कालीमाटी गाउँपालिकामा झुसिलकिराको प्रकोप

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाका सामुदायिक तथा राष्ट्रिय वनहरुमा झुसिलकिराको प्रकोप देखिएको छ । झुसिलकिराले गाउँपालिकाका विभिन्न वडाको झण्डै २ सय ५० किलोमिटर वनक्षेत्रमा क्षति पुर्‍याएको छ ।

कालीमाटी गाउँपालिकामा झुसिलकिराको प्रकोप

गाउँपालिकाका अनुसार कालीमाटीमा ४ सय ५ वर्ग किलोमिटर वन क्षेत्र फैलिएको छ । साल, अस्ना, चिउरीलगायत रुखहरु झुसिलकिराले नष्ट पारेको उपभोक्ताले जनाएका छन् । झुसिलकिराले रुखका पात तथा कलिला मुन्टा खाएर वन सखाप पारेको स्थानीय कमल केसीले बताए । उनका अनुसार झुसिलकिराको प्रकोपले वन क्षेत्र नांगो देखिन थालेको छ । ‘विभिन्न डालेघाँसका रुखहरु नांगिएका छन्,’ उनले भने, ‘किराले पात खाएपछि साना रुख त यसअघि नै सुकिसके ।’

झुसिलकिराले ठूला रुखमा पनि असर पुर्‍याइरहेको कालीमाटी गाउँपालिका–२ झिगानेस्थित पाथीभरा सामुदायिक वनका उपाध्यक्ष दलबहादर ओलीले बताए । ‘झुसिलकिराका कारण घाँस–दाउरा काट्न वनमा आउन पनि मुस्किल भएको छ,’ उनले भने, ‘किराले पातमै अन्डा पारेर माकुराको जस्तै जालो बनाउने गरेको छ ।’ उनले एउटै पातमा पनि किराका धेरै झुण्ड देखिएको बताए । अन्य सामुदायिक र राष्ट्रिय वनमा पनि किराको प्रकोप बढिरहेको उनको भनाइ छ ।

झुसिलकिरा शरिरमा खस्ने डरले वनमा जान समस्या भएको उपभोक्ताको गुनासो छ । अहिले वन क्षेत्रका घाँस गाईभैंसीलाई दिन छोडिएको बालुवाका कृष्ण खड्काले बताए । ‘वनमा लगेर गाईबस्तु चराउन छाडेको दुई महिना भइसक्यो,’ उनले भने, ‘किराका कारण मौरीपालनमा पनि समस्या भएको छ ।’ उनका अनुसार झुसिलकिराले पर्यावरणमा पनि असर पुर्‍याउन पारेको छ । निकट भविष्यमा बालीनालीमा पनि किराको प्रकोप बढ्न सक्ने उनको गुनासो छ ।

झुसिलकिरा नियन्त्रणमा सफल नहुँदा वन क्षेत्र मासिँदै गएको डिभिजन वन प्रमुख रमेश गिरीले बताए । उनका अनुसार किराको प्रकोप रोक्न कर्णाली प्रदेशको वन निर्देशनालय र वन अनुसन्धान विभागले अनुसन्धानको तयारी गरेका छन् । झुसिलकिराले धमाधम सामुदायिक वनमा क्षति पुर्‍याइरहेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।

प्रकाशित : मंसिर १६, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?