कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मुगुका खाद्य डिपो कार्यालय सहयोगीका भरमा

राजबहादुर शाही

मुगु — जिल्लाका सोरु, श्रीकोट र पुलु खाद्य डिपो एक वर्षदेखि कार्यालय सहयोगीको भरमा छन् । कार्यालय प्रमुखसहित अन्य कर्मचारी नहुादा स्थानीयलाई सरकारी अनुदानको चामल पाउन कठिनाइ भएको छ ।

मुगुका खाद्य डिपो कार्यालय सहयोगीका भरमा

सोरुकोट खाद्य डिपोमा कार्यरत सरोज यादव सरुवा भई जिल्लाबाहिर गएपछि कार्यालय सहयोगी सिंह रोकाया मात्र छन् । त्यस्तै श्रीकोट खाद्य डिपो प्रमुख समीर दाहाल सरुवा भई बाहिर गएपछि कार्यालय सहयोगी अर्जुन भाम र पुलु खाद्य डिपो प्रमुख जलान्धर यादव सरुवा भएपछि कार्यालय सहयोगी नाङडोल तामाङले कामकाज गर्दै आएका छन् ।

उनीहरूले जिल्ला र प्रदेशबाट ढुवानी भएको चामल ठेकेदार, प्रहरी चौकी प्रमुख र जनप्रतिनिधिको रोहबरमा बिक्रीवितरण गर्ने गरेका छन् । सोरुकोट खाद्य डिपोमा एक वर्षदेखि प्रमुख नहुँदा सर्वसाधारणलाई चामल पाउन कठिनाइ भएको सोरु गाउँपालिका प्रमुख लोकबहादुर शाहीले बताए ।

डिपोमा प्रमुख नहुँदा ठेकेदारले चामल ढुवानीमा ढिलासुस्ती गरेको, डिपोमा पुगेको चामल पनि समयमा स्थानीयले नपाउनेजस्ता समस्या रहेको उनको भनाइ छ । कर्मचारी अभावले डिपोहरू कार्यालय सहयोगीको भरमा टिक्नुपर्ने अवस्था आएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए । कर्मचारी व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारलाई आग्रह गरिएको उनले सुनाए ।

सोरु गाउँपालिकाको कालै खाद्य बिक्री केन्द्र र खत्याड गाउँपालिकाको रातापानी बिक्री केन्द्र पनि स्थापनाकालदेखि नै कर्मचारीविहीन छन् । ती केन्द्रमा ठेकेदारले नै स्थानीयलाई चामल बिक्रीवितरण गर्ने गरेका छन् । बिक्री केन्द्रमा कर्मचारी व्यवस्थापन हुन नसकेको भामको भनाइ छ ।

प्रकाशित : माघ ११, २०७७ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?