काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले 'जनयुद्ध' का क्रममा खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति भेटघाटमा नेकपा अध्यक्ष रहेका ओलीले 'जनयुद्ध' मा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् ।
ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।'
ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित नेकपा अहिले नेता, कार्यकर्ता तानातानमा छन् ।
ओलीले असंवैधानिक रुपमा संसद् विघटन गराएको भन्दै दाहाल-नेपाल समूह सडक आन्दोलनमा छ भने ओली समूह वैशाखमा घोषणा गरिएको निर्वाचन हुने दाबीसहित त्यसको तयारमा जुटेको छ । यद्यपि संसद् विघटन सदर वा पुनर्स्थापना भन्ने विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ ।

प्रकाशित : माघ १०, २०७७ १७:२८