आठबीस नगरपालिकामा म्याद गुज्रेका औषधि वितरण

ज्योति कटुवाल

दैलेख — आठबीस नगरपालिकाले म्याद गुज्रेका औषधि वितरण गरेको पाइएको छ । राकमकर्णालीस्थित रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीसँगको मिलेमतोमा नगर स्वास्थ्य शाखाले पुस १७ गते ४ नम्बर वडामा म्याद नाघेका विभिन्न १० प्रकारका औषधि वितरण गरेको भेटिएको हो ।

आठबीस नगरपालिकामा म्याद गुज्रेका औषधि वितरण

स्वास्थ्य शाखाका कर्मचारी र पोलिक्लिनिकको मिलेमतोमा म्याद नाघेका र म्याद नाग्न १/२ महिना रहेका औषधि विभिन्न वडामा वितरण गरिएको स्थानीयको आरोप छ । म्याद नाघेका औषधि वितरण गरेको पाइएपछि नेपाली कांग्रेसले अनुगमन नै गरेको थियो । ‘म्याद नाघेकै औषधि खरिद गरिएको पाइयो,’ कांग्रेस वडा सभापति भीमबहादुर माझीले भने, ‘हामीले समयमै अनुगमन गरेकाले वितरण भने हुन पाएन ।’ स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सिना र रारा पोलिक्लिनिक तथा जेएन फार्मेसीका सञ्चालक जिवानन्द मेहताको मिलेमतोमा औषधि खरिद गरिएको उनको आरोप छ ।

स्वास्थ्य शाखाले राकमकर्णाली स्वास्थ्यचौकीमा आपतकालीन औषधि भन्दै म्याद सकिएका औषधि पठाएको सभापति माझीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्वास्थ्य संयोजक, पोलिक्लिनिक सञ्चालक र संलग्न कर्मचारीविरुद्ध छानबिन गरी आवश्यक कारबाही होस्,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई छानबिन नगरे आन्दोलन गरिनेछ । त्यसबाट निस्कन सक्ने सम्भावित परिणामको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्नेछ ।’ वडा सभापति माझीका अनुसार बिलमा कुनै मूल्य तोकेको थिएन भने स्वास्थ्यचौकीले जथाभावी औषधि भण्डारण गरेको पाइएको थियो । उनीसहित केही स्थानीयले औषधि बरामद गरेपछि मात्र सोमबार स्वास्थ्य शाखाका नाममा पोलिक्लिनिकले बिल काटेको छ ।

पुरानो मिति राखेर उक्त औषधिको बिल काटिएको एक कर्मचारीले बताए । उनका अनुसार कतिपय औषधिको म्याद २०१९ मे महिनामा सकिएको थियो भने केही २०२१ जनवरीमा सकिने औषधि खरिद गरिएको थियो । ‘२ महिनामा म्याद सकिने औषधिसमेत खरिद गरिएको थियो,’ उनले भने, ‘औषधि खरिद नियमावलीअनुसार स्टोरमा दाखिला हुने मितिको कम्तिमा १८ महिनासम्म एक्सपाएर डेट हुनुपर्ने प्रावधान छ ।’

स्थ्यचौकीले ५० हजार रुपैयाँको बिल काटिएको जनाएको छ । राकम स्वास्थ्यचौकीका प्रमुख डा कृष्ण भुषालले आफू भर्खर आएकाले यो विषयमा अनभिज्ञ रहेको बताए । ‘अहिलेसम्म कुनै म्याद गुज्रेको औषधि यहाँ आएको छैन,’ उनले भने,‘आए पनि हामीले वितरण गर्न मिल्दैन ।’ नगरप्रमुख खड्कराज उपाध्यायले आफूले अनुगमन गरे पनि कुनै औषधिको म्याद नाघेको नभेटिएको बताए ।

प्रकाशित : पुस २०, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?