१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका २ निर्देशक र ४ क्याम्पस प्रमुखद्वारा राजीनामा

चाँदनी कठायत

वीरेन्द्रनगर — मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशक र क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका छन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले आफूहरुमाथि अभद्र व्यवहार गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका २ निर्देशक र ४ क्याम्पस प्रमुखद्वारा राजीनामा

उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा उपकुलपति सिंहले अभद्र व्यवहार गरेको क्याम्पस प्रमुखहरुको भनाइ छ । मौका परीक्षा दिन पाउनुपर्ने भन्दै विश्वविद्यालयका विद्यार्थी दुई सातादेखि आन्दोलित छन् ।

विद्यार्थीको आन्दोलन दबाउन प्रभावकारी काम नगरेको भन्दै उपकुलपति सिंहले क्याम्पस प्रमुख र निर्देशकमाथि अश्लिल शब्द प्रयोग गरेको उनीहरुको आरोप छ । सामूहिक राजीनामा दिनेहरुमा व्यवस्थापन संकाय र कानुन संकायका निर्देशक, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र संकाय र व्यवस्थापन संकायका क्याम्पस प्रमुखहरु छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सिंहले भने गलत मागलाई प्रश्रय दिने गरी आएको राजीनामा स्वीकार गर्नुको विकल्प नभएको बताए । आफूले शैक्षिक गुणस्तर सुधारका निम्ति सबै क्याम्पस प्रमुखलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएको भन्दै उनले निर्देशन मान्न नचाहनेले राजीनामा दिएको बताए । ‘आवश्यकता परेपछि राजीनामा स्वीकृत हुन्छ,’ उनले भने, ‘पहिले स्पष्टीकरण माग गरी आवश्यक प्रक्रिया अगाडि बढाइन्छ ।’

विद्यार्थीहरुलाई सम्झाएर ताला खोल्न लगाउन क्याम्पस प्रमुखहरुलाई गरेको आग्रहलाई गलत रुपले लिएको उनको भनाइ छ । ‘आन्दोलनमा उत्रिने इन्जिनियरिङ संकायका विद्यार्थी छन्,’ उनले भने, ‘मैले विशेष गरी इन्जिनियरिङ संकायका प्रमुखलाई सही मार्गबाट अघि बढ्न आग्रह गर्दा अनुशासनहीन भएर प्रस्तुत भएपछि राजीनामा दिन भनेको थिएँ ।’ नपढ्ने विद्यार्थीहरुले नाजायज मागहरु राखेर गरेको आन्दोलन गलत भएको उनले बताए ।

प्रकाशित : माघ ८, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?