१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

पुलु डिपो ८ महिनादेखि रित्तै 

राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङका जनताका लागि स्थापना गरिएको मुगुको पुलु डिपो ८ महिनादेखि रित्तै छ । मुगुमकार्मारोङ गाउँपालिकाको पुलु खाद्य डिपोमा भने गत वैशाखदेखि खाद्यान्न ढुवानी भएको छैन । खाद्यान्न नपुग्दा स्थानीयवासी महँगोमा बजारको चामल किनेर खाँदैछन् ।

गाउँपालिकाका करिब १ हजार ३ सय परिवारका लागि आवश्यक खाद्यान्न उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुलुमा डिपो स्थापना गरेको थियो । ढुवानीको जिम्मा लिएको शर्मा ढुवानी सेवाले डिपोमा चामल नपुर्‍याउँदा माथिल्लो बस्तीका मुगु, डोल्फू, कार्तिक, किम्री र तल्लोबस्तीका ताख, खारी, मह, रिउस गाउँका बासिन्दा महँगोमा चामल किन्न बाध्य छन् । शर्मा ढुवानी सेवामाथि मुगुको कालै पुर्‍याउनुपर्ने चामल भक्तपुर पठाएको आरोपमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कालोबजारी ऐनअन्तर्गत मुद्दा चलिरहेको छ ।

हिमपातको बेला व्यापारीको चामल पनि पाउन मुस्किल हुँदा कसरी भोक टार्ने भन्ने चिन्ताले स्थानीयलाई सताएको छ । चितैगाउँका उर्गिन लामाले पैसा बोकेर चामल किन्न बजार जाँदासमेत रित्तै फर्किनुपरेको बताए । उनका अनुसार बजारमा चामल पाइहालेमा पनि प्रतिकेजी ८० देखि ८५ रुपैयाँसम्म पर्ने गर्छ । त्यही चामल डिपोमा ५० रुपैयाँसम्म पर्छ । ‘बरु पैसा कमाउन सजिलो, एक किलो चामल पाउन साह्रै गाह्रो,’ उनले भने ।

चालु आर्थिक वर्षमा पुलु डिपोका लागि १ हजार ७ सय ५० क्विन्टल चामलको कोटा स्वीकृत भए पनि ठेकेदारले ढुवानी गरेका छैनन् । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले खाद्य कम्पनीसँग बारम्बार अनुरोध गर्दासमेत चामल नआएको बताए ।

प्रकाशित : मंसिर २८, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?