कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विद्यार्थीमाथि ठगी गरेको छानबिन समितिको निष्कर्ष

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका दुई निजी कलेजले विद्यार्थीलाई झुक्याएर ठगी गरेको जिल्ला प्रशासन कार्यालयद्वारा गठित छानबिन समितिले निष्कर्ष निकालेको छ । टीएनटी टेक्निकल कलेज र स्यार्पुताल इन्जिनियरिङ कलेजका ४२ विद्यार्थीले आफूहरु ठगिएको भन्दै एक साताअघि जिल्ला प्रशासनमा उजुरी दिएका थिए भने क्याम्पसविरुद्ध आन्दोलन थालेका थिए ।

विद्यार्थीमाथि ठगी गरेको छानबिन समितिको निष्कर्ष

छानबिन समितिका अनुसार टिएनटीका ३३ र स्यार्पुतालका ९ विद्यार्थी ठगिएका हुन् । विद्यार्थीको उजुरीपछि छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको थियो । समितिले प्रतिवेदन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई बुझाएपछि उनले कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । विद्यार्थीले आफूहरुले बुझाएको शुल्कको दोब्बर रकम फिर्ता पाउनुपर्ने र कलेज सञ्चालकलाई कारबाही हुनपर्ने माग गरेका छन् ।

सीटीइभीटीबाट मान्यता प्राप्त दुवै कलेजले १८ महिने र ३ वर्षे कोर्ष पढाउने भन्दै विद्यार्थीबाट विभिन्न शुल्क उठाएका थिए । कलेजले भर्ना गरे पनि पठनपाठन भने सिपमूलक तालिमको मात्रै गराएको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थी देवबावु् देवकोटाले आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । ‘हामीलाई झुक्याएको कुरा पछि खुल्यो, पढ्न थालेको २ वर्षसम्म न परीक्षा भयो न कुनै मुल्यांकन,’ उनले भने,‘त्यसपछि मात्र हामीले ठगिएको थाहा पाएका हौं ।’ उनका अनुसार दुवै कलेजले विद्यार्थीबाट ३ हजारदेखि ६१ हजार रुपैयाँसम्म शुल्क उठाएका छन् । आन्दोलनकै क्रममा विद्यार्थीले टीएनटी कलेजमा ताला लगाएका थिए भने स्यार्पुताल इन्जिनियरिङ कलेज यसअघि नै बन्द भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गैह्रेले कलेजमा समस्या देखिएको बताए । ‘प्रहरीले कानुनी प्रक्रियाअनुसार थप छानबिन गरिरहेको छ,’ उनले भने, ‘प्रहरीको छानबिनका आधारमा मुद्दा दर्ता हुन्छ ।’ प्रहरीले स्यार्पुताल इन्जिनियरिङ कलेजका सञ्चालक झलक शेर्पालीलाई नियन्त्रणमा लिए पनि टीएनटीका सञ्चालक तिलक डाँगीलाई भने पक्राउ गरेको छैन ।

विद्यार्थी नेता तुलबहादुर देवकोटाले प्रहरीले खुलेआम टिएनटीको पक्षमा वकालत सुरु गरेको आरोप लगाए । ‘एकजना सञ्चालक पक्राउ परे पनि अर्का सञ्चालक बाहिरै छन्,’ उनले भने, ‘टीएनटीको पक्षमा प्रहरी देखिएको छ, हामी थप आन्दोलनका विषयमा छलफलमा छौं ।’ जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले प्रहरीमा आएको जाहेरीअनुसार नै कारबाही अघि बढेको बताए । उनका अनुसार अब उक्त मुद्दा अदालतमा जानेछ र उतैबाट टुंगिनेछ । अर्का कलेज सञ्चालकलाई खोजिरहेको उनले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?