कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मध्यपश्‍चिमाञ्‍चल र चाइना थ्री गोर्जेस विश्‍वविद्यालयबीच सम्झौता

चाँदनी कठायत

वीरेन्द्रनगर — मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता (एमओयू) भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालयका तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्‍चिमाञ्‍चल र चाइना थ्री गोर्जेस विश्‍वविद्यालयबीच सम्झौता

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य गर्नका लागि सम्झौता गरिएको उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र गोर्जेस विश्वविद्यालयबीच भएको सम्झौतामा विशेष गरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु आदानप्रदान गर्न सकिने उल्लेख छ । दुवै विश्वविद्यालयले सामूहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउने सम्झौता भएको उपकुलपति सिंहले बताए । विश्वविद्यालयले विभिन्न गोष्ठीहरु आयोजना गरी एक आपसमा विभिन्न शैक्षिक जानकारी तथा समग्रीहरु आदान–प्रदानसमेत गरिनेछ ।

सम्झौताअनुसार दुवै देशको कानुन र सम्झौता परिधिमा रही विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु सञ्चालन गर्न सकिनेछ । पाँच वर्षको अवधि रहेको उक्त सम्झौता पत्र पाँच वर्षपछि स्वत: नवीकरण हुने विश्वविद्यालयले जनाएको छ । उपकुलपति सिंहका अनुसार आपसी समझदारी र छलफलपछि लिखित रुपमा सम्झौता संसोधन गर्न सकिने व्यवस्था पनि सम्झौतामा उल्लेख छ ।

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ र इलेक्ट्रिकल इञ्जिनियरिङ विषयका लागि प्रख्यात विश्वविद्यालय हो । स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पठनपाठन हुने विश्वविद्यालय भएका कारण पनि यो सम्झौताबाट मप विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरुले शैक्षिक लाभ लिन सक्ने विश्वास उपकुलपति प्रा.डा. सिंहको छ ।

प्रकाशित : माघ १७, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?