१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

धारामा बरफ जमेपछि तातोपानीमा घुइँचो

राजबहादुर शाही

मुगु — हिमाली बस्तीहरुमा अत्यधिक जाडो बढेपछि तातोपानी कुण्डमा नुहाउन जानेको घुइँचो लागेको छ ।

धारामा बरफ जमेपछि तातोपानीमा घुइँचो

खोला र धारामा बरफ जमेपछि छायानाथ रारा नगरपालिकाको रुगास्थित भुसेकुना र जिमास्थित कुलाहा तातोपानी कुण्डमा स्थानीयको भीड बढेको हो ।

हुम्ला सीमाका स्थानीयबासी जैरस्थित लुमछहरा तातोपानी कुण्डमा नुहाउन जाने गरेका छन् । जाडोको कारण धारामा नुहाउन नसकिने भएपछि रुगा, थार्प, इमा, निगाले, हेन्निकाँध, श्रीनगर, भामबाडालगायत ठाउँबाट भुसेकुना तातोपानी धारामा नुहाउन जाने बढिरहेका हुन् । ‘गाउँगाउँमा बाक्लो बरफ जमेको छ, जाडोले धारामा नुहाउनै सकिँदैन,’सोरु गाउँपालिका–६ की जयपुरा वुढाले भनिन्, ‘विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति पाइने भएपछि तातोपानीमै नुहाउनै जाने गरेका हौं ।’ उनका अनुसार बालबालिकादेखि बृद्धसम्मको तातोपानीमा घुइँचो लाग्छ । शनिबारको दिन दुई सय जनासम्मले तातोपानीमा नुहाउने गरेको उनले बताइन् ।

तातोपानीमा नुहाउँदा शरीर दुख्ने, चर्मरोग, उच्च रक्तचाप, अनुहारको दागलगायत स्वास्थ्य समस्या समाधान हुने स्थानीयको भनाइ छ । जाडो बढेपछि सोरु गाउँपालिकाको जिमा–कुलाहा तातोपानी कुण्डमा नुहाउन नाथर्पु, कालै, रारा, सिप, धैनकोट, पुरुमुरु, सिप ख्याल्च, रारा गिलाहालगायत बस्तीका स्थानीयको ओइरो लाग्न थालेको छ । गर्मी महिनामा सुनसान हुने कुण्ड जाडो बढेसँगै भरिभराउ हुन्छन् । तातोपानीमा नुहाउने स्थानीयले देउडा खेलेर रमाइलो गर्ने गरेका छन् ।

सोरु गाउँपालिकास्थित सोरुकोट गाउँकी पूर्वादेवी कार्कीले बिहानैदेखि साँझ अबेरसम्म तातोपानीमा नुहाउनेको घुइँचो लाग्ने गरेको बताइन् । उनका अनुसार टाढाका स्थानीय एक सातासम्म पुग्नेगरी सातुचामल बोकेर तातोपानीमा नुहाउन जाने गरेका हुन् । तातोपानी व्यवस्थित नहुँदा नुहाउन समस्या भएको उनको गुनासो छ । गत वर्ष २५ लाख रुपैयाँ बजेटबाट भुसेकुना तातोपानी कुण्डलाई व्यवस्थित बनाइएको १३ नम्बर वडाध्यक्ष चक्र सावतले बताए ।

प्रकाशित : पुस ९, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?