एक महिनामा सहिद स्मृति नगर अस्पतालले गर्‍यो ८ सय बिरामीको उपचार

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–१० मा स्थापना भएको सहिद स्मृति नगर अस्पतालले एक महिनामा झण्डै साढे ८ सय बिरामीको उपचार गरेको छ । अस्पतालमा अहिले दैनिक ३० देखि ५० जना बिरामी उपचारका लागि आइरहेका छन् ।

एक महिनामा सहिद स्मृति नगर अस्पतालले गर्‍यो ८ सय बिरामीको उपचार

चौरजहारी नगरपालिकाले अस्पताल सुरु गरेपछि बिरामीको चाप बढ्दै गएको हो । कात्तिक १५ देखि मंसिर १४ गतेसम्म ४ सय ८२ महिला र ३ सय ५४ पुरुष बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । अहिलेसम्म नगरपालिकाको ५, ६,७, १०, ११, १२, १३ र १४ नम्बर वडासहित सल्यानको दार्मा र कुमाख गाउँपालिकाका स्थानीयले पनि सेवा लिएको अस्पतालका डा.विवेक केसीले बताए । उनका अनुसार २ जना महिलालाई शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगरपालिकाको माथिल्लो भेगका वडालाई लक्षित गरी ५ शय्या अस्पताल निर्माण गरिएको थियो ।

अस्पतालले २४ सै घण्टा आकस्मिक, भिडियो एक्सरे, फार्मेसी, इसीजी, प्रसूतिलगायत सेवा प्रवाह गरिरहेको छ । स्थानीय टेकबहादुर बुढाथोकीले अस्पताल निर्माण भएपछि उपचारमा सजिलो भएको बताए । ‘स–साना घाउचोटको अप्रेशनदेखि विभिन्न रोगको उपचार गाउँमै पाएका छौं,’ उनले भने, ‘खर्च पनि बचेको छ, गुणस्तरीय उपचार पनि पाइरहेका छौं ।’ दार्मा गाउँपालिकाकी मनकुमारी ओलीले नजिकै अस्पताल स्थापना भएपछि आफूहरुलाई समेत सजिलो भएको बताइन् ।

छाला, पेट र हाडजोर्नीसम्बन्धी रोगका बिरामी धेरै आइरहेको डा.केसीले बताए । ‘चाहिए भन्दा बढी शारीरिक कसरत गर्दा, खानपिनमा सन्तुलन नमिल्दा र तनावका कारण यी रोगका बिरामी गाउँमा बढी पाइयो,’ उनले भने, ‘ज्येष्ठ नागरिक, सहिद परिवार तथा अति विपन्न बिरामीको नि:शुल्क उपचार भइरहेको छ ।’

जति सक्यो धेरैलाई सेवा प्रवाह गर्न स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमामार्फत उपचार गर्ने योजना बनाएको नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार अस्पताल सञ्चालनका लागि नगरपालिकाले महिनाको ६ लाख रुपैयाँ खर्च गरिरहेको छ । संविधानले परिकल्पना गरेअनुसार नगर अस्पताल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । अस्पताल एक महिनअघि देखि सञ्‍चालनमा आएको हो ।

प्रकाशित : मंसिर १८, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?