बजार नपाउँदा घरमै थन्कियो टिमुर

विप्लव महर्जन

सल्यान — गत वर्ष टिमुर बिक्रीबाट ५ लाख रुपैयाँ कमाएका बन्गाडकुपिण्डे नगरपालिका–९ सेराका पूर्ण बुढाथोकीले यो वर्ष एक रुपैयाँको पनि टिमुर बिक्री गर्न सकेका छैनन् ।

बजार नपाउँदा घरमै थन्कियो टिमुर

अघिल्लो वर्ष ४ लाख ५० हजार रुपैयाँ कमाएका उनका छिमेकी रामबहादुर बुढाथोकीको हालत पनि त्यही छ ।

टिमुरले राम्रो भाउ पाउन थालेपछि गत वर्ष नै ५ सय बोट थपेका बुढाथोकीले टिमुर थन्किएपछि जीविकोपार्जन गर्न समस्या भएको बताए । ‘कोरोना महामारीले व्यापारी नै आएनन्,’ उनले भने, ‘कोरोना कहरको फाइदा उठाउदै बिचौलियाले जतिसक्यो मूल्य घटाइ टिमुर खरिद गर्न खोजेका छन्, घाटा खाएर कसरी बिक्री गर्नु ?’ उनका अनुसार गत वर्ष ७ सय रुपैयाँ प्रतिकिलो बिक्री भएको थियो । यो वर्ष ३ सय ५० रुपैयाँभन्दा बढी भाउ जान नसकेको उनले गुनासो गरे ।

टिमुरले भाउ नपाएपछि जिल्लाभरिका किसान मर्कामा छन् । ३ वर्षअघि सल्यानको टिमुर फ्रान्स गएपछि किसानले व्यवसायिक रुपमै यसको खेती थालेका हुन् । भारतले जडिबुटीको निकासी सिफारिस नदिँदा पनि व्यापारी खरिद गर्न नआएको बन्गाडकुपिण्डे–९ का किसान मैतु बुढाथोकीले बताए ।

‘कोरोना कहरसँगै बिचौलियाको मनोमानीले यो वर्ष टिमुरले बजार पाउन सकेन,’ उनले भने, ‘वर्षेनि भाउ घट्दै गएपछि जीविका चलाउनै मुस्किल भएको छ ।’ उनका अनुसार अघिल्लो वर्ष एक लाख रुपैयाँ प्रतिक्विन्टल बिक्री भएको टिमुर गत वर्ष ७० हजार रुपैयाँमा बिकेको थियो । यो वर्ष मूल्य झण्डै आधा घटेको उनको भनाइ छ । उनले ५ वर्षदेखि खाद्यबाली लगाउन छोडी झन्डै २० रोपनी जग्गामा टिमुरखेती गरिरहेका छन् । बारीका झण्डै ४ सय बोटले उत्पादन दिइरहेको उनले जानकारी दिए ।

४ क्विन्टल टिमुर उत्पादन गरेका निगालचुलाका ढकबहादुर ओलीले धेरै ठाउँमा सम्पर्क गरे पनि व्यापारी नआउँदा टिमुर कुहिने र किराले नष्ट गर्ने चिन्ता बढेको बताए । ‘टिमुरबाटै ६ जनाको परिवार सजिलै पाल्दै आएको छु,’ उनले भने, ‘यो वर्ष टिमुर बिक्री नै भएन, कसरी परिवार पाल्ने ?’

प्रकाशित : पुस २, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?