१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सल्ली–चौरजहारी सडकमा सधैं सास्ती

विप्लव महर्जन

सल्यान — बन्गाड–कुपिन्डे नगरपालिकाको सल्लीबजारदेखि पश्चिम रुकुमको चौरजहारी जोड्ने सडक खनिएको १८ वर्ष भयो । नेपाली सेनाद्वारा खनिएको सडक स्तरोन्नतिका लागि भन्दै सरकारले थप २० करोडभन्दा बढी खर्च गरिसकेको छ । अहिले पनि १२ करोडबराबरको काम भइरहेको छ । तर सडकको अवस्था झन्–झन् दयनीय बन्दै गइरहेको छ ।

४१ किलोमिटर सडकमा बजेट छुट्याइए पनि त्यसअनुसार काम नहुँदा हिउँदमा धुलो र बर्खामा हिलो झेल्नुपर्ने समस्या कायमै रहेको स्थानीयको भनाइ छ । सडक स्तरवृद्धिको बहानामा रकम दुरुपयोग भइरहेको बन्गाड–कुपिन्डे–५ नाथेखोलाका रिमबहादुर बुढाले बताए । ठेकेदारले जथाभाबी डोजर लगाएको सडक मालवाहक गाडी गुड्दा थप कमजोर बनेको उनको आरोप छ ।

सडक कालोपत्र गर्न जिल्लामा आउने केन्द्रीय स्तरका नेतासँग माग राख्दै आए पनि उनीहरूले सधै प्रतिबद्धता मात्र जनाउने गरेको अर्का स्थानीय भीमबहादुर नकालले बताए । रुकुम पश्चिमबाट र सल्यानको उत्तर पश्चिमबाट प्रदेश राजधानी सुर्खेत पुग्न यो बाटो छोटो पर्छ ।

सडक डिभिजन कार्यालयले केही वर्षदेखि पाँच किलोमिटर सडक कालोपत्र गर्न ८ करोडभन्दा बढी रकम विनियोजन गरेको छ । तर ठेकेदार ग्याल्वा छिग्मा जेभीको ढिलासुस्तीले तोकेको अवधिमा सम्पन्न नहुँदा पिचको काम अलपत्र परेको दलबहादुर परियारले बताए । दुई वर्षअघि दुई किलोमिटर सडक पिच गरिए पनि अहिले उप्किन थालिसकेको उनले जानकारी दिए ।

सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले सरकारले आवश्यकताअनुसार बजेट विनियोजन नगरेकाले सडकको दुरवस्था भएको बताए । सरकारले ठूला सडक निर्माणका लागि बहुवर्षीय योजना बनाएर बजेट विनियोजन गरी काम गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले सडक निर्माण मात्र नभई मर्मतका लागि समेत बजेट विनियोजन गर्नुपर्ने भए पनि खासै गरेको छैन,’ उनले भने ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले सल्ली–चौरजहारी सडकका लागि बहुवर्षीय योजना बनाएर यसपालि ४० करोड विनियोजन गरेको जनाएका छन् । छिटै सल्ली–चौरजहारी सडक कालोपत्रे गर्ने उनको भनाइ छ । उक्त सडक नेपाली सेनाले झन्डै २० करोड बजेटबाट २०५९ मा खनेको थियो ।

सडक कालोपत्र नहुँदा सल्लीबजार, आमखोली, सुनौली, नाथेखोला, च्युरा, गर्चे, नेटा, स्यानिपिप्ली, घाटचौर बजारका बस्ती धुलाम्मे बनेका छन् । कतिपय घर सडककै कारण जोखिममा परेका छन् । गाडीले उडाएको धुलोले स्थानीयमा रुघाखोकी, दमजस्ता समस्या दोहोरिइरहने गरेको धनबहादुर रोकाले बताए । ‘धुलोले छोपिएकाले कसैका घर सफा देखिँदैनन्,’ उनले भने । गर्चे बजारका नरबहादुर रोकाले धुलोले पसलमा बिक्री गर्न राखिएका सामानसमेत सबै पुरानाजस्ता देखिने गरेका बताए ।


सल्ली–चौरजहारी सडकमा गाडीले उडाएको धुलो । तस्बिर : विप्लव महर्जन

प्रकाशित : मंसिर २६, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?