कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

३ दशकदेखि सिँचाइ योजना अलपत्र

विप्लव महर्जन

सल्यान — ठेकेदारको लापर्बाहीले जिल्लाका ८ वटा योजना बीचमै अलपत्र परेपछि छत्रेश्वरी, बन्गाडकुपिण्डे, सिद्धकुमाख, शारदा र कालीमाटीका झण्डै ५ हजार किसान परिवार सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।

३ दशकदेखि सिँचाइ योजना अलपत्र

सिँचाइ योजना अलपत्र पर्दा खेतीयोग्य जग्गा बाँझो हुन थालेको छ भने सरकारको करोडौं लगानी खेर गएको हो ।

२०४५ मा सुरु भएको देवस्थल–घाटगाउँ–सिँचाइ योजना ठेकेदारको लापर्बाहीका कारण लामो समयदेखि अलपत्र छ । उक्त योजनामा ठेकेदारले १ हजार मिटर नाला काटेर छोडेका थिए । करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको योजना घाटा लागेको भन्दै ठेकेदारले अलपत्र पारेको स्थानीय दानबहादुर वुढाले बताए ।

‘सिँचाइको अभावमा खेती गर्ने जग्गा अन्य प्रयोजनमा प्रयोग भइरहेको छ,’ उनले भने, ‘न ठेकेदारलाई कारबाही भयो न मर्मतका लागि बजेट आयो ।’ उनले गाउँ पारिपट्टिको सुर्खेतका किसानले वर्षमा ३ बाली लगाए पनि आफूहरुलाई एक बाली लगाउन समस्या परेको बताए । ‘आकाशबाट पानी परे बाली लगाउँछौ,’ उनले भने, ‘नत्र अधिकांश जग्गा बाँझै हुन्छ ।’

४ किलोमिटर लामो भुमकेज्युला सिँचाइ योजना पनि एक हजार मिटर नाला काटेर अलपत्र पारिएको स्थानीय हरिबहादुर वुढाथोकीले बताए । उनका अनुसार योजना अलपत्र परेपछि झिम्पे र त्रिवेणीको ३ सय हेक्टर जग्गा सिँचाइविहीन बनेको छ । झण्डै १ करोड रुपैयाँ खर्च भएको योजना अलपत्र पर्दा ५ सय घरधुरी किसानलाई बाली लगाउन समस्या भएको छ । ‘सिँचाइ सुविधा भए वर्षमा ३ बालीसम्म लगाउन सकिन्थो,’ उनले भने, ‘अहिले मुस्किलले एउटा मात्र बाली फल्छ ।’

आर्थिक वर्ष २०६३/६४ मा काम सुरु भएको घुइयाबारी सिँचाइ योजना पनि ७५ प्रतिशत काम सकिएर अलपत्र परेको छ । घुइयाबारी नजिकैको कालागाउँमा निर्माणाधीन सिँचाइ योजना पनि २०६१ सालमा आएको बाढीले पुरिएपछि अलपत्र छ । मर्मतका लागि विभिन्न निकायमा अनुरोध गरे पनि बेवास्ता भएको स्थानीय नरबहादुर चलाउनेले बताए ।

‘सिँचाइ नहुँदा धान लगाने खेतमा मकै लगाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘आकाशेपानीको भरमा गरिएको खेतीले वर्षभरि खान मुस्किल भयो ।’ सिँचाइकै कारण उत्पादन नहुँदा जीविकोपार्जनमा समस्या भएपछि मजदुरीका लागि अधिकांश किसान भारत जानुपर्ने बाध्यता भएको उनले गुनासो गरे । उनका अनुसार गाउँको ३ सय हेक्टर जग्गा सिँचाइविहीन छ ।

योजनाको धेरै भाग बाढीले पुरिएपछि मर्मतमा समस्या भएको अर्का किसान कमल घर्तीले बताए । ‘आफ्नै उत्पादनले वर्षभरि खान नपुग्दा बाहिरको चामलको भर पर्नुपरेको छ,’ उनले भने, ‘सिँचाइ समस्याले कृषिलाई व्यावसायिक बनाउन सकेका छैनौं ।’

८ सिँचाइ योजना अलपत्र पर्दा झण्डै ८ सय हेक्टर खेतीयोग्य जग्गा बाँझो बनेको खानेपानी तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । डिभिजन प्रमुख पदमराज देवकोटाले धेरै पुराना योजनाबारे आफूलाई थाहा नभएको बताए ।

‘सिँचाइ सुविधा नभएका गाउँमा योजना निर्माणका लागि प्राथमिकीकरण गरेका छौं,’ उनले भने, ‘ती योजनाको प्राविधिक रिपोर्ट पनि माथिल्ला निकायमा पठाइएको छ, पास भएर आएपछि निर्माणको कामलाई तीव्रता दिइनेछ ।’

प्रकाशित : माघ १३, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?