२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

क्षमताभन्दा बढी गाडी पार्किङ गर्नुपर्ने भएपछि वीरेन्द्रनगर बसपार्कमा समस्या

चाँदनी कठायत

वीरेन्द्रनगर — सोमबारदेखि वीरेन्द्रनगर नगरपालिकामा सिटी बसपार्क सञ्चालनमा आएको छ । तर यातायात व्यवसायीले सजिलै गाडी सञ्चालन गर्न सकेका छैनन् । क्षमताभन्दा बढी गाडी पार्किङ गर्नुपर्ने भएपछि बसपार्कमा सुरुमै समस्या देखिएको हो ।

क्षमताभन्दा बढी गाडी पार्किङ गर्नुपर्ने भएपछि वीरेन्द्रनगर बसपार्कमा समस्या

बसपार्क साना र ठूला गरी १ सय १० गाडी अट्ने क्षमताको छ । बसपार्कमा १२ यातायात प्रालिका करिब साढे २ सय बढी गाडी पार्किङ गर्नुपर्ने बाध्यता भएको मध्यपश्चिम यातायात व्यवसायी प्रालिका सचिव नारायणकुमार चपाईले बताए ।

उनका अनुसार मध्यपश्चिमका मात्रै साना र ठूला गरी ३ सय ८७ सवारी छन् । जसमध्ये ७४ गाडी मात्रै दिनभर बसपार्कबाट क्युमा छुट्ने उनको भनाइ छ । ‘करिब अढाइ सय बढी गाडी पार्किङ गर्न अहिलेको बसपार्कमा मिल्दैन,’ उनले भने, ‘त्यसैले हाम्रो धेरै गाडी प्रालिको अन्य शाखाबाट छुटाउन थालेका छौं ।’

वीरेन्द्रनगरमा सञ्चालित १२ वटा यातायात प्रालिका करिब एक हजार बढी साना ठूला गाडी सञ्चालित छन् । बसपार्कबाट दैनिक डेढ सयदेखि साढे दुई सय गाडी छुट्छन् । ४ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको बसपार्कमा ९० ठूला बस र २० वटा मिनीबस अट्न सक्छन् । सुर्खेतमा मात्रै ३ सय २० सार्वजनिक सवारी दर्ता भएको यातायात व्यवस्था कार्यालय, कर्णाली प्रदेशले जनाएको छ ।

वीरेन्द्रनगरमा रहेका यातायात प्रालिबाट सञ्चालन हुने गाडीको संख्या हेर्दा बसपार्कको क्षमता निकै न्यून रहेको देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले बताए । ‘हाम्रा मात्रै ९६ वटा गाडी छन्,’ उनले भने, ‘हाम्रै समितिबाट दैनिक ५५ वटा गाडी पार्किङ गर्नुपर्छ, तर बसपार्कको क्षमता कम छ ।’ उनले पुरानो बसपार्कलाई समेत समेटेर बनाएपछि मात्रै अहिले सञ्चालन भइरहेका सवारी पार्किङमा सहज हुने बताए ।

सुर्खेत कांक्रेविहार यातायातसँग पनि १ सय ३६ वटा गाडी छन् । अहिले दैनिक ४५ वटा गाडी मात्र पार्किङ भइरहेको प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । ‘भर्खरै बसपार्क सञ्चालनमा आएकाले केही वर्षसम्म यस्तै धान्न सकिन्छ,’ उनले भने, ‘विकल्पका रुपमा अर्को बसपार्क बनेपछि मात्रै सहज हुन्छ ।’

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले वैकल्पिक बसपार्कको खोजी पनि गरिरहेको छ । सवारी आवागमन व्यवस्थित पार्न र दुर्घटना न्यूनीकरणका लागि उपत्यकाको बाहिरी क्षेत्रमा वैकल्पिक बसपार्क बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार वीरेन्द्रनगर–१, बांगेसिमल र ११ नम्बर वडाको सुब्बाकुना क्षेत्रलाई स्थायी बसपार्क बनाउने गरी अध्ययन भइरहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि वीरेन्द्रनगर–१ मा अटो भिलेज र वैकल्पिक बसपार्क बनाउने योजना समेटिएको उनले जानकारी दिए ।

टिकट काट्नै मुस्किल, यात्रु अलमलमा

बसपार्कमा सवारी पार्किङमा मात्र समस्या नभइ टिकट काट्न पनि मुस्किल छ । थोरै ठाउँ भएकाले थोरै कर्मचारी राखेर काम चलाउनु परेको यातायात व्यवसायीले जनाएका छन् । ‘पहिला टिकट काउन्टरमा दैनिक २५/३० जना कर्मचारीलाई खटाउँथ्यौं,’ मध्यपश्चिम यातायात प्रालिका सचिव चपाईंले भने, ‘अहिले ठाउँ एकदमै सानो भएकाले ४ जना मात्रै राखेर काम गर्नुपरेको छ ।’ उनका अनुसार केही कर्मचारीले बाहिर चौरमा नै बसेर टिकट काट्ने गरेका छन् ।

नयाँ बसपार्क भएकाले यात्रु पनि अलमलमा परेको देउती नागरिक यातायात प्रालिका अध्यक्ष खड्काले बताए । ‘बसको काउन्टर कहाँ छ भन्ने यात्रुलाई नै थाहा छैन,’ उनले भने, ‘सुरुदेखि नै तयारी गरेको भए हुन्थ्यो, एक्कासी यता सरेपछि यात्रु पनि अलमलमा छन् ।’ उनले यात्रुले भनेको समयमा टिकटसमेत नपाएको जनाए ।

प्रकाशित : मंसिर १६, २०७७ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?