३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बालुवाकै भरमा गुजारा

बिप्लब महर्जन

सल्यान — शारदा नगरपालिका–१ काफ्लाकी २७ वर्षीया लिला थापा दैनिकजसो शारदा खोलाबाट बालुवा निकालिरहेको अवस्थामा भेटिन्छिन् ।

बालुवाकै भरमा गुजारा

उनको काँधमा ५ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । पति शारीरिक रुपमा अशक्त भएका कारण ५ वर्षदेखि उनले बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् ।

शारदा नगरपालिका–१ श्रीनगरकी २६ वर्षीया गीता रोकाको दैनिकी पनि खोलामा बालुवा निकालेर बित्छ । पतिले अर्को विवाह गरेपछि ६ वर्षदेखि बालुवा संकलन र बिक्री गरेको रकमले उनको घरखर्च चल्ने गरेको हो । उनीहरु मात्र होइन, शारदा नगरपालिका, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका झण्डै एक सय महिला शारदा खोलाको बालुवा निकालेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् ।

भरपर्दो रोजगारी नभएका र घरको आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई खोलाको बालुवाकै भर छ । लान्तीकी चित्रा विकले बालुवा निकाल्नुको विकल्प नभएको बताइन् । ‘पढाइ छैन, बजारमा मजदुरी पाइँदैन,’उनले भनिन्,‘परिवारको खर्च धान्नै मुस्किल छ ।’ बालुवा बिक्री गरेको पैसाले मात्र नपुग्दा ऋण लिएर गुजारा चलाउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरिन् । उनले दिनभर संकलन गरेको बालुवाबाट ४/५ सय रुपैयाँ कमाउँछिन् । ५ दिन संकलन गर्दा एक ट्याक्टर हुने र एक ट्याक्टर बालुवा २ हजार ५ सय रुपैयाँमा बिक्री हुने उनको भनाइ छ ।

शान्तिनगरकी विमला बादीले बेरोजगारीको समस्याका कारण पनि खोलाको बालुवा निकालेर बिक्री गर्नुपरेको बताइन् । सुकुम्बासी आयोगले दिएको जग्गाको लालपूर्जा राखेर पसल गर्न खोजे पनि मालपोतले धितो राख्न नमिल्ने भन्दै फर्काइदिएपछि बालुवा संकलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘धेरै कष्ट गरी खोलाको बालुवा निकालेर बिक्री गर्नु हाम्रो रहर होइन्,’ उनले भनिन्, ‘बाध्यता भएपछि बिरामी भएको बेला पनि बालुवा निकाल्छौं ।’

खोलाको बालुवा बिक्री गरेर जीविकोपार्जन गर्न कठिनाइ भएपछि समस्यामा परेका दलित महिलाले सीपमूलक तालिम र व्यवसायमा सहयोग गर्न विभिन्न निकायमा आग्रह गरेका छन् । ‘यसअघि पनि वैकल्पिक व्यवसायका लागि सहयोगको माग गर्दै विभिन्न निकायमा गइयो, तर कसैले वास्ता गरेनन्,’ थापाले भनिन्, ‘कम्तिमा सीपमूलक तालिम दिए हामीलाई आत्मनिर्भर बन्न सहयोग पुग्थ्यो ।’

खोलामा माछा नभएकाले पुर्ख्यौली पेशा त्यागेर बालुवा संकलन गर्न थालेको लान्तीका दीर्घ नेपालीले बताए । उनका अनुसार बालुवा निकालेर मात्र खान नपुग्दा युवा मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता छ । विपन्न परिवारलाई रोजगारीमा जोड्न प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वन गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार यो वर्ष झण्डै ५ सय जनालाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यो वर्ष जिल्लाभरि करिब २ हजार जनालाई रोजगारीमा जोड्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।

प्रकाशित : माघ २८, २०७७ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?