२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मुसिकोटका भौतिक संरचना अब नक्सामा

हरि गौतम

रुकुम पश्चिम — अब मुसिकोट नगरपालिकाका हरेक भौतिक संरचना नक्सामा हेर्न पाइने भएको छ । नगरपालिकाभित्र बनेका सम्पूर्ण संरचना समेटिने गरी नगर यातायात गुरुयोजना बनाउन सुरु भएको हो ।

मुसिकोटका भौतिक संरचना अब नक्सामा

सडक र अरु संरचनाको निर्माण व्यवस्थित गर्न एउटै नक्सामा गुरुयोजना बनाउन लागिएको हो । जसका लागि क्यानभास इन्जिनियरिङ कन्सल्टेन्सीले १० लाख रुपैयाँमा गुरुयोजना बनाउने जिम्मा लिएको छ । अहिले १४ वटै वडामा जीपीएसको माध्यमबाट लगत संकलनको काम भइरहेको नगरपालिकाका इन्जिनियर पहलबहादुर पुनले बताए । उनका अनुसार लगत संकलन गरिएपछि त्यसको विश्लेषण हुने र यसैका आधारमा नगरपालिकाले थप रणनीति तथा योजना बनाउने छ । ‘सडकलगायतका भौतिक संरचनाको निर्माणमा एकरुपता कायम गर्न र आवश्यक्ताअनुसार काम गर्न गुरुयोजना बनाउन लागिएको हो,’ उनले भने, ‘यसले विकासको आवश्यक्तालाई पनि प्राथमिकीकरण गर्न सहयोग गर्नेछ ।’

सडक, झोलुंगेपुल, विद्यालय भवन, स्वास्थ्यचौकी, हेलिप्याडलगायतको नक्सा गुरुयोजनामार्फत बनाउन लागिएको हो । ‘यसमा ५ वर्षमा कति सडक निर्माण गर्ने, कुन स्तरका सडक निर्माण गर्ने र मर्मत गर्ने भन्नेबारे पनि प्रष्ट खुल्नेछ,’ नगरप्रमुख देविलाल गौतमले भने, ‘२० वर्षे सडक योजना पनि गुरुयोजनामा समाबेश हुनेछ ।’ सडकसँगै नगरपालिकाका अरु भौतिक संरचना पनि नक्सामा आउने उनले बताए । उनका अनुसार हेली लिफ्टका लागि १४ वटै वडामा हेलिप्याड बनाउने नगरपालिकाको योजना छ । कुन ठाउँमा हेलिप्याड बनाउने र कसरी बनाउने भन्ने विस्तृत विवरण गुरुयोजनामा समावेश हुने उनले जानकारी दिए ।

जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले तीन समूहका सडक निर्माण गर्ने रणनीति अख्तियार गरेको छ । १४ मिटरको ‘क’, १० मिटरको ‘ख’ र ६ मिटरको ‘ग’ वर्गका सडक बनाउने नीति नगरपालिकाले लिएको छ । ठाउँ र अवस्था हेरि यि ३ भन्दा फरक नापका सडक निर्माणमा नगरपालिकाले रोक लगाएको नगरप्रमुख गौतमले बताए । उनका अनुसार सबै विकास संरचनालाई व्यवस्थित तवरले नक्सामा राखी योजनावद्ध विकासका लागि गुरुयोजनाको काम थालिएको हो ।

प्रकाशित : पुस २३, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?