाजा खान पाउँछन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिंदा पूँजीसमेत जनस्तरमा जोडिन्छ ।’

विद्यालयले बालबालिकालाई साताभरि हरेक दिन फरक-फरक किसिमको खाजा खुवाउनु पर्नेछ । उच्च हिमाल, पहाड, तराई, पूर्व, मध्य, पश्चिम गरी क्षेत्रगत आधारमा ६० प्रकारका खाजाको तालिका (मेनु) बनाइएको छ । तालिकाअनुसार स्थानीय क्षेत्रमा उत्पादन भएका अन्नबाट विभिन्न परिकार बनाएर खुवाउनु पर्नेछ । जसमा पोषिलो जाउलो, मकैको खिर, चिनोको खिर, तरकारी, फर्सीको प्यान केक, कोदोको हलुवा, च्याउको क्वाँटी, आलु पनिर, चिउरा, बदाम, मासु, क्वाँटी, पानी रोटी, फापरको रोटी, ढिंडो रहेका छन् । त्यसैगरी खिचडी, छोला चिउरा, दही, गहुँको हलुवा, भुटेको मकै, भटमास, पुरी, भुटेको भात, पुवा, हरियो मकै, आलुदम जस्ता परिकार उल्लेख छ । यी परिकारबाट दैनिक एकजनाले पाउनु पर्ने पौष्टिक आहारको ३० प्रतिशत दिवा खाजाबाट प्राप्त गर्ने अध्ययनले देखाएको छ । अन्न, गेडागुडी, हरियो सागसब्जी तथा पशुजन्य, माछा, मासुबाट तयार गरिने खाजा प्रति बालबाबालिका १ सय ५० देखि दुई सय ग्रामसम्मको हुनेछ ।

शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवरले दिवा खाजा कार्यक्रम सराहनीय भएको बताए । ‘बजारिया जंकफुडभन्दा स्थानीय अन्नबालीबाट खाजा खुवाउन ज्यादै राम्रो हो,’ सोमबार सानोठिमीमा आयोजित अन्तरक्रियामा शिक्षक कुँवरले भने, ‘रकम केही कम भयो । यसलाई स्थानीय पालिका, विद्यालय र अभिभावकका समेत लगानी हुन जरुरी छ ।’

त्यसैगरी राष्ट्रिय अभिभावक महासंघका सचिवालय सदस्य सुवास भण्डारीले सबै विद्यालयमा खाद्यविज्ञ नरहेकाले खाजाको गुणस्तर कम हुनसक्ने बताए । ‘पोषणको नाममा कुपोषण नखुवाइयोस्,’ उनले भने ।

नक्सालस्थित नन्दी माविकी प्रधानाध्यापक गीता काफ्लेले काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई दिवा खाजा खुवाउन विद्यालयहरूलाई परिपत्र गरेको जनाइन् । खाजा खुवाउन निर्देशन पाएको बजेट पाइनसकेको सुनाइन् । ‘बालबालिकालाई खाजा खुवाउन निर्देशन दिएको छ र यसरी खुवाउन पाउनु राम्रो हो,’ पाककला भएका जनशक्तिको अभाव रहेको उल्लेख गर्दै उनले कान्तिपुरसित भनिन्, ‘बजारिया जंकफुड खुवाउन नहुने, महँगी छ, पन्ध्र रुपैयाँले के खाजा खुवाउने भन्ने अन्योलमा छौं ।’ विद्यालयमा एक जनामात्र सहयोगी कर्मचारी हुने भएकाले सरसफाई, कक्षा व्यवस्थापन र खाजा पकाउन भ्याउन गाह्रो हुने बताइन् ।

‘पालिकाहरूले दिवा खाजा व्यवस्थापन गर्नुपर्ने भएकाले सक्षमता अभिवृद्धि जरुरी छ,’ शिक्षाका लागि खाद्य कार्यक्रमका निर्देशक खगेन्द्र नेपालले भने, ‘प्रत्येक विद्यालयमा एक जना पाककला भएका व्यक्ति हुन जरुरी छ ।’

सरकारले समाज कल्याण परिषद्‌मार्फत् २०२४ सालमा पहिलो पटक ३७ जिल्लामा दिवा खाजा सुरु गरेको थियो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा ०५३ सालमा शिक्षाका लागि खाद्य कार्यक्रम १६ जिल्लामा लागू गरिएको थियो । उक्त कार्यक्रम कर्णाली प्रदेशका सात जिल्लामा हालसम्म सुचारु छ । सरकारले २०६५ सालदेखि निश्चित जिल्लामा खाजावापत नगद कार्यक्रम सुचारु राखेको थियो । संविधानले नि:शुल्क र अनिवार्य आधारभूत शिक्षा प्रत्याभूत गरेको छ । बालबालिकाको वृद्धि, विकास र सिकाइमा पौष्टिक खाना र खाजा महत्वपूर्ण भएकाले दिवा खाजा कार्यक्रम यसै वर्षबाट लागू गरिएको जनाइएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७७ २१:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×