१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुगुको सोरु गाउँपालिकामा धारामा बरफ जमेपछि खानेपानी समस्या 

राजबहादुर शाही

मुगु — अत्यधिक चिसोका कारण खानेपानीका धाराहरुमा बरफ जमेपछि जिल्लाका विभिन्न बस्तीमा खानेपानी समस्या देखिएको छ । उच्च लेकाली बस्तीका धारामा बाक्लो हिउँ जमेको छ भने बेंसीका धाराहरु बरफ जमेपछि पानी सुकेका हुन् । 

मुगुको सोरु गाउँपालिकामा धारामा बरफ जमेपछि खानेपानी समस्या 

सोरु गाउँपालिकाको सोरुकोट खानेपानी आयोजनाको पाइपमा बरफ जमेपछि झण्डै ३ सय घरधुरीमा खानेपानी समस्या चुलिएको स्थानीय स्थानीय जैविर रोकालले बताए । उनले खानेपानी आयोजनाको करिब ८ सय मिटर पाइपमा बरफ जमेपछि दुई सातायता धाराबाट पाउन आउन छोडेको बताए । उनका अनुसार रोकायाबाडा, चुलिसाडा, दलितबाडा, बन्जाहा र सोरुकोटमा खानेपानीको आपूर्ति गर्न समस्या भएको छ । ‘बरफ पगालेर खानेकुरा पकाउनुको विकल्प छैन,’ उनले भने, ‘आगोमा तताएको बरफ पनि एकै छिनमा जम्न थालेपछि खानेपानी समस्या चुलिएको हो ।’

धारामा बरफ जमेपछि सोरुकोटस्थित सोरु गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय, प्रहरी चौकी र विभिन्न सामुदायिक विद्यालयमा खानेपानी अभाव भएको छ । सदरमुकाम आसपासका अधिकांश गाउँमा पनि धारामा बरफ जमेको स्थानीय कमल शाहीले बताए । ‘धारा र खानेपानी मुहान सबैमा बरफ जमेको छ,’ उनले भने, ‘जमेको बरफ ल्याइ उमालेर पानीको जोहो गर्न बाध्य छौं ।’

गाउँपालिकाभरि वर्षेभरि खानेपानी सुविधा पुर्‍याउन बृहत् आयोजना सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार जसका लागि संघीय खानेपानी कार्यालय, जुम्लाबाट ९ करोड रुपैयाँको बजेटमा ठेक्का आव्हान भइसकेको छ । उनले आयोजनाको काम चालु आर्थिक वर्षबाटै सुरु हुने जानकारी दिए ।

प्रकाशित : पुस २६, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?