कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धेरैपछिको हिमपातले राहत

मुगु,हुम्ला — मुगुको छायानाथरारा–९, मुर्माका रनवीर रोकायाको मुहारमा धेरैपछि खुसी छाएको छ । लामो समयको खडेरीले गहुँ–जौलगायत बाली सुक्न थालेपछि चिन्तित बनेका उनलाई शुक्रबारको हिउँले राहत दिएको हो । ‘लामो समयदेखि हिउँकै प्रतिक्षामा थियौं,’ रोकायाले भने, ‘हिउँले सुबिकालको आशा पलाएको छ ।’

धेरैपछिको हिमपातले राहत

झण्डै डेढ महिनापछि कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि किसान खुसी भएका हुन् । यसअघि पुस दोस्रो साता हुम्ला, मुगु, जुम्ला, डोल्पालगायत जिल्लामा हिमपात भएको थियो ।

हिमपात भएपछि मुगुको रारा, मुर्मा, मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, सोभा, बाम, खमाले, पापु, चिमाथलगायत बस्ती सेताम्मे बनेका छन् । हिउँ परेपछि अन्नबाली, तरकारी र स्याउलगायत तरकारीको उत्पादन बढ्ने भन्दै किसान उत्साही भएका हुन् । बालीमा रोगकिराको प्रकोप कम हुने र उत्पादन बढ्ने भन्दै किसानले हिमपातलाई सुबिकालको रुपमा लिने गरेका छन् ।


‘ढिलै भए पनि फेरि हिउँ पर्‍यो,’ सोरु गाउँपालिका–६, सोरुकोटका पदम शाहीले भने, ‘अब अन्न र स्याउ, ओखर आरु, चुलीलथायत फलफूलको उत्पादन बढ्ने अपेक्षा छ ।’ उनले अहिले भएको हिमपातले झण्डै जमिनमा डेढ महिना चिस्यान हुने बताए ।

५ वर्षयता माघ–फागुनमा हिउँ पर्न थालेको छायानाथरारा नगरपालिका–३ का किसान कम्मरसिंह खड्काले बताए । ‘हिउँ परे अन्न बेसाउनु पर्दैन,’ उनले भने, ‘हिमपात बढी भएको साल आफ्नै उत्पादनले जीविका चल्छ ।’ यो वर्ष यार्चाको उत्पादन पनि राम्रो हुने उनले बताए । कोरोना महामारीका कारण गत सिजनमा मुगुका बासिन्दाले यार्चा टिप्न पाएनन् । हिउँले किसानमा उत्साह ल्याएको जिल्ला कृषि विकास अधिकृत कमल सुनारले बताए ।

रारामा आधा फिट हिउँ

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारामा करिब आधा फिटसम्म हिउँ जमेको छ । हिमपात भएपछि रारा घुम्न आएका आन्तरिक पर्यटक हिउँ खेल्दै रमाएका छन् ।

यो वर्ष रारामा दोस्रोपटक हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । ‘राराक्षेत्र जताततै सेताम्मे छ,’ उनले भने, ‘पर्यटकले अझै एक महिनासम्म हिउँको आनन्द लिन सक्छन् ।’


जनजीवन कष्टकर, किसान खुसी

हुम्लाका अधिकांश गाउँमा बाक्लो हिमपात भएपछि स्थानीयबासी हिउँ खेल्दै रमाउन थालेका छन् । शुक्रबार दिनभर सदरमुकाम सिमकोटमा हिउँ खेल्नेको भीड लाग्यो । हिमपातका कारण जनजीवन प्रभावित भए पनि बालीनाली सप्रिने भन्दै किसान खुसी भएका छन् ।

बर्सेनि हिमपात हुन कम भए पनि यसपालि पर्याप्त हिउँ परेको सिमकोट गाउँपालिका–६ की ६१ वर्षीय उम्मकला रावतले बताइन् । ‘बाली सपार्न हिउँकै प्रतिक्षामा थियौं,’ उनले भनिन्, ‘लामो खडेरीले लगाएको बाली सुकेको थियो, अब उब्जनी बढ्ने आश छ ।’ हिमपात भएपछि घरभित्रै आगो तापेर बसेको उनको भनाइ छ । उनका अनुसार अधिकांश क्षेत्र हिउँले ढाकिएपछि पशुचौपायालाई गोठभित्रै बाँधेर राख्नुपर्ने बाध्यता छ । हिउँ परेपछि हुम्लामा हवाइ उडान ठप्प भएको छ ।

बख्खु लगाएर विद्यालय

सदरमुकाम सिमकोट र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको छ । हुम्लाका सबै सामुदायिक विद्यालय माघ १५ गतेबाट सञ्चालनमा आएका थिए । बाक्लो हिमपात भए पनि कोर्ष नसकिने भन्दै विद्यालयहरुले पठनपाठन जारी राखेका हुन् ।

हिमपात भएपछि बाक्लो लुगा र बख्खु लगाएर विद्यार्थीलाई विद्यालय आउन भनिएको कैलाशबोधि बोर्डिङ स्कुलका शिक्षक खेम सुनारले बताए । ‘विद्यालय बन्द गरे कोर्ष सकिँदैन,’ उनले भने, ‘आइतबारदेखि आगो ताप्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

प्रकाशित : माघ २३, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?