संरक्षण अभावमा कोतगढी जीर्ण

ज्योति कटुवाल

दैलेख — ऐतिहासिक र धार्मिक महत्त्वको कोतगढी संरक्षण अभावमा थप जीर्ण बन्दै गएको छ । जथाभाबी फोहोर फालिँदा पर्यटकहरू गढी जान छाडेका छन् । 

संरक्षण अभावमा कोतगढी जीर्ण

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दुई वर्षअघि सर्वदलीय बैठकले साताका सातै दिन कोतगढी खोल्ने निर्णय गरेको थियो । गत वर्ष सिँढी र पर्खाल निर्माण गर्न प्रदेश सरकारले ४५ लाख र नारायण नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेका थिए । तर गुणस्तरहीन काम हुँदा रकमको दुरुपयोग भएको स्थानीयको आरोप छ ।

‘बर्सेनि रकम दुरुपयोग हुँदा ऐतिहासिक सम्पदा जीर्ण बनेको छ,’ स्थानीय गोपाल थापाले भने, ‘संरक्षण मात्रै गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्थ्यो ।’ नेपाली सेनाको स्वामित्वबाट नगरपालिकाको मातहत ल्याइएपछि गढी डम्पिङ साइटमा परिणत भएको उनको भनाइ छ ।

कोतगढीको संरक्षण तथा संवर्धन नेपाली सेनाले नै गर्न सक्ने भए पनि नगरपालिका मातहत आउँदा थप बेवारिस बनेको जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर थापाले बताए । उनकै रोहबरमा दुई वर्षअघि नेपाली सेनाले चाबी नगरपालिकालाई बुझाएको थियो । ‘नेपाली सेनाले छाडेपछि बजेटको दुरुपयोग बढेको छ,’ उनले भने, ‘गढी ऐतिहासिक सम्पदा भएकाले संरक्षण गर्न जरुरी छ ।’ स्थानीय बासिन्दाले अपनत्वबोध नगरेकाले पनि कोतगढीको संरक्षण हुन नसकेको उनले बताए ।

नगरपालिकाले बार–बन्देज, बगैँचालगायत संरचना निर्माण गर्ने, चौकीदार राख्ने र जीर्णोद्धार गर्ने सर्वपक्षीय बैठकको निर्णय थियो । जनप्रतिनिधिको बेवास्ताले गढीको बिजोग भएको स्थानीय कमल थापाले बताए । ‘दिनरात खुला हुँदा गढीमा लागुपदार्थ र मदिरा सेवन गर्नेलगायत अवैध क्रियाकलाप बढेका छन्,’ उनले भने, ‘सेनाको निगरानी घटेपछि जथाभाबी फोहर फाल्दा ऐतिहासिक क्षेत्र दुर्गन्धित बनेको छ ।’ जीर्णोद्धारका नाममा नगरपालिका र उपभोक्ता समितिले रकमको दुरुपयोग गरेको उनले आरोप लगाए ।

गढीमा रहेका पुराना तीनवटा भवन पुनर्निर्माण गर्न आग्रह गरिए पनि बेवास्ता भएको इन्द्रदल गुल्मका गुल्मपति बीकेसिंह विश्वकर्माले बताए । ‘नगरपालिकाको जिम्मामा गइसकेकाले हामीले केही गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘स्थानीय सरकारले व्यवस्थित गर्न सके पर्यटकीय केन्द्र बनाउन सकिन्थ्यो ।’

प्रकाशित : पुस २३, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?