१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

साँघुरो बसपार्कमा फोहरले सास्ती

चाँदनी कठायत

वीरेन्द्रनगर — वीरेन्द्रनगरस्थित सिटी बसपार्क साँघुरो हुनुका साथै व्यवस्थापन हुन नसक्दा यातायात व्यवसायी, यात्रु र पसलेले सास्ती भोग्दै आएका छन् । बसपार्कमा विशेष गरी धेरै गाडी रहेका मध्यपश्चिम यातायात प्रालि र सुर्खेत काँक्रेविहार यातायात प्रालिलाई पार्किङ गर्न, टिकट काट्न र यात्रुको व्यवस्थापन गर्न समस्या छ ।

साँघुरो बसपार्कमा फोहरले सास्ती

यी प्रालिले वीरेन्द्रनगर नगरपालिकालाई टिकट काउन्टरका लागि अतिरिक्त ठाउँको व्यवस्था गरिदिन माग गर्दै पत्रसमेत पठाएका छन् । मध्यपश्चिम यातायात प्रालिका सचिव नारायणकुमार चपाईले एउटा कोठाबाट सबै ‘क्यु’ सञ्चालन गर्न समस्या भएको बताए । ‘साना/ठूला गाडी भएका सबैका लागि एउटैजसो काउन्टर छ,’ उनले भने, ‘हाम्रो समितिका गाडी सबैभन्दा धेरै छन्, काउन्टरमा दुई/तीन जना मात्रै स्टाफ राखेर काम गराउन निकै समस्या छ ।’ उनका अनुसार प्रालिसँग साना/ठूला गरी ३ सय ९७ सवारी छन् । तीमध्ये दैनिक ७४ गाडी बसपार्कबाट छुट्छन् ।

नगरपालिकाले तयार पारेको बसपार्क व्यवस्थापन कार्यविधिको परिच्छेद ५ मा टिकट काउन्टर वितरण विधिको व्यवस्था गरिएको छ । कार्यविधिमा नगरपालिकाले प्रथमपटक सातदिने सूचना निकालेको अवधिभित्र व्यवसाय दर्ता हुन आएका कम्पनीलाई बसपार्क टर्मिनलको एकवटा मात्र टिकट काउन्टर गोला प्रथाबाट वितरण गर्ने व्यवस्था गरिएको छ । कार्यविधिअनुसार गाडी संख्या ५० भन्दा माथि र रुट संख्या प्रदेशबाहिरसमेत गरी १० भन्दा बढी हुने कम्पनीलाई आफैंले संरचना निर्माण गर्ने गरी व्यवसायीको सहमति वा गोलाप्रथाबाट थप काउन्टर दिने स्पष्ट उल्लेख छ ।

वीरेन्द्रनगरमा सञ्चालित १२ यातायात प्रालिका करिब एक हजार बढी गाडी सञ्चालनमा छन् । करिब डेड सयदेखि साढे दुई सयसम्म गाडी आवतजावत गर्छन् । भर्खरै सञ्चालनमा आएको सिटी बसपार्कमा १ सय १० वटा बस अट्छन् । ४ हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा ९० वटा ठूला बस र २० वटा मिनीबस मात्र अट्ने क्षमता छ ।

बस प्रालिको क्षमताअनुसार टिकट काउन्टरको व्यवस्था नहुँदा थोरै बस भएका समितिले आफ्नो रुट नभएको क्षेत्रको समेत टिकट काट्ने गरेका छन् । ३/४ वटा मात्रै गाडी रहेका साना यातायात प्रालिले यात्रुहरूको टिकट काटेर अर्को यातायात प्रालिको गाडीमा पठाउने गरेको पाइएको छ । आफ्नो रुट नै नभएको ठाउँको नाम लेखी बोर्डसमेत टाँसेका प्रालिले टिकट भने आफ्नै कम्पनीको काट्ने गरेका छन् । ‘साना यातायात प्रालिका केही व्यक्तिले कमिसन लिएर टिकट काटी ठूलो यातायात प्रालिको गाडीमा पठाउने गरेका छन्,’ चपाईंले भने, ‘नगरपालिकाले बसपार्कमा भइरहेको बेथितिबारे अनुगमन नगर्दा अस्तव्यस्तता बढेको छ ।’

