३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जन्ती–मलामी एकैपटक

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–८ दाँजेका ५६ वर्षीय गोरे नेपाली बिहीबार स्थानीय प्रेम नेपालीको जन्ती गए ।

जन्ती–मलामी एकैपटक

भाइबन्धुलाई लिएर प्रेम ससुरालीलाई चार (सगुन) खुवाउन गएका थिए । जन्तीमा दाँजेकै ७० वर्षीय सार्के नेपाली, ६४ वर्षीय लालबहादुर नेपाली, ४३ वर्षीय आइते चदारा र ७ नम्बर वडाका ५५ वर्षीय कलिभान नेपाली पनि थिए ।

उनीहरु १० नम्बर वडास्थित घारीखोलाका प्रेम र उनकी पत्नी कुश्माको जन्ती गएका थिए । नाचगान र खानपिन गरी जन्ती फर्केका उनीहरुको अरु जन्तीले मलामी जानुपर्‍यो । १२ गते बेलुकी जन्तीबाट फर्कदै गरेका उनीहरु घर पुगिसकेको अवस्थामा दुर्घटनामा परेका हुन् ।

भाइ बन्धुमध्येका ४ र १ छिमेकी गरी ५ जनाको दुर्घटनामा परी मृत्यु भएको हो । जन्ती बोकेको रा–१ ज ५८९ नम्बरको जिप दुर्घटना हुँदा गोरे, सार्के, आइते, कलिभान र लालबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ४ जनाको घटनास्थलमै र लालबहादुरको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा ज्यान गएको थियो । ७ नम्बर वडाको पोखरामा मान्छे ओराल्ने क्रममा जिप पछि सर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दाँजेमा यति ठूलो घटना भएको पहिलो पटक हो । बेहुला–बेहुली ल्याएर आएका जन्तीको खानपिन गर्ने र नाचगानको तयारीमा रहेका अरु गाउँले मलामी बन्नुपर्ने बाध्यता भयो । एकैपटक ५ जनाको शव गाउँबाट निस्कदा दाँजे शोकमग्‍न छ । मृतकहरुको एकै पटक खारखोलास्थित ठूलीभेरी नदीमा आइतबार दाहसँस्कार गरियो । ‘गाउँले ठूलो क्षति व्यहोर्नुपर्‍यो,’ ८ नम्बर वडाध्यक्ष मानबहादुर चदाराले भने, ‘सबै गाउँलेको मुखबाट बोली फुटिरहेको छैन ।’ उनका अनुसार गाउँमा यति ठूलो मानवीय क्षति भएको यो पहिलोपल्ट हो ।

८ नम्बर वडामा दलितको बाहुल्यता छ । गोरे नेपाली गाउँका अगुवा पनि थिए । उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उतिबेलैदेखि गाउँ र गाउँलेको काममा नियमित रहने गोरे नेकपाका आठबीसकोट नगर कमिटी सदस्य पनि हुन् । गाउँमा झण्डै ३ सय दलित समुदायको बसोबास रहेको स्थानीय नरबहादुर चदाराले बताए । उनका अनुसार घटनाले दलित समुदायमा ठूलो बज्रपात परेको छ ।

पोखरामा पुगेको उक्त जिपबाट मान्छे ओर्लने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार अव्यवस्थित सडक र चालकको लापरबाहीले दुर्घटना भएको हो । पछिल्लो समय खासै दुर्घटना नभएको अवस्थामा बिहीबार ठूलो मानवीय क्षति भएको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १४, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?