जुम्ला विमानस्थल विस्तार गरिँदै

एलपी देवकोटा

जुम्ला — सदरमुकामस्थित जुम्ला विमानस्थल विस्तारको लागि प्रक्रिया अघि बढेको छ । प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठूलो सहर जुम्लाको विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्र बनाएको हो । 

जुम्ला विमानस्थल विस्तार गरिँदै

चालु आर्थिक वर्षदेखि वहुवर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तारको काम सुरु हुने प्राधिकरणले जनाएको छ । जुम्ला विमानस्थल कर्णालीका हिमाली जिल्लामा सबैभन्दा सहज विमानस्थल मानिएको छ । सबैभन्दा बढी चाप पनि भएको भन्दै विमानस्थल विस्तारका लागि संघीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण, जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको उनले जानकारी दिए । सर्भेको क्रममा डोनबाट पनि सर्भे गरिएको उनको भनाइ छ ।

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले लामो समयदेखि विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् । ‘लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको छ,’ उनले भनिन्, ‘अब जुम्लाबासीको हवाइयात्रा सहज र गुणस्तरीय हुनेछ ।’

जुम्ला विमानस्थलमा अहिले १६ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकोमा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज चल्ने आशा गरिएको स्थानीय कमल देवकोटाले बताए ।

प्रकाशित : मंसिर ३०, २०७७ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?