बाढीपीडित शिविरमा महिला र बालिकालाई त्रास- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपीडित शिविरमा महिला र बालिकालाई त्रास

चाँदनी कठायत

वीरेन्द्रनगर — वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी ३ वर्षीया बालिका २०७६ फागुनमा त्यहीँ बस्ने ११ वर्षीय बालकबाट बलात्कृत भइन् । घटना बस्तीमै सीमित भयो । तर अन्य बालिकालाई उक्त घटनाले त्रस्त बनाउने गरेको छ ।

१३ वर्षीया सीता दमाई भन्छिन्, ‘च्यातिएका त्रिपाल छन्, बलियो ढोका पनि छैन, हामीलाई त सधैं डर लाग्ने गर्छ ।’ २०७१ साउनमा बाढीले घर–जग्गा सबै बगाएपछि विस्थापित भएकाहरू अहिलेसम्म त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् ।उनीहरूलाई त्रिपालमुनि बस्न त सकस छ नै, हुर्किंदै गरेका छोरीहरूलाई जोगाउन चुनौती थपिएको छ । बस्तीभित्रै र बाहिरका मान्छेबाटसमेत लैंगिक हिंसा हुने गरेको बाढीपीडितहरू बताउँछन् ।

साढे ३ वर्षअघि गिरीघाटस्थित बाढीप्रभावित शिविरमा १४ वर्षीया किशोरी बलात्कृत भइन् । त्यसैबाट गर्भ बसेपछि उनले छोरा जन्माइन् । बलात्कार गर्ने पुरुष अहिले जेलमा छन् । ठूला घटना सार्वजनिक भए पनि स–साना घटना बस्तीमै सामसुम हुने गरेको स्थानीय गीता विक बताउँछिन् । जंगलको छेउ भएकाले बालिका र महिलाहरू यौन–दुर्व्यवहारको सिकार हुने गरेको उनको भनाइ छ ।

महिला प्रशिक्षण केन्द्रमा समेत बाहिरका व्यक्तिबाट बालिकामाथि यौन–दुर्व्यवहारका घटना हुने गरेका छन् । ‘हाम्रा छोरी–बहिनीहरूसँगै हामीलाई पनि डर छ,’ विमला दमाई भन्छिन्, ‘सडकछेउमा बस्ती भएकाले बाहिर हिँडडुल गर्ने व्यक्तिहरूले छोरी, बहिनीलाई गलत नजरले हेर्छन्, हामीजस्तै त्रिपालमै बस्ने किशोरी बलात्कृत भएका घटना सुन्दा घरमा एक्लै बस्न पनि डर लाग्छ ।’

महिला प्रशिक्षण केन्द्रस्थित विस्थापित शिविरमा १५ घर छन् । ८४ जनाको बसोबास रहेको उक्त शिविरमा ४३ जना महिला छन् । उनीहरूका अनुसार तीमध्ये ३६ जना नवजात शिशुदेखि १५ वर्षसम्मका बालबालिका छन् । ५ वर्षमुनिका मात्रै ७ जना बालबालिका छन् । दैनिक मजदुरी गरेर घर खर्च टार्ने शिविरका महिलालाई अझ समस्या छ । ‘बालबच्चालाई कहिले त घरमै छोडेर काम गर्न जानुपर्छ, बोकेर गए धेरै काम गर्न सकिँदैन,’ पवित्रा नेपाली भन्छिन्, ‘फेरि बच्चासँगका महिलालाई काम पाउन पनि गाह्रो हुन्छ, बच्चा घरमै छोडेर गए चोटपटक लाग्छ, भोकै हुन्छन् ।’

सरकारले पुनर्वासको व्यवस्था नगर्दा वर्षा, खडेरी, कठ्यांग्रिँदो जाडो च्यातिएका त्रिपालमुनि बिताइरहेका विस्थापितहरू विपद् छेल्न सक्ने नीति नबन्दा समस्या भोग्नुपरेको बताउँछन् । आफूहरूका लागि उचित बसोबास र रोजगारीको व्यवस्था मिलाइदिन उनीहरूको आग्रह छ ।

