दुई दिनदेखि खलंगा अन्धकारमा 

एलपी देवकोटा

जुम्ला — साना जलविद्युत् आयोजनाको घुघुतीस्थित पावर हाउसका मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजार दुई दिनदेखि अन्धकारमय बनेको छ । वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पुर्‍याइएको डिजेल प्लान्ट पनि थन्किएपछि स्थानीयबासी अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३ सय केभीएको डिजेल प्लान्ट जुम्ला पठाएको थियो । इन्धन अभावमा प्लान्ट सञ्चालन नभएपछि खलंगा अन्धकारमय बनेको हो ।

२०४० सालमा घुघुतीमा उत्पादित विद्युत्‌को पावर हाउसको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै बिग्रिएपछि फेरि खलंगा अँध्यारो बनेको हो ।

दुईवटै टर्बाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए । ‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,’ उनले भने, ‘अर्कोमा बेरिङ भाँचिएको छ ।’ मेसिनको वारेन्टी समय सकिएपछि समस्या मर्मतमा भएको उनले बताए । उनका अनुसार अब मर्मत निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ ।

वितरण केन्द्रका अनुसार दसैंअघि भारतीय ठेकेदार कम्पनीले एउटा मेसिनको जडान गर्दैगर्दा अर्को मेसिन बिग्रिएको थियो । ठेकेदार कम्पनीका प्राविधिक आएपछि मात्र मेसिन मर्मतको काम सुरु हुने केन्द्रले जनाएको छ ।

डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकोले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए । ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजल प्लान्ट सञ्चालन गर्न माग गरेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म केन्द्रबाट कुनै प्रतिक्रिया आएको छैन ।’

विद्युत् प्राधिकरणको लापरबाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा राजबहादुर महतले बताए । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दु:ख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिंनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता ।’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?