दुर्गन्ध पनि उस्तै

बसपार्कमा होटल व्यवसाय सञ्चालन गरिरहेकाहरूले पनि ठाउँ साँघुरो भएका कारण सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । ढल निकास सानो हुँदा दुर्गन्ध बढेको उनीहरूको भनाइ छ । ‘सटर निकै सानो छ, भित्र १० जना पनि अट्न मुस्किल छ, भान्सा पनि बाहिरै छ,’ एक होटल व्यवसायीले भनिन्, ‘पानी परेपछि पकाउन मिल्दैन, न फोहोर व्यवस्थापन गर्ने ठाउँ छ न ढल ।’ भाँडा माझ्ने ठाउँ पनि अगाडि हुँदा दुर्गन्धित भएको उनले बताइन् । होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि सुर्खेत बसपार्क व्यवसायी समितिले दररेट कायम गरिदिएको छ ।

बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सनका प्रतिनिधि मल्ल भने नगरपालिका बसपार्क सञ्चालनमा हतारिएका कारण यस्तो समस्या आएको बताउँछन् । ‘व्यवसायीका लागि पछाडि क्षेत्रफल बढाउन पनि जग्गा छैन, सबै व्यवसायीका लागि नगरपालिकाले पानीको एउटा ड्रम राखिदिएको थियो,’ उनले भने, ‘नपुगेपछि हामी आफैंले चारवटा ड्रम लगाइदिएका छौँ ।’

मोटरसाइकललाई प्रवेश शुल्क

नगरपालिकाले सम्झौता भइसकेपछि ठेकेदारको मागबमोजिम कार्ययोजना संशोधन गरी मोटरसाइकल, अटो र टेम्पोको प्रवेश शुल्क उठाउन दिएको पाइएको छ । पीआर कन्स्ट्रक्सनले भदौ १७ गते नगरपालिकासँग ३१ लाख १५ हजार ५ सय ३२ रुपैयाँमा सम्झौता गरेको थियो ।

कम्पनीले भने असोज २१ गते बसपार्क सञ्चालन कार्ययोजना संशोधन गरी मोटरसाइकल, अटो र टेम्पोको शुल्क लिने माग गरेको थियो । कम्पनीको मागबमोजिम कात्तिक ३ गते बसेको बसपार्क व्यवस्थापन समितिको बैठकले शुल्क लिन स्वीकृति दिएको थियो । नगरपालिकाले सुरुमा तयार गरेको बसपार्क व्यवस्थापन कार्यविधि–२०७६ मा बसपार्क प्रवेश गरेबापत लामो दुरीमा चल्ने ठूला सवारीसाधनले एक सय रुपैयाँ, साना सवारीसाधनले ५० रुपैयाँ, छोटो दुरीमा चल्ने ठूला सवारीसाधनले ५० रुपैयाँ र साना सवारीसाधनले ३० रुपैयाँ प्रवेशशुल्क तिर्नुपर्ने उल्लेख छ ।

नगरपालिकाले नै ठेकेदारलाई अतिरिक्त लाभ पुग्ने गरी अनुमति दिएपछि बसपार्कमा दैनिकजसो प्रवेश गर्ने मोटरसाइकल, अटो रिक्सा तथा टेम्पोले प्रवेश गरेबापत १० रुपैयाँ तिर्ने गरेका छन् । ‘बसपार्कमा दैनिकजसो सामान लिन गइरहनुपर्छ, मोटरसाइकलको ‘स्टार्ट’ बन्द नगर्दा पनि चिट (प्रवेश टिकट) थमाइहाल्छन्,’ वीरेन्द्रनगर–६ स्थित औषधि पसलमा काम गर्ने बीरबहादुर बुढाले भने, ‘बसपार्कभित्र जाँदासमेत टिकट काट्नुपर्ने नियम हाम्रै सुर्खेतमा देखयो ।’ ठेकेदारले माग गर्नेबित्तिकै नगरपालिकाले मनलाग्दी शुल्क उठाउन दिने हो भने भोलि मान्छे प्रवेश गर्दासमेत शुल्क तिर्नुपर्ने दिन नआउला भन्न नसकिने उनले बताए ।

संशोधित बसपार्क सञ्चालन कार्ययोजनामा परिच्छेद ३ को ‘घ’ मा बस वा बसको यात्रु लिन आउने अटो वा मोटरसाइकलजस्ता साधनहरू भित्र पस्न दिने तर आवश्यक शुल्क लिई उचित व्यवस्थापन गर्नुपर्ने भनिएको छ । कम्पनीका प्रतिनिधि गोविन्द मल्लले बसपार्कको पूर्वी क्षेत्रमा बाइक, अटो र टेम्पो पार्किङका लागि स्थान किटान गरिएको बताए ।

प्रकाशित : पुस २९, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?