‘घरमा आर्थिक अभाव हुन्छ, राम्रो कमाइ नभएपछि सधैँ घरमा झै–झगडा हुने जोखिम बढ्दै गएको छ,’ विस्थापित सरस्वती योगी भन्छिन्, ‘छोरा–छोरीलाई खुवाउन, पढाउन खर्च नपुग्दा श्रीमान्–श्रीमतीबीच पैसाकै लागि झगडा भइरहन्छ ।’ बारम्बार विपद्को सामना गरिरहने वीरेन्द्रनगरमा स्थानीय सरकारले जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न सके यस्ता समस्या फेरि ननिम्तिने उनले बताइन् ।

कोरोनाले थप मार

बाढीबाट विस्थापनको विपद् झेलिरहेका उनीहरूलाई कोरोना कहरले थप पीडा दिएको छ । बस्तीमा कोरोना भाइरसले नसताए पनि भोकमरीले भने निकै सतायो । कोरोना भाइरसको महामारी फैलन नदिने भन्दै गत चैतदेखि साउनसम्म भएको लकडाउनमा विस्थापित शिविरवासी कहिले आधा पेट त कहिले भोको पेट बस्नुपर्‍यो । दैनिक मजदुरी गरेर घर खर्च चलाइरहेका उनीहरूले काम पनि गुमाए । लकडाउन हटे पनि मजदुरी भने खोसिएको छ ।

बाढी प्रभावित सरस्वती योगीले बाहिरका मान्छेले मात्रै काम पाएको बताइन् । आफूहरूले यसअघि दैनिक ६ सयमा ज्यालादारी काम गर्दै आए पनि अहिले ३ सयमा काम गर्न भनिएको सुनाइन् । ‘हामी महिलालाई सजिलै काम पाउन पनि कठिन हुन्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ काम पाए पनि ज्याला भनेजस्तो पाइँदैन अनि आफू भोकै बसेर छोराछोरीलाई आधा पेट खुवाएर बस्नुपर्छ ।’

वीरेन्द्रनगर नगरपालिकाले महिला, बालबालिका, किशोरी, अपांगता भएका व्यक्तिहरूमाथि हुन सक्ने लैंगिक हिंसा, बेचबिखन अन्य कुनै किसिमका शोषण रोकथामका लागि सचेतनामूलक काम पनि गरिरहेको जनाएको छ ।

नगरप्रमुख देवकुमार सुवेदीका अनुसार नगरपालिकाले यूएनडीपीसँगको सहकार्यमा करिब ३ करोड रुपैयाँमा ३ सय जनालाई रोजगारी दिने गरी काम सुरु गर्दै छ । ‘हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिकको सवालमा अगाडि सारेका योजनामा उनीहरूलाई पनि समेट्ने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘बालबालिकालाई पौष्टिक आहारका लागि पनि गैरसरकारी संस्थासँग सहकार्य गरिरहेका छौं ।’ नगरपालिकाले बाढीपीडित मात्र नभई अन्य विपद्बाट प्रभावितहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

नगरपालिकाले विपद्को समयमा हुने लैंगिक हिंसालाई मात्र नभई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूले भोगिरहेका समस्या समाधानका निमित्त विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली बनाएको छ । नगरप्रमुख सुवेदीका अनुसार महिला स्वरोजगार कार्यक्रमले कोरोना महामारीको समयमा महिलाहरूलाई राहत पुगेको छ । नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गरी ‘तयार’ परियोजनामार्फत विपद् जोखिम व्यवस्थापनको काम गरिरहेको छ ।

प्रकाशित : पुस २२, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूको लाल्टिन जुलुस

'दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?'
तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।

पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ । उपत्यकाबाहिर भने बुधबार सिट्ठी जुलुस आयोजना गरिएको अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले बताए ।

बुधबारको लाल्टिन जुलुसमा 'दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?' लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।


प्रकाशित : पुस २२, २०७७ १३:